काठमाडौं । प्रदिप मिश्र अर्घाखाँचीको सन्धीखर्कमा हार्डवेयरको व्यापार गर्छन् ।
उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष रहेका मिश्रको व्यापार गतवर्षको तुलनामा ५० प्रतिशतले घटेको बताउँछन् ।
पहाडी जिल्ला अर्घाखाँचीको जिल्ला सदरमुकाम सन्धीखर्कमा पछिल्लो समय घर बनाउनेभन्दा बाहिर जाने समस्या भएको र व्यापार खस्कदै गएको मिश्र बताउँछन् ।
गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेल बसाइँसराइले व्यवसाय घट्दै गएको बताउँछन् ।
“रिडीदेखि तम्घासम्मका गाउँहरुमा बस्नेको संख्या बढी छ,” पौडेलले भने, “तम्घासदेखि बाग्लुङ्ग जाने बाटोमा आउने बेलाका गाउँहरुमा बस्नेको संख्या नै छैन ।”
गाउँ खाली भएपछि तम्घासको व्यापार कसरी बढ्नु ? पौडेलको अनुभव छ ।
अर्घाखाँची र गुल्मीको तुलनामा अस्पतालको कारण तुलनात्मक रुपमा राम्रो भनिए पनि पाल्पाको सदरमुकाम तानसेको व्यापारसमेत घट्दो क्रममा छ ।
विगतमा जस्तो पढ्नको लागि छिमेकी जिल्लाबाट आउनेको संख्या घटेको र गाउँको बसाइँसराइले व्यापार घटेको अनुभव पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईको छ ।
“विगतमा गाउँबाट तानसेन बसाइँसराइ हुने क्रम थियो, गाउँ खाली हुँदै गए,” भट्टराईले सुनाए, “पाल्पाका गाउँ हुँदै अहिले तानसेन नै खाली भएको छ, व्यापार कसरी हुनु ?”
बाह्रखरी टिमले गरेको स्थलगत भ्रमणमा पुरानो लुम्बिनी अञ्चलको पहाडी जिल्लाका व्यवसायीको साझा गुनासो नै बसाइँसराइले व्यापार घट्दै गएको तथा ऋणको ब्याजदरले थप समस्या पारेको भन्ने थियो ।
पाल्पाको पहिचान ढाका र करुवामा थियो । करुवाको बनाउने सिप हस्तान्तरण हुन नसकेको कारण भविष्यमा लोप हुने नै खतरा भएको भट्टराई बताउँछन् ।
गुल्मी, पाल्पा र अर्घाखाँचीमा देखिएको बसाइँसराइ र घट्दो व्यापारको समस्या नेपालका पहाडी जिल्लाका साझा समस्या हुन् ।
तर, व्यापार भने बसाइँसराइकोरुपमा झरिने तराईका जिल्लामा समेत हुन सकेको छैन ।
उदाहरणको लागि पाल्पा, गुल्मी र अर्घाखाँचीका व्यक्तिहरु बसाइँ सरेर झर्ने ठाउँ रुपन्देही, नवलपरासी र कपिलवस्तु हो ।
जसमा रुपन्देही धेरैको रोजाई हुने गरेको छ । तर व्यवसायको अवस्था भने पहाडी जिल्लाको भन्दा फरक तराईका जिल्लाको पनि छैन ।
भैरहवामा गौतम बुद्ध अन्तर्राष्ष्ट्रिय विमानस्थल बन्ने भएपछि बुटवल भैरहवा क्षेत्रमा होटल व्यवसायमा ठूलो लगानी भएको छ ।
विमानस्थल चल्ने अनुमानको आधारमा बनेका भवन तथा होटलमा व्यवसाय छैन ।
जजिरा एयरलाइन्सले चलाएको उडान नै बन्द छ । जसले गर्दा भैरहवाको विमानस्थलदेखि बुटवलसम्म भवनहरुमा ‘भाडामा’ भन्ने सूचना टाँसेको देखिन्छ ।
सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ विमानस्थल बनेपछि अन्तर्राष्ट्रिय उडान नभएको कारण होटलदेखि पूर्वाधारमा भएको लगानी जोखिममा परेको बताउँछन् ।
“विमानस्थल आउने भएपछि भएका लगानी जोखिममा छन्,” श्रेष्ठले भने, “अहिले भैरहवादेखि बुटवलसम्म सटर खाली भएको सूचना मात्र देख्न सकिन्छ ।”
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु युनिलिभरका बिक्रेता हुन् । लिभरकै उत्पादनको व्यापार घटेको अनुभव कसजुसँग छ ।
व्यवसायले आर्थिक मन्दी देखाए पनि राज्यमा बस्नेहरुले समस्या बुझ्न नसकेको गुनासो कसजुको छ ।
घटेको व्यापारले अहिले व्यवसायीलाई थपेको चिन्ता ब्याजदरको हो । अन्य क्षेत्रका व्यवसायीजस्तै लुम्बिनीका व्यवसायीको चिन्ता पनि ब्याजदरको छ ।
विगतमा १६ प्रतिशतसम्म बैंकको ब्याजदर तिरे पनि अहिले व्यवसाय नबढेको कारण तनाव थपिएको व्यवसायीहरु बताउँछन् ।
ब्याजदरसँगै मुख्य समस्या व्यवसाय घट्नु रहेको व्यवसायीहरु बताउँछन् ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष कसजु ब्याजदर विगतमा पनि १६ प्रतिशत पुगे पनि यो पटक व्यापार घटेको कारण समस्या आएको बताउँछन् ।
“जग्गा बेचेरसमेत व्यवहार सल्टाउन नसक्ने समस्या व्यवसायीलाई भएको छ,” उनले भने ।
नघटेको अवैध व्यापार खुला सिमानाले अझै समस्या नेपाल भारतबीच खुला सिमानाले व्यापारमा हुने प्रभाव देशभर नै छ ।
खुलारुपमा भित्रने तरकारीदेखि लिएर होस् या दैनिक उपभोग्य वस्तुको प्रयोग नै किन नहोस् । सिमावर्ती क्षेत्रमा भारतीय बजारको व्यापार नेपाली उपभोक्ताले चल्ने गर्छन् ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पौडेल खुला र घरायसी सामान भारतीय बजारबाट ल्याउने प्रवृति नरोकिएको कारण नेपाली बजारका व्यवसायी प्रभावित बनेको बताउँछन् ।
“खुला सिमानाको नियमन गर्नुपर्ने आवाज उठे पनि त्यो कार्यान्वयन भएको छैन,” पौडेलले भने, “गुणस्तर नै नभएका सामानहरु नेपालमा भित्रने गरेका छन् ।”
पौडेलको जस्तै धारणा कपिलवस्तु तौलिहवाका व्यवसायी ज्ञानदिन (दिपु)कुर्मीको पनि छ । खुला नेपालीले कति सामान किन्ने हो त्यसको जानकारी राज्यसँग हुनुपर्ने कुर्मी बताउँछन् ।
सिमावर्ती क्षेत्रका धेरै व्यवसायी धारणा खुला सिमानाले व्यापार नभएको बताउँछन् ।
व्यवसायीका अनुसार खुला सिमानाको फाइदा अहिले सुन व्यवसायीलाई मात्र भएको छ । जसको कारण नै भारुको बट्टा दर १५८ सम्म झरेको व्यवसायीहरु बताउँछन् ।
अलपत्र योजना र पूर्वाधार
भैरहवामा सरकारले उद्योग लगाउनको लागि विशेष आर्थिक क्षेत्र(सेज) स्थापना गर्ने निर्णय लियो । सेज स्थापना गर्ने नीति लिएको डेढ दशक भए पनि यसले उद्योगलाई आकर्षण गर्ने नै नीति लिएको छैन ।
बुटवलमा भएको औद्योगिक क्षेत्र सानो भएर त्यसको विकल्पको रुपमा ल्याउने भनिएको मोतिपुरको औद्योगिक क्षेत्र सञ्चालनमा आउन सकेको छैन ।
“भैरहवामा सेज स्थापना हुने भयो भने पनि समयमा सञ्चालनमा आएन भने धेरै उद्योग चल्न सक्ने स्थिति भएन,” सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, “वीरगन्जपछि पछिल्लो समय उद्योगहरु बढे पनि एकीकृत जाँच चौकी अहिलेसम्म बन्न सकेन ।”
जग्गाको कारण अब उद्योगीलाई उद्योग लगाउन नै निकै मुस्किल पर्ने अवस्था छ ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष कसजु सरकारले व्यवस्थित ढंगले औद्योगिक क्षेत्रको विकास नगरेमा नयाँ उद्योग नै खोल्न नसकिने अवस्था आएको बताउँछन् ।
“नयाँ औद्योगिक क्षेत्र बनाउने कुरा कार्यान्वयन हुन सकेका छैनन्,” कसजुले भने, “बुटवलमा पुरानो औद्योगिक क्षेत्र विस्तार हुँदैन, नयाँ ठाउँमा औद्योगिक क्षेत्र खुल्न सकेको छैन ।”
भैरहवादेखि बुटवलसम्म पुग्दा यात्रुलाई एउटा राम्रो बनेको बाटोले देखाउने सम्भावना र बुटवलमा बिग्रेको बाटोले देशको अवस्थालाई देखाउने गर्छ ।
भैहरवाको विमानस्थलदेखि बुटवल पुग्दा बुटवल उपमहानगरपालिका सुरु भएपछि बिग्रेको बाटो अहिलेसम्म बनेको छैन ।
बुटवलदेखि पहाडी जिल्लामा पुग्न बाटोको कारण नै कठिनाई उत्पन्न हुने बाध्यता हटेको छैन ।
अहिले नारायणगढदेखि बुटवलसम्म पुग्न नै निकै कठिन हुने र सरकारले पूर्वाधारको काम समयमा सक्न सकेको छैन ।
बनेका पूर्वाधारसमेत चल्न नसक्दा व्यवसाय बढेको छैन ।