site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आदमपुर एयरबेस पुगेर मोदीले भने : सेनाप्रति भारत सदैव ऋणी छ

काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविरामपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अकस्मात् आदमपुर एयर बेस पुगेर त्यहाँका भारतीय वायु सेनाका जवानहरूसँग भेटघाट गरेका छन् । आदमपुर पञ्जाब राज्यको जालन्धरबाट २५ किलोमिटर टाढा पर्छ । 

मोदीको यो भ्रमण भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको तनावपूर्ण संघर्षपछिको सन्दर्भमा भएको हो । ‘अपरेसन सिन्दूर’अन्तर्गत भारतको हवाई सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलेका जवानलाई भेटेर मोदीले प्रशंसा गरेको इन्डिया टीभीले जनाएको छ ।

भारतले मे ६–७ को रातमा पाकिस्तान तथा पाकिस्तानको कश्मीरमा ‘अपरेसन सिन्दूर’ भन्दै हवाई आक्रमण गरेको थियो । त्यसको जवाफमा पाकिस्तानले पनि जवाफी कारबाही गरेको थियो । मे १० मा दुवै देशले थप सैन्य कारबाही रोक्ने सहमति जनाएका छन् ।

पाकिस्तानप्रति स्पष्ट सन्देश

भारतको दोस्रो ठूलो एयर बेस आदमपुरमा प्रधानमन्त्री मोदीको उपस्थितिले रणनीतिक र प्रतीकात्मक दुवै सन्देश दिएको बताइएको छ । भ्रमणका तस्बिरहरूमा मोदी एमआईजी–२९ लडाकु विमान र पूर्ण रूपमा सुरक्षित रहेको एस–४०० हवाई रक्षा प्रणाली अगाडि उभिएका थिए, जुन पाकिस्तानले आदमपुरमा नष्ट गरेको दाबी गरेको थियो ।

वायुसेना जवानहरूसँग प्रत्यक्ष संवाद

बिहान सबेरैको भेटमा प्रधानमन्त्रीले वायुसेना जवानहरूसँग कुराकानी गर्दै हालैको द्वन्द्वका बेला पाकिस्तानबाट प्रक्षेपण भएका ड्रोन र मिसाइलहरूलाई निष्क्रिय पार्न उनीहरूले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे ।

“साहस, दृढता र निडरताको प्रतीक यी वीर योद्धाहरूबीच रहनु निकै विशेष अनुभव रह्यो । हाम्रो राष्ट्रका लागि सशस्त्र बलले गर्ने योगदानप्रति भारत सधैँ ऋणी रहनेछ,” प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन् । 

आदमपुर एयर बेसको रणनीतिक महत्त्व

आदमपुर एयर बेस भारतीय वायुसेनाको पश्चिमी हवाई कमान्डअन्तर्गत पर्छ, जुन भारतको सबैभन्दा महत्त्वपूर्ण सञ्चालनात्मक इकाइमध्ये एक हो । यो कमान्डले जम्मु–कश्मीरदेखि राजस्थानसम्म फैलिएको रणनीतिक क्षेत्र समेट्छ । यसमा पञ्जाब, हिमाचल प्रदेश, हरियाणा, दिल्ली र पश्चिमी उत्तर प्रदेशका अग्रपंक्तिका एयर बेसहरू पर्दछन् ।

अपरेसन सिन्दूरलगायतका धेरै सैन्य अभियान वायुसेनाका प्रमुख र एयर मार्सल जितेन्द्र चौधरीको नेतृत्वमा पश्चिमी वायु कमान्डमार्फत समन्वय गरिएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्