
काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्वालिफायर क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।
थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको खेलमा हङकङले नेपाललाई सात विकेटले पराजित गरेको हो । नेपालले जितका लागि ३० रनको लक्ष्य दिएकामा हङकङले ४.३ ओभरमा तीन विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्यो ।
वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो । हङकङका लागि शान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाइन् । बलिङतर्फ नेपालका लागि कविता कुँवरले दुई विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाउँदै २९ रन बनायो । नेपालका लागि सम्झना खड्काले १० रन बनाइन् । कप्तान इन्दु बर्माले ९ र रुबिना क्षेत्रीले चार, पूजा महतोले तीन र कविता कुँवरले दुई रन बनाइन् । बलिङतर्फ हङकङका लागि एलिसन सिउले तीन विकेट लिइन् ।
यसअघि नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले दोस्रो खेलमा बहराइनलाई ९ विकेटले हरायो ।
प्रतियोगितामा नेपालसहित आयोजक थाइल्यान्ड, भूटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् । नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालको समूहमा बहराइन र हङकङ छ्न । समूह ‘ए’ मा भूटान, कुवेत र थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई छन् ।