
काठमाडौं । चीनका राष्ट्रपति सी जिङपिङले मध्यपूर्वमा एकअर्काका 'कट्टर शत्रु' इरान र साउदी अरेबियाले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले मंगलबार राष्ट्रपति सीको साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानसँग फोनमा कुराकानी भएको बताएका छन् ।
राष्ट्रपति सीले बेइजिङमा भएको वार्ताका आधारमा दुई देशले असल छिमेकीको रूपमा व्यवहार गर्ने र आपसी सम्बन्धलाई निरन्तरता दिने विश्वास व्यक्त गरेका हुन् ।
सीले साउदी अरेबिया र इरानबीचको वार्ता प्रक्रियालाई निरन्तरता दिन चीन तयार रहेको पनि बताए ।
सात वर्षअघि ठूलो विवादपछि दुवै देशले कूटनीतिक सम्बन्ध तोडेका थिए ।
मार्चको पहिलो साता साउदी अरेबिया र इरानका अधिकारीबीच चीनमा भएको चार दिनको वार्तापछि मार्च ११ मा दुवैले कूटनीतिक सम्बन्ध पुनःस्थापनाको अप्रत्याशित घोषणा गरेका थिए । चिनियाँ विदेश मन्त्रालयका अधिकारी जो रोङले पनि ट्विटरमार्फत पछिल्लो फोन कलबारे जानकारी दिएका छन् ।
बीबीसीबाट ।