
लाहोर । पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच पाकिस्तानस्थित खाननिवासअगाडि झडप भएको छ । प्रमुख सहरमा प्रदर्शन गरिएको छ । पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गरेका छन् ।
गए राति पनि पाकिस्तान तहरीक–ए– इन्साफ (पीटीआई)का कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित घरनजिक झडप भएको थियो । प्रहरी र अर्धसैनिक बलका जवानले अश्रुग्यास प्रहार गरेपछि खानका क्रुद्ध समर्थकले ढुंगामुढाले प्रतिकार गरेका थिए ।
पानीको फोहरा र अश्रुग्यास प्रहार गर्दै आएका सुरक्षाकर्मीले गोली समेत हान्न थालेको पीटीआईका एक कार्यकर्ताले बताएका छन् ।
गत वर्ष विश्वासको मत प्राप्त नभएपछि पदमुक्त भएका खानमाथि भ्रष्टाचारलगायत विभिन्न मुद्दा लगाइएको छ । उनले आम निर्वाचनको माग गर्दै आएका छन् ।
सार्वजनिक रूपमा सरकारको कटु आलोचना गर्दै आएका उनीमाथि प्रधानमन्त्री हुँदा प्राप्त उपहार बेचेको तथा प्राप्त आम्दानी सार्वजनिक नगरेको आरोप लगाइएको छ । सोही विषयमा जानकारी दिन अदालतले उनलाई बोलाएको छ । अदालतको आदेश पालना नगरेकाले उनलाई पक्राउ गर्न आफूहरू आएको एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई बताए ।
इस्लामावाद प्रहरीका उपमहानिरीक्षक सैयद शहजाद नदीम बुखारीले अदालतको आदेश कार्यान्वयन गर्न नेता खानको घर आएको स्पष्ट पारेका छन् । पञ्जाबका प्रहरी प्रमुख उस्मान अन्वरले अदालतको आदेशलाई जुनसुकै मूल्यमा पनि पालना गर्नुपर्ने बाध्यता रहेको बताए ।
पीटीआईका समर्थकको एक समूहले दक्षिणी बन्दरगाह सहर कराँची र उत्तरपश्चिमको पेशावरमा पनि जुलुस निकालेका छन् । उनीहरूले सडक पनि अवरुद्ध पारेका छन् ।
कुनै समयका क्रिकेट सुपरस्टार ७० वर्षीय खानलाई हिरासतमा राख्ने प्रयास यसअघि पनि भएको थियो । उनीमाथि ज्यान मार्ने उद्देश्यका साथ गोली प्रहार समेत गरिएको थियो । प्रधानमन्त्री शेहबाज सरिफको आदेशमा आफ्नो हत्या प्रयास गरिएको आरोप खानले लगाउँदै आएका छन् ।
पीटीआईका एक वरिष्ठ अधिकारीका अनुसार इस्लामावाद उच्च अदालतमा खानको गिरफ्तारी रोक्न रिट दायर गरिएको छ । उक्त रिटमाथि आजै सुनुवाइ हुने अपेक्षा गरिएको छ । गिरफ्तारी रोक्न अदालतबाट आदेश भएमा स्थिति स्वतः साम्य हुनेछ । पार्टीका पदाधिकारीले लाहोरको अदालतमा पनि त्यस्तै रिट दायर गरेका छन् ।
पाकिस्तान राजनीतिक अस्थिरताका कारण निरन्तर शिथिल बन्दै गएको छ । त्यहाँको अर्थतन्त्रलाई उकास्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रयास असफल भएको थियो । अतिवादी समूहहरूले बेलाबेलामा गर्ने घातक आक्रमण एवम् आत्मघाती हमालाबाट पाकिस्तान निरन्तर प्रताडित भइरहेको छ । कानुन कार्यान्वयनमा कठिनाइ हुँदा आपराधिक गतिविधि नियन्त्रणमा पनि असर परेको छ ।
राजनीतिक नेताले आफ्ना कार्यकर्ता र समर्थकलाई प्रयोग गरेर गिरफ्तारीलाई अस्वीकार गर्नुले पाकिस्तानको सबैभन्दा खराब अवस्थालाई प्रतिविम्बित गरेको लेखक, राजनीतिक विश्लेषक र मानवअधिकार कार्यकर्ता तौसीफ अहमद खान बताउँछन् । रासस/एएफपी