
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रका मुख्य सडकमा आधुनिक सडकबत्ती जडान गर्न महानगर र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ ।
महानगरपालिका, प्राधिकरण र सडक विभागकाबीच भएको सहमतिका आधारमा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवालले हस्ताक्षर गरेका हुन् ।
बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम महानगरले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ ।
रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन सडकबत्ती जडान गर्न लागिएको हो ।
स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडकबत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता काम गर्न साझेदारसँग सहकार्य गरिएको पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिए ।

महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शितल निवाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशालाहुँदै कमलपोखरीसम्म, चाबहिलदेखि जोरपाटीसम्म बत्ती जडान गरिने बताइएको छ । सडकबत्ती संरचनामा महानगरको पहिचान उल्लेख हुनेछ ।
यसैगरी, विद्युत प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटीहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान गरिने छ ।
यस क्षेत्रमा बत्ती जडान भएपछि जगेडा रहेमा आफ्ना–आफ्ना स्वामित्वमा भएका सौर्यबत्ती संरचना र यससँग सम्बन्धित प्यानल, ब्याट्रीलगायत सामानको आफैँले पुनप्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गरिनेछ । यसपछिको मर्मत संम्भार महानगरपालिकाले गर्नेछ । त्यसपछि सडकबत्ती प्रयोग भएवापतको शुल्क महानगरपालिकाले प्राधिकरणलाई बुझाउनेछ ।