
पोखरा । ०७९ माघ १ गते । माघे संक्रान्तिको दिन पोखराले एउटा त्रासदीपूर्ण घटना बेहोरियो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरु भएको १५ दिनभित्रै यती एयरलाइन्सको विमान दुर्घटना हुँदा देश नै स्तब्ध बन्यो । नेपालको हवाई सुरक्षामा अन्तर्राष्ट्रिय चासो थप बढ्यो ।
यसैपनि युरोपियन युनियन (ईयू) एभिएसन सेक्युरिटी काउन्सिलले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको छ । कालोसूचीमा राख्नुको कारण चाहिँ हवाई सुरक्षा, दुर्घटनापछिको उद्धारलगायतका क्षेत्र छन् ।
पछिल्लो वर्षमात्रै नेपालमा दुइवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । विदेशी एयरलाइन्सले चासो राख्ने र नेपालभित्रकै निजी विमान कम्पनीले पनि अन्तर्राष्ट्रिय उडानमा चासो राखिरहेका बेला अकल्पनीय विमान दुर्घटनामा परेका ७२ जनामध्ये ७० जनाको शव भेटिसकेको छ । दुईजनाको अवस्था अझै अज्ञात छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले उनीहरूको खोजीकार्य जारी रहेको जानकारी दिए । तर, दुर्घटनास्थलबाट सबैको शरीरका अंगहरू छुट्टाछुट्टै पठाइएकाले डीएनए परीक्षणबाट सबै यात्रुको पहिचान खुल्ने र हराएको/नहराएको भन्न सकिने उनले बताए ।
अवतरणका लागि विमानस्थलको धावनमार्ग भन्दा करिब डेढ किलोमिटर तल रहेको सेती खोँचमा विमान बजारिएको थियो । पोखरा महानगरको मध्येभागमा भएको विमान दुर्घटनापछिको उद्धारकार्य भने सन्तोषजनक हुन नसकेको कतिपयको टिप्पणी छ ।
ईयूले नेपाली आकाश कालोसूचीमा राख्नुको एउटा कारण ‘दुर्घटनापछिको उद्धार’ पनि हो । जर्मन मुलका अमेरिकी नागरिक माइकल कोबल्डले घटना भएकै दिन लेखेका छन, “... दुइवटा फायर ट्रक (वारुण यन्त्र) नै पोखराका लागि पर्याप्त छन् । तर, आज पोखराको मध्येभागमा यतीको विमान दुर्घटना हुँदा एउटा ट्रक पनि पुग्न सकेको छैन ।”
उनै कोबल्डले त्यसपछि पनि फेसबुकमा लगातार उक्त दुर्घटनालाई लिएर नेपालको सुरक्षा प्रणालीदेखि सरकारमाथि पनि अनेक टिप्पणी गरेका छन् ।
दुर्घटनाको दिन वारुणयन्त्र नपुगेका भने होइनन । पोखरामा नै घरदेखि रेस्टुरेन्टमा पानी आपूर्ति गर्ने साना ट्यांकरहरूले भने पानी ल्याउँदै आगो निभाउने प्रयास गरिरहेका थिए । नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयसँग भने पाँचवटा ठुला खालका फायर इन्जिन (वारुणयन्त्र) छन् । तीमध्ये एउटा पुरानो विमास्थल र बाँकी चारवटा भने नयाँ विमानस्थलमा लगिएका छन् ।
दुर्घटनास्थल पुरानो विमानस्थलबाट करिब दुईसय मिटर र नयाँ विमानस्थलबाट भने डेढ किलोमिटर दक्षिणमा छ । सरकारी अधिकारीहरूका अनुसार दुर्घटनाको १२ मिनेटमा विमानस्थलका वारुणयन्त्र पुगेका थिए । दुरी नजिक भएपनि नयाँगाउँपट्टिका साँघुरा सडक, त्यसमा पनि सडकमै पार्किङ गरिएका सवारी, सीताराम कोलोनीको साँघुरो पुल र दुर्घटना हेर्न जाने मानिसका कारण सुरक्षा निकायदेखि वारुणयन्त्रसमेत बाटोमा नै अलपत्र परेका थिए ।
मानिसको भिड छिचोल्न नसकेपछि कास्की प्रशासनले रेडियोमा सूचना नै जारी गर्नुपरेको थियो । ट्राफिक प्रहरीले पृथ्वीचोकको बसपार्कबाटै सवारी रोकेतापनि मानिसको भिडका कारण संवेदनशील सवारीसमेत जाममा परे । उद्धारका लागि खटिएका सुरक्षाकर्मी नै जाममा पर्दा विमानमा लागेको आगो निभाउनै पनि समय लाग्यो भने उद्धारमा पनि ढिलाइ हुन पुग्यो ।
साना क्षमताका ट्यांकरहरूसँग आगो निभाउन सक्ने क्षमता थिएन । बरु स्थानीयहरू चाहिँ उछिट्टिएका शवहरू संकलनमा सहयोग गरिरहेका थिए । धेरैले चाहिँ तस्बिर र भिडियो खिचिरहेका थिए । दुर्घटनास्थल नजिकै पुगेर हेर्नेको भिडका कारण सुरक्षा संयन्त्रका चारै निकायलाई झनै चुनौती पनि थपियो । पछि सुरक्षा निकायले निश्चित क्षेत्र तोकेर सर्वसाधारणलाई हटाएपछि मात्रै उद्धार कार्य बिना अवरोध सञ्चालन भएको थियो ।
नयाँ विमानस्थल बनेपछि पृथ्वी राजमार्गमा सवारी चाप घटाउन भनेर महानगरले विमानस्थलबाट अमरसिंह चोक हुँदै रामबजार, मितेरी पुल, पुरानो विमानस्थल पछाडिको बाटो हुँदै मुस्ताङचोक निस्किने सडकलाई वैकल्पिक मार्गको रूपमा अगाडि सारेको थियो । तर, एउटा फायरट्रकले भने सहजै तरिकाले त्यो मार्ग छिचोल्न सकेन । महानगरभित्रको वैकल्पिक मार्गको रूपमा खोजिएका यी सडक र अकल्पनीय त्रासदीको दुर्घटनामा उद्धारकार्यको लागि सहज हुन्छ त भन्ने प्रश्न पनि उठेको छ ।
अप्ठ्यारो भूगोल पनि उद्धारको लागि झनै ठुलो समस्या हुन पुग्यो । पोखरा विमानस्थल प्रमुख विक्रमराज गौतम भन्छन, “हामीसँग चारवटा फायर ट्रक छन । उद्धारको लागि तत्कालै पठाइएको हो । मेरो रिपोर्टमा १२ मिनेटमा पुगेको भन्ने छ । साँघुरो बाटो, सडकमै पार्किङ र मान्छेको भिडका बाबजुद फायरट्रक छिट्टै पुगेका छन्,” उनले भने ।
तर, उद्धारकर्मी र उपकरण पुगेपनि आगो निभाउन भने निकै समय लाग्यो । माथिबाट हेर्दा केही नदेखिने झन्डै सेतीको खोँचमा ३०० मिटर तल विमानको संरचनामा आगो दन्किरहेको थियो । फायर ट्रक त थिए तर आगो र धुवाँको राप र मुस्लोले कोही पनि तल के भइरहेछ भनेर हेर्न सक्ने स्थिति थिए । घटनास्थल भन्दा त्यही तीन सय मिटर माथिबाटै फायरट्रकबाट पानीको फोहोरा फालिएको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाही भन्छन्, “आगो निभाउन नै समय लाग्यो, हामी नपुगेर होइन फेरि । त्यो ठाउँमा हाम्रो साधनको क्षमता पनि अलिक पुगेन । पम्पले जति स्पिडमा पानीको फोहोर फ्याँक्थ्यो, तर खोँचमा भएको हुनाले कम प्रभावकारी बन्न पुग्यो ।”
दुर्घटनाको दिन विमानमा लागेको आगो निभाउनमात्रै समय लागेन, खोँचका कारण सुरक्षा निकायका उद्धारकर्ताहरूले भिरमा डोरी बाँधेर शव खोज्नुपरेको थियो । भेटिएका शवहरू पनि त्यसरी नै डोरीको सहायताले सुरक्षाकर्मीले सडकसम्म ल्याए । दुर्घटनास्थलमा पानी पनि भएका कारण दक्ष गोताखोरहरू खटेर शवको खोजतलास गरे । क्रेनको सहायता लिएर पनि सुरक्षाकर्मीहरूले शवको खोजीकार्य गरेका थिए ।
जसोतसो माथि ल्याइएका ती शवहरूलाई एम्बुलेन्सले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याए । तर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोस्टमार्टम भवनमा भने शवलाई आवश्यक पर्ने फ्रिजहरू पुगेन ।
भौगर्भिक विषयविज्ञ श्रीकमल द्विवेदीले यस घटनाले मोबाइल अस्पतालको आवश्यकता खड्किएको बताए । “एम्बुलेन्स खाली जान्छ, एम्बुलेन्स गएर बिरामी लिएर आउँछ । तर त्यहाँ अलिक गम्भीर घाइतेलाई त्यहीँ नै प्राथमिक उपचार गरेर अस्पताल लैजाँदा ज्यान बच्थ्यो कि । प्यारामेडिक्सको टिम पनि गएर उपचार गर्ने सिस्टम हाम्रो छ जस्तो मलाई लाग्दैन,” उनले भने ।
उद्धारको क्रममा खटिएका स्थानीयहरूले दुइजनाको सास चलिरहेको बताएका थिए । त्यस्ता घाइतेहरूलाई घटनास्थलमा नै स्वास्थ्यकर्मीहरूले प्राथमिक उपचार, अक्सिजनका व्यवस्था गर्न पाएको खण्डमा घाइते बाँच्न सक्ने उनको टिप्पणी छ ।
“यो एउटा शिक्षा पनि हो । यसमा भएका कमजोरीहरू सुधारेर, सिकेर कसरी तयारी गर्न सकिन्छ, कसरी कम क्षति हुन सक्छ भन्नेतिर शिक्षा लिनुपर्छ,” द्विवेदीले भने, “अहिले मोबाइल हस्पिटलका कुराहरू पनि आएका छन् । यी कुराहरू गर्न सकिन्छ कि भन्नेतर्फ सोच बनाउनुपर्छ भन्ने जस्तो मलाई लाग्छ ।”
यती एयरलाइन्सको विमान दुर्घटना भएको १३ दिन बितिसक्दा पनि अझै दुईजनाको अवस्था अज्ञात छ । यो दुर्घटनाले मानवीय र भौतिक क्षति जति पुर्याएको छ, त्यति नै नेपाली आकाशले सुरक्षाका चुनौतीको सामना गर्नुपरेको छ ।