site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘कुलिङ पिरियड’मा चलखेल गर्नेलाई सख्त कारबाही गर्नुपर्छ : सांसद थानी

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कार्यपालिका र व्यवस्थापिकाका बीचमा द्वन्द्व सिर्जना हुन नहुने बताएका छन् । मंगलबार (असार १७) सिंहदरबारमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

‘कुलिङ पिरियड’का कारण हाल कार्यपालिका र व्यवस्थापिकाबीच द्वन्द्वको अवस्था सिर्जना भएको उनले उल्लेख गरे । सभामुख देवराज घिमिरेलाई यस विषयमा गम्भीर बन्न आग्रह गरिएको उनले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कुलिङ पिरियड दुई वर्ष हुने भनेर सर्वसम्मतिले पारित गरेको विषयमा समिति सचिवालय, कानुन र संघीय मामिला मन्त्रालयको जालझेलबाट त्यसमा चलखेल गरिएको उनले आरोप लगाए । चलखेल गर्नेमाथि कारबाही हुनुपर्नेमा उनले जोड दिए ।

“कुलिङ पिरियड दुई वर्ष हुने भनेर सर्वसम्मतिले पारित गरेका हौँ । हाउसमा पेस गर्नुपर्ने बेलामा गलत लेखियो,” उनले भने ।

उनले अगाडि भने, “सांसदहरूको भावनामा टेकेर अघि बढ्नुपर्छ । चलखेल वा षड्यन्त्र भन्ने कुरा भयो । समितिको सचिवालयले परामर्शका लागि कानुन र संघीय मामिला मन्त्रालयलाई बोलाउँछ । यी तीनथरीबाट नै चलखेल भएको हो । चलखेल गर्नेलाई सख्त कारबाही गर्नुपर्छ ।”

०८० फागुनमा संसद्‌मा दर्ता विधेयकमा ‘संवैधानिक, कूटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवानिवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो । यसबाट संवैधानिक र राजनीतिक नियुक्तिमा कुनै अवरोध थिएन । सरकारीबाहेक निजी र गैरसरकारी संस्थामा नियुक्ति लिन मात्र सरकारको स्वीकृति चाहिने उद्देश्य राखिएको थियो ।

समितिबाट पारित विधेयकमा ‘संवैधानिक वा कूटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेक’ भन्ने शब्द राखिएको थिएन । तर, प्रतिनिधिसभामा पुग्दा ‘बाहेक’ भन्ने शब्द राखेको पाइएपछि विवाद छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्