
नयाँ दिल्ली । भारतको एक अदालतले एकजना स्वघोषित आध्यात्मिक गुरुलाई आफ्नी एक महिला भक्तलाई बलात्कार गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाएको छ ।
सन् २००१ देखि २००६ बीच पश्चिमी भारतीय राज्य गुजरातस्थित आफ्नो आश्रममा पटकपटक बलात्कार गरेको आरोपमा आशाराम बापुलाई अदालतले दोषी ठहर गरेको हो ।
८१ वर्षीय आशाराम अहिले सन् २०१८ मा एक १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा आजीवन कैद सजाय भोगिरहेका छन् । उनका वकिलले उनले अदालतको पछिल्लो निर्णयविरुद्ध अपिल गर्ने बताएका छन् । आफ्नो योगा र ध्यान प्रशिक्षणका लागि चर्चित आशारामका विश्वभरि लाखौँ भक्तजन र सयौँ आश्रम रहेका छन् ।
मंगलबारको अदालतको निर्णयपछि उनका समर्थकहरूबाट हिंसात्मक गतिविधि हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले गुजरातमा सुरक्षा व्यवस्था कडा पारेको छ । अघिल्लो दिन गान्धी नगर सहरस्थित अदालतले उनलाई बलात्कार र गलत ढंगले अरूलाई थुनामा राखेको जस्ता अभियोगमा भारतीय दण्ड संहिताका विभिन्न धारा अन्तर्गत दोषी करार गरेको थियो । यस मुद्दामा मुछिएका आशारामकी पत्नी र पुत्रीसहित ६ जनालाई भने प्रमाण अपर्याप्त भएको आधारमा सफाइ दिइएको छ ।
मंगलबार अदालतले आश्रमलाई पनि २३ हजार भारु जरिबाना गराइएको छ भने आशारामलाई पनि क्षतिपूर्तिबापत पीडितलाई ५० हजार भारु दिन आदेश दिइएको छ । एकजना महिलाले गुरुविरुद्ध एउटा उजुरी दायर गरेपछि पहिलो पटक सन् २०१३ मा उनी विरुद्धको पहिलो यौन उत्पीडन अभियोग सार्वजनिक भएको थियो । ती महिलाले आफूलाई आशारामले मोटेरा सहरस्थित आफ्नो आश्रममा पटक पटक बलात्कार गरेको र भाग्न सफल हुनुअघि आफूलाई त्यहाँ पाँच वर्षसम्म थुनेर राखेको बताएकी थिइन् ।
सन् २०१९ मा आशारामका छोरा नारायण साइलाई पनि ती महिलाकी बहिनीमाथि बलात्कार गरेको अभियोगमा आजीवन कैद सुनाइएको थियो ।
सन् २०१३ मा दुई भक्तले आफ्ना छोरीमाथि बलात्कार गरेको अभियोग लगाएपछि आशारामलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार आशारामले ती पीडित महिलालाई राजस्थानको जोधपुर सहरस्थित आश्रमको आफ्नो कक्षमा बोलाएर उपचार गर्ने बहानामा बलात्कार गरेका थिए ।
बीबीसीबाट ।