site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वर्षको अन्त्यमा प्राप्त सफलतादेखि ‘स्पट’ फिक्सिङ र सन्दीपमाथि बलात्कार आरोप
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली क्रिकेटका लागि वर्ष २०७९ मिश्रित रह्यो । यस वर्ष नेपाली राष्ट्रिय पुरुष टिमले अप्रत्यासित सफलता हासिल गर्दै आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा रहेर ग्लोबल क्वालिफायरमा स्थान बनायो । 

त्यस्तै, पुरुष युवा टिमले आठवर्षपछि आईसीसी यू–१९ विश्वकपमा स्थान बनायो । नेपालले हासिल गरेका यी सफलताले मैदानबाहिरका केही ‘कु’ चर्चालाई ओझेलमा पारिदियो । जसका कारण क्रिकेट नेतृत्वले केही चैनको सास फेर्न पाए । 

निर्वाचित भएको चार वर्षे कार्यकाल पूरा हुँदा पनि घरेलु क्रिकेट संचरनामा ‘ढलेको सिन्को उठाउन नसकेको’ क्यान आफैले आयोजना गरेको नेपाल टी–२० लिग पनि स्पट फिक्सिङ काण्डमा मुछियो । 

Prabhu Bank
Agni Group
NIC Asia

पटक–पटकको चेतावनीको बाबजुद क्यान नेतृत्वले भारतीय कम्पनी सेभेन थ्री स्पोट्सलाई नेपाल टी–२० लिगको रणनीतिक तथा व्यवसायिक साझेदार बनायो । क्यानको रणनीतिक तथा व्यवसायिक आफै प्रतियोगितामा स्पट फिक्सिङ गराउन तल्लिन रह्यो ।

भारतीय कम्पनी प्रतियोगिताको बिचमै भाग्यो भने विजेता टिम र केही फ्रेन्चाइज टिमका खेलाडीले अझै पनि सम्झौताअनुरुपको रकम हासिल गर्न सकेको छैन । 

Global Ime bank

त्यस्तै, राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछाने नाबालिग बलात्कारको आरोपमा जेल परे । तथापि, उनलाई उच्च तथा सर्वोच्च अदालतले राष्ट्रिय टिमबाट खेल्नका लागि छुट दियो । तर, मुद्दा भने अझै किनारा लागिसकेको छैन । 

त्यतिमात्र होइन, क्यान र खेलाडीबीचको विवादले पनि यसवर्ष निकै चर्चा पायो । टिमभित्रको गुटबन्दी पनि सतहमा पोखियो । प्रशिक्षक पुबुदु दासानायकेले सार्वजनिक रुपमै यस विषयमा अभिव्यक्ति दिए । वर्षभर भएका तमाम विवादका बाबजुद अन्त्यमा टिमले हासिल गरेको सफलताले ती सबै कुरालाई बिसाईदियो । 

Nepali Team1681456375.jpg

साथै, यही वर्ष नेपाली महिला क्रिकेट टिमले पहिलोपटक कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय शृंखला खेल्यो । त्यस्तै, क्यान पनि यसैवर्ष विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीको पूर्णरुपमा प्रतिबन्धमुक्त भयो । 

भारतीय प्रशिक्षक मोन्टी देसाईको नियुक्ति नेपाली क्रिकेटका लागि सबैभन्दा महत्वपूर्ण बन्यो । देसाईको आगमन नेपाली क्रिकेटका लागि संजिवनी बुटी जस्तै बन्यो । उनको प्रशिक्षणमा खेलेका १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये ११ खेलमा विजय हासिल गर्‍यो । जसले क्यानको सम्पूर्ण नालायकीपनलाई ढाकछोप गर्न मद्धत पुग्यो ।

नेपाली क्रिकेटलाई वर्ष २०७९ मा फर्केर हेर्दा 
वैशाख
वैशाखमा नेपाली पुरुष टिमले घरेलु मैदानमा जिम्बाब्वे ‘ए’विरुद्ध समान तीन एकदिवसीय र ट्वान्टी–२० शृंखला खेल्यो । ट्वान्टी–२० शृंखला १–१ को बराबरीमा समाप्त हुँदा एकदिवसीय शृंखला भने नेपालले २–१ ले जितेको थियो ।

सोही महिना नेपाली महिला क्रिकेट टिमले पहिलो पटक त्रिवि क्रिकेट मैदानमा ट्वान्टी–२० शृंखला खेल्ने अवसर पायो । नेपालले वैशाख ३ गतेदेखि ८ गतेसम्म अफ्रिकी मुलुक युगान्डालाई पाँच खेलको शृंखलाका लागि आतिथ्यता प्रदान गरेको थियो । यद्यपि, शृंखलामा भने नेपाल ३–२ ले पराजित भयो ।

जेठ
जेठमा नेपालले लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलाका लागि अमेरिकाको भ्रमण गर्‍यो । अमेरिका, नेपाल र ओमान सहभागी उक्त शृंखलामा नेपालले चार खेलमध्ये एकमा जित निकाल्दा दुई खेलमा हार व्यहोरेको थियो । 

नेपालको एक खेल भने ‘टाइ’ भएको थियो । शृंखलामा नेपालका करण केसी सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । जेठमै मलेसियामा भएको आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटको छनोटमा तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो । प्रतियोगिताबाट युनाइटेड अरब इमिरेट्स (यूएई) ले शीर्ष स्थानमा रहेर विश्वकप यात्रा तय गरेको थियो । 

Nepali cricket1679064267.jpg

जेठमै आईसीसीले क्यानमाथिको आर्थिक नियन्त्रण फुकुवा गरेको थियो । त्यसअघिसम्म क्यानले गरेको कार्यक्रमको विवरण पठाएपछिमात्र आईसीसीले रकम निकाशा गर्दै आएको थियो । आईसीसीले आर्थिक नियन्त्रण हटाएसँगै नेपाल निलम्बनबाट ६ वर्षपछि पूर्णरुपमा फुकुवा भएको थियो ।

असार
असारमा नेपाली महिला टिमले एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिप खेल्यो । महिला ट्वान्टी–२० विश्वकपको छनोट प्रतियोगितासमेत रहेको यस च्याम्पियनसिपको फाइनलमा खेल वर्षाले विथोलेपछि नेपाली टिमको विश्वकप खेल्ने सपना सकिएको थियो ।

वर्षाका कारण फाइनल खेल हुन नसकेपछि समूह चरणको नतिजाका आधारमा यूएई च्याम्पियनसिपको विजेता बन्दै विश्वकप छनोट भएको थियो ।

असारमै नेपालले लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलाका लागि स्कटल्यान्ड भ्रमण गर्‍यो । शृंखलामा नेपाल, स्कटल्यान्ड र नामिबिया सहभागी थिए । शृंखलाका चार खेलमा नेपालले एक खेलमा मात्र जित निकाल्यो । 

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्कटल्यान्डलाई हराएको यही शृंखलामा हो । शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पाँच विकेटको जित निकालेको थियो । 

साउन
लिग–२ मा लगातारको खराब प्रदर्शनपछि नेपालको तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले साउन ४ गते नेपाली टिमको जिम्मेवारी छाडे । दासानायकेले प्रशिक्षकमा नियुक्त भएको आठ महिना नपुग्दै नेपाली टिमको जिम्मेवारी छोडेका थिए । 

दासानायकेले छोडेपछि रिक्त बनेको नेपाली टिमको मुख्य प्रशिक्षणमा क्यानले साउन २३ गते भारतका मनोज प्रभाकरलाई ल्यायो ।

भदौ 
नेपाली टिमको प्रशिक्षकमा नियुक्त भएपछि मनोज प्रभाकरको प्रशिक्षणमा नेपालले केन्यामा एकदिवसीय र ट्वान्टी–२० शृंखला खेल्यो ।

पाँच खेलको ट्वान्टी–२० शृंखला ३–२ ले आफ्नो पक्षमा पार्दा नेपालले केन्याविरुद्धको तीन खेलको एकदिवसीय लिष्ट ‘ए’ शृंखलामा भने ‘क्निल स्विप’ नै गरेको थियो । ट्वान्टी–२० शृंखलामा नेपालका स्पिनर सन्दीप लामिछाने ‘प्लेयर अफ दी सिरिज’ चुनिए । 

तर, यही महिनामा नेपाली क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध एक किशोरीले बलात्कारको आरोपमा उजुरी दिइन् । भदौ ५ गते सन्दीपले पटक–पटक बलात्कार गरेको किशोरीले भदौ २० गते दिएको जाहेरीमा उल्लेख छ । त्यसपछि भदौ ६ गते केन्या भ्रमणमा गएका थिए । सन्दीपको यो मुद्दा अझै पनि अदालतमा विचाराधीन छ ।

sandeep1680653253.jpg

भदौमा नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको क्रिकेट प्रतियोगिता सुरु भयो । तीन विभागीय टिम, सात प्रदेश र एक एनआरएन गरेर ११ टिमको सहभागिता रहेको प्रतियोगितामा सहभागीलाई दुई समूहमा विभाजन गरिएको थियो । 

तर, वर्षाका कारण ‘वासआउट’ जस्तै बनेको प्रतियोगिताको स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको थियो । फाइनलमा पुलिससँग हारेपछि त्रिभुवन आर्मी क्लबले रजतमा चित्त बुझाउदा सुदूरपश्चिम प्रदेशले कांस्य पदक जितेको थियो । त्यसपछि २०७९ को असोज र कार्तिक महिनामा नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय गतिविधि शून्यप्रायः रह्यो ।

मंसिर
मंसिरमा नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिए । प्रभाकरले नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको चार महिनापछि नै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए । 

पुस
पुस नेपाली क्रिकेटका लागि वर्ष २०७९ को सबैभन्दा महत्वपूर्ण वर्ष बन्यो । नेपाल टी–२० लिगको सुरु, मिलेमतो प्रकरण र सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने आदेश यो महिनाका महत्वपूर्ण घटना थिए । 

पुस ९ गतेदेखि सुरु भएको नेपाल टी–२० स्पट फिक्सिङको चर्को भुमरीमा पस्यो । लिगमा स्पट फिक्सिङको आरोप लगाउँदै प्रतियोगिताको कमेन्ट्री प्यानलका सचिन तिमल्सिनाले एक भिडियो सार्वजनिक भएपछि यसले चर्चा पाएको थियो । 

यसैकारण नेपाल सरकार गृह मन्त्रालयले तत्काल छानबिन गर्न  निर्देशन दिएको थियो । विवाद र प्रहरीको छानबिनकै क्रममा सम्पन्न भएको प्रतियोगिताको उपाधि लुम्बिनी अल स्टार्सले जित्यो । 

उजुरीपछि पक्राउ परेका सन्दीप लामिछानेलाई पुसमा उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दियो । उच्चले सन्दीपलाई २० लाख धरौटीसहित थुनामुक्त गर्न आदेश दियो । 

माघ

माघमा नेपाल टी–२० मा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वनेपाली क्रिकेटर महबुब आलम र युवा अलराउन्डर आदिल अन्सारीलाई पक्राउ गर्‍यो । र, सीआईबीले नेपाल टी–२० मा स्पट फिक्सिङ भएको निश्कर्ष निकाल्यो । 

सीआईबीले लिगमा प्रतियोगिताको आर्थिक तथा रणनीतिक साझेदार रहेको सेभेन थ्री स्पोर्ट्सकै संलग्नता रहेको बताए पनि सेभेन थ्री स्पोर्ट्सले भने सीआईबीको खण्डन गर्‍यो । 

यता, क्यानले पनि सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता गलत भएको स्वीकार गरेको थियो । यही महिना नेपालका ओपनर ब्याटर तथा विकेटकिपर आसिफ शेखले उच्च खेलभावना प्रस्तुत गरेको भन्दै ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ पाए । 

आसिफले आयरल्यान्डविरुद्धको खेलमा उच्च खेल भावना प्रस्तुत गरेको भन्दै आईसीसीले यो अवार्डबाट सम्मानित गरेको थियो । यही महिना क्यानले बलात्कारको मुद्दा खेपिरहेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्‍यो । र, घरेलु मैदानमा हुने लिग–२ को त्रिदेशीय शृंखलाका लागि माघ १९ गते घोषित टिममा सन्दीपलाई पनि समेटियो । 

माघ २३ गते नेपाली टिमले नयाँ प्रशिक्षकको रुपमा भारतका मोन्टी देसाईलाई पायो । प्रभाकरले छोडेपछि रिक्त पदको जिम्मेवारी क्यानले देसाईलाई सुम्पिएको हो ।

Monti Deshai1679109903.jpg

फागुन
फागुनमा महिनामा नेपाली क्रिकेट टिमले लिग–२ का तीन त्रिदेशीय शृंखला खेल्यो । नेपालले घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न लिग–२ को त्रिदेशीय शृंखलामा क्लिन स्विप गर्‍यो । 

नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित प्रतियोगिताका चार खेल नेपालले आफ्नो पक्षमा पारेको थियो । फागुनमै यसअघि सीआईबीले नेपाल टी–२० मा स्पट फिक्सिङमा संलग्न रहेको भन्दै पक्राउ गरेको आदील आलम र महबुब आलमलाई तीन लाख धरौटीमा थुनामुक्त गर्‍यो । 

फागुन १५ गतेदेखि २२ गतेसम्म नेपालले लिग–२ अन्तर्गत कै त्रिदेशीय शृंखलाका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमण गर्‍यो । यूएईमा नेपालले घरेलु टिम र पपुवा न्युगिनी (पीएनजी) सँग चार खेल खेल्यो । नेपालले शृंखलाका चार खेलमध्ये तीन खेलमा जित निकाल्दा एक खेलमा भने हार व्यहोरेको थियो । 

नेपाली क्रिकेटका लागि २०७९ सालको फागुन निकै विशेष रह्यो । फागुन १८ गते नेपाली यू–१९ टिमले विश्वकपको एसिया छनोट च्याम्पियन बन्दै आठ वर्षपछि युवा विश्वकपमा स्थान पक्का गर्‍यो । नेपालले छनोटको अन्तिम खेलमा यूएईलाई सात रनले हराउँदै विश्वकपको टिकट काटेको थियो । नेपालको जितमा दीपेश कडेलले ह्याट्रिक विकेट लिएका थिए ।

फागुन २५ गतेदेखि नेपालले फेरि घरेलु मैदानमा यूएई र पीएनजी सम्मिलित लिग–२ को अन्तिम त्रिदेशीय शृंखला खेल्यो । 

चैत 

चैत २ गते नेपाली क्रिकेटका लागि अविस्मरणीय दिन रह्यो । फागुन २५ गतेदेखि सुरु भएको लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाको अन्तिम खेलमा यूएईविरुद्ध डकवर्थ लुइस पद्दतिअनुसार नौ रनको जित निकाल्यो । जितसँगै नेपालले भारतमा हुने विश्वकपका लागि जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा स्थान बनायो । 

cricket1681456584.jpg

नेपालले लिग–२ का अन्तिम १२ खेलमध्ये ११ खेलमा जित निकाल्दै एकदिवसीय मान्यता कायम राखेर जिम्बाब्वेको यात्रा तय गरेको थियो । यो नै वर्ष २०७९ को नेपाली क्रिकेटमा घटेको अन्तिम महत्वपूर्ण घटना थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement