
काठमाडौं । एयर इन्डियाले आफ्ना केही उडानहरू रद्द गरेको छ । भारत र पाकिस्तानबीच युद्धविराम भए पनि एयर इन्डियाले यात्रुहरूका लागि एडभाइजरी जारी गरेको छ ।
एयर इन्डियाले मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट आफ्ना उडानहरू रद्द गरिएको जनाएको छ । एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा लेखेको छ, “पछिल्लो घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै, १३ मे, मंगलबार जम्मू, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटबाट हुने उडानहरू रद्द गरिएको छ ।”
अर्को एयरलाइन्स इन्डिगोले पनि मंगलबार जम्मू, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर र राजकोटबाट उडानहरू रद्द गरेको जानकारी दिएको छ ।
एडवाइजरीमा यात्रुहरूलाई थप जानकारीका लागि एयरलाइन्सको वेबसाइटमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
भारत र पाकिस्तानबीच चार दिनसम्मको सैन्य आक्रमणपछि युद्धविराम सम्झौता भएको छ । जसको कार्यान्वयनको अर्को चरणको बारेमा सोमबार साँझ दुई देशका डीजीएमओहरूबीच फोनमा छलफल भएको थियो । बीबीसी