site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्रोह गर्दै छु

ढुक्कले आफ्नो विचार राख्ने नायिका हुन्, सुरक्षा पन्त । आफ्नो मनमा लागेका कुरा सञ्चारमाध्यममा राख्न उनी हिचकिचाउँदिनन् । त्यसैले उनीबाट धेरै कुरा आइरहेका हुन्छन् । अक्सर नेपाली सिनेमाको गुणस्तर कमजोर रहेको भन्दै उनी असन्तुष्टि जनाइरहेकी हुन्छिन् । उनको नयाँ चलचित्र ‘बहाव’ यही चैत २४ गते रिलिज हुँदै छ । सोही चलचित्र र सिनेमा उद्योगका विषयमा केन्द्रित रहेर अभिनेत्री पन्तसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी : 

सिनेमा होस् वा बाहिर तपाईं क्रान्ति र विद्रोहका कुरा गरिरहनुभएको छ, कस्तो क्रान्ति हो ?
कहिलेकाहीँ आफ्नो चाहना पूरा गर्न भइरहेको व्यवस्था अर्थात् समाजले मानिरहेको नियम–कानुनलाई चिर्नुपर्ने अवस्था आउँदो रहेछ । आफ्नो इच्छा पूरा गर्न मान्छे जे पनि गर्न तयार हुन्छ । त्यो आँट गर्न खोजिरहेको छु म । यस्तो आँट गर्दा कतिपय कुरा गुमाउनुपर्छ । आफूअनुकूल वातावरण बनाउन तयारी गरिरहेको अवस्था नै क्रान्ति हो ।

तपाईं नेपालमै बस्नुपर्छ भन्ने विचारधाराको मान्छे हो कि विदेश जानुपर्छ भन्ने ? 
म नेपालमै केही गर्नुपर्छ भन्ने विचारको मान्छे हुँ । सिनेमामा भने चारैतिर फैलिन खोज्ने मान्छे हुँ । कुरा रह्यो ‘बहाव’को, यो त सिनेमाको मुख्य कडी नै हो । त्यसैले चलचित्रको रहस्य अहिले नखोलौँ ।

‘बहाव’मा तपाईं क्रान्तिको कुरा गर्नुहुन्छ र कमलमणि नेपाल पनि । दुवैले क्रान्ति गरेपछि द्वन्द्व नै नहुनुपर्ने होइन र ? 
न्युट्रल हुँदै ब्यालेन्समै कथा अगाडि बढ्छ । दुवैको विचारलाई समान ठाउँ दिइएको छ । मान्छेले जुन विचारमा आफूलाई रिलेट गर्नुहुन्छ अथवा नयाँ विचारमा आफूलाई समाहित गर्न खोज्नुहुन्छ भने यो सिनेमामा आफैँलाई पाउनुहुन्छ । जुन विचारमा सहमत भए पनि रिलेट गर्नुहुन्छ । अहिलेसम्म हामीले चलचित्रमा पात्र र जीवन हेर्‍यौँ । अब हामी कुन विचारमा रहेछौँ अथवा कुन विचारमा मेरो झुकाव रहेछ भनेर थाहा पाउन यो चलचित्रले मद्दत गर्छ ।

चलचित्रको वानलाइन स्टोरी ? 
स्वतन्त्रता खोज्दै गरेको एउटा पात्रको कथा हो । स्वतन्त्रता खोज्दै गर्दा जीवनमा आउने उतारचढाव नै यो चलचित्रको मुख्य कथा हो । उतारचढावलाई कसरी चिर्ने र कसरी ब्यालेन्स गर्दै निर्णय गर्ने यो चलचित्रले भन्छ ।

‘बहाव’ले आफ्नो कथा कसरी भन्छ ?
यो चलचित्रलाई म वैचारिक इन्टरटेनमेन्ट भन्न रुचाउँछु । कसैले वैचारिक इन्टरटेनमेन्ट खोजिरहेको छ भने उहाँहरूका लागि रुचिकर हुने चलचित्र हो, यो । जो चलचित्रले हाम्रो विचार र भावनालाई उठाउँदैन भनेर पछि हटिरहनुभएको छ, उहाँहरूले सायद आफ्नै ठान्नुहुनेछ यसलाई ।

कुनै निश्चित विचारधारा बोक्ने व्यक्तिप्रति लक्षित हो चलचित्र ?
छैन । सबैका लागि हो, यो चलचित्र । एउटा परिवारको कथा हो । परिवारभित्रका सबै व्यक्ति र लिंगको कथा हो । एकै परिवारभित्र विभिन्न सोच र विचारधारा भएका व्यक्ति हुन्छन्, ती सबैका लागि हो ।

‘सफ्ट विद्रोह’ गर्दै आइरहेको छु भनिरहनुभएको छ, कस्तो विद्रोह हो यो ? 
हरेक व्यक्तिको आ–आफ्नो व्यक्तित्व हुन्छ । मेरो पनि आफ्नै छ । मेरो पनि आफ्नै सोच छ । यस्तो खालको समाज देख्न पाए हुन्थ्यो भन्ने मेरो सोच छ । त्यो सोच स्क्रिप्ट सेलेक्सन गर्दा हाबी भइरहेको छ । आफ्नो सोचानुसारको काम गर्न खोज्नु र आफूले देख्न खोजेको समाजलाई आफ्नो कामबाट स्थापित गर्ने प्रयास गर्नु नै मैले भनेको सफ्ट विद्रोह हो ।

त्यस्तै खालको सिनेमामा मात्र अफर आइरहेको छ ?
त्यस्तै हुँदो रहेछ । कसरी हुन्छ म पनि आफैँ अचम्ममा छु । सायद आफू जे हो र जे देखिरहेको छ, त्यसैलाई हेरेर मेकरहरुले अफर गर्नु हुँदो रहेछ । जबकि, मेरो इच्छा कुनै व्यक्तिको पर्सनालिटी हेरेर मात्रै स्क्रिप्ट अफर नआओस् भन्ने हो । किनकि, त्यो व्यक्ति कतिपय कारणले बाँधिरहेको हुनसक्छ । कलाकारका हिसाबले विभिन्न डाइमेन्सनमा आफूलाई हेर्न मन हुन्छ । मलाई पनि हरेक जानरामा परीक्षण हुन र प्रमाणित गर्न मन छ । तर, त्यसरी अफर आउँदो रहेनछ । त्यसैले मसँग अहिले थोरै विद्रोहका कथा भएका चलचित्र आइरहेका छन् ।

मलाई सञ्चारमाध्यमले पनि त्यसैगरी प्रस्तुत गरिरहेको छ । बोल्न सक्ने, पढेलेखेको नायिका भनेकाले पनि सायद यस्तो भएको होला । यो स्टेरियोटाइप भयो कि भन्ने भएकाले यसलाई चिर्न मन छ मलाई । ‘बहाव’ यो सिनेमा म विद्रोही हुँदा नै गरेको हो । दोस्रो लकडाउनलगत्तैको सिनेमा हो, यो । त्यो समय हरेक नागरिक विद्रोहको मनोविज्ञानमा थिए । कहिलेकाहीँ आफ्नै व्यक्तित्व चिर्न मन लाग्छ ।

यसको अर्थ रोमान्टिक सिनेमा गर्ने चाह हो ? 
हो । मलाई जसरी अहिले धेरैले चिनिरहनुभएको छ, त्योभन्दा फरक जानराको काम गर्न मन छ । यो मागेर हुँदैन । स्क्रिप्ट छान्ने क्रममा मैले चाहेको जस्तो सिनेमा आयो भने काम गर्छु ।

कान्सको रेड कार्पेटबाट फर्किएपछि केही परिवर्तनको महसुस भएको छ ? 
हो, कान्सबाट फर्किएपछि सिनेमा इन्डस्ट्रीले मलाई एक्सेप्ट गरेको छ । धेरैले मसँग काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ । यसलाई मैले सकारात्मक रूपमा लिएको छु ।

तपाईं आफैँ वा अरू नायिका–नायकलाई कहिलेकाहीँ कुनै समूहविशेषले बेवास्ता गरिरहेजस्तो महसुस हुन्छ ? 
यो उठाउनुपर्ने विषय हुनसक्छ । यद्यपि, को–कोसँग काम गर्ने त्यो मेकर स्वयंको अधिकार हो । तर, यो सत्य हो कि हाम्रोमा गु्रपिजम पक्कै पनि छ । आफ्नो समूहभित्र रहेको कम्फर्ट जोनमा रहेर काम गर्ने समूह छन् । यो मेकरसँग काम गरौँ न भन्दा धेरैले नपाइरहेको अवस्था होला । त्यसैले कुनै समय साइलेन्ट इग्नोर भइरहेको छ भन्ने महसुस हुन्छ । तर, यसमा म गलत पनि हुन सक्छु ।

कारण के रहेछ ?
कारण त थाहा छैन ।

तपाईं महिलाप्रधान कथावस्तुले सिनेमालाई लिड गर्नुपर्छ भन्ने मान्छे, विषयप्रधान सिनेमा बन्नुपर्छ भनेर वकालत गर्ने मान्छे, किन रोमान्टिक सिनेमाको चाह भयो ? 
लिड नै गर्नुपर्छ भनेर पनि मैले भनेको होइन । तर, संख्यात्मक हिसाबले भने यस्ता चलचित्र धेरै हुन् भन्ने मेरो चाहना हो । एउटा समयपछि मैले आफ्नो कालखण्डमा कस्ता सिनेमा गरेँ भन्ने मलाई सायद चिन्ता हुन्छ । काम मात्रै गर्ने उद्देश्य होइन । नागरिक र मानवीयताका हिसाबले पनि केही प्रभावशाली काम गर्नुपर्छ भन्ने हो । त्यहीअनुसार महिलाका विषयमा केन्द्रित सिनेमा आए भने मैले उपयुक्त निर्णय लिइरहेको हुन्छु । तर, महिलाकेन्द्रित भन्नेबित्तिकै हावादारी कथामा पनि काम गर्दिनँ । आर्ट र एन्टिभिजम फरक कुरा हो । आर्टका नाममा अभियन्ताजस्तो पनि मलाई बन्नु छैन । त्यसो गर्नु हुँदैन भन्नेमा म स्पष्ट छु ।

महिलाका विषयमा मात्रै केन्द्रित भएर बस्नु पनि हुँदैन भन्ने मेरो धारणा छ । त्यसैले विभिन्न जानरा र फर्मका चलचित्रमा मलाई काम गर्ने मन छ । मैले भनेको पनि त्यही नै हो ।

नेपाली सिनेमा अहिले कहाँ छ ?
हामी कमर्सियल रूपमा पहिला सफल हौँ, त्यसपछि अरू काम गरौँला भन्ने मनोविज्ञानबाट निर्देशित छौँ । पैसा कमाउन जे चल्छ, त्यो बनाऔँ भन्ने मनोविज्ञानले काम गरिरहेको छ । तर, यति भनिरहँदा चलिरहेका सिनेमा क्वालिटीका छैनन् भनेको होइन । क्वालिटी भएकै सिनेमा चलिरहेका छन् ।

सन्तोषजनक अवस्था छैन ?
सन्तोषजनक अवस्था म देख्दिनँ । कुनै एउटा कुरा सफल भएपछि त्यसैलाई निरन्तरता दिने चलन छ । सबै त्यसकौ पछि लाग्ने चलन छ ।

तपाईंले भनेजस्तो सिनेमा बनाउन त आफैँ मेकर हुनुपर्ला नि ! 
हुनसक्छ । अरू कसैले भन्दैन भने हामीले भन्ने आँट गर्नुपर्छ । अथवा, टिम फर्म गरेर राम्रो काम गर्न सकिन्छ । तर, त्यसो पनि भइरहेको छैन । सही व्यक्ति र विचारलाई एक ठाउँमा ल्याएर काम गर्ने हो भने पनि राम्रो काम हुनसक्छ ।

तपाईंहरूले राम्रो मानेका सिनेमा दर्शकलाई मन पर्दैन, त्यसैले मेकर हच्किएका हुन् कि ?
मेकरलाई पनि सहज छैन । ठूलो रिस्क छ । कस्तो सिनेमा दर्शकलाई मन पर्छ भनेर हामीले पनि भन्न सक्तैनौँ । हाम्रो एउटा जानरा चल्छ भन्ने प्रमाणित भइसकेको छ । त्यसमा राम्रो सिनेमा बन्यो भने दर्शकले हेर्नुहुन्छ । यसो भन्दै गर्दा अन्य जानराका सिनेमा खोइ भन्ने प्रश्न आउँछ । त्यसैले यो प्रश्नको जवाफ पनि खोज्नुपर्छ ।

विविधता लिएर को आउला त ?
त्यसैले त म सधैँ भन्छु– नयाँ मेकर आउनुपर्छ । उनीहरूलाई हामीले हृदयदेखि स्वागत र सहयोग गर्नुपर्छ । म त्यही भएर नयाँ मेकरलाई सहयोग गरिरहेको छु । काम गरिरहेको छु । जति धेरै नयाँ मेकर आउँछन्, त्यति नै नयाँ विचार र आइडिया आउँछ । सिनेमामा विविधता आउँछ । सानो बजेटमा सिनेमा बन्छन् । जति सानो बजेटमा सिनेमा बन्छन्, त्यति नै रिकभरीको सम्भावना उच्च हुन्छ । रिकभरी जति धेरै हुन्छ, त्यति नै नयाँनयाँ सिनेमा आउँछन् । बजार चलायमान हुन्छ । हाम्रो सिनेमा उद्योग बलियो हुन्छ ।

तस्बिर : सुरक्षाको पन्तको फेसबुकबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro