site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बन्चरेडाँडावासीसँगको सम्झौता अझै कार्यान्वयन भएन, फेरि आन्दोलनको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने क्षेत्र बन्चरेडाँडाका स्थानीयसँग भएको सम्झौता कार्यान्वयन नभएपछि स्थानीयवासी असन्तुष्ट बनेका छन् । साथै फोहोर व्यवस्थापनमा चरम लापरबाही भएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिन थालेका छन् । 

प्रभावित क्षेत्र धादिङ धुनिबेँसी नगरपालिकाका अनुसार अहिले पनि प्रहरीले खटाएर जबरजस्ती फोहोर फ्याँक्ने काम भइरहेको छ । “सरकारको जबरजस्ती अहिले पनि उही छ । ‘वारेन्ट’ जारी गरेरै जे मन लाग्यो त्यही गरिरहेका छन् । ल्यान्डफिल साइट वरिपरि कोही स्थानीय जानेबित्तिकै प्रहरीले समातिहाल्छ । राज्यका अगाडि जनता निरीह हुँदारहेछन् । एउटा नगरपालिकाले त के नै गर्न सक्छ र ?,” नगरपालिकाका मेयर बालकृष्ण आचार्यले भने । 

मेयर आचार्यका अनुसार अहिले पनि प्रहरीले बल प्रयोग गरेरै फोहोर फाल्ने काम भइरहेको छ । काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग स्थानीयले पटकपटक सम्झौता गर्दै आएपनि उनीहरूका माग सम्बोधन हुन सकेका छैनन् । 

Dabur Nepal
NIC Asia

गत जेठमा फोहोर व्यवस्थापनको विवाद उत्कर्षमा पुगेको थियो । त्यतिबेला बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच दैनिकजसो झडप हुने गरेको थियो । 

काठमाडौंका सडकभरि फोहोर थुप्रिन थालेपछि मात्रै महानगरपालिकाको ध्यानाकर्षण हुने गरेको स्थानीयको गुनासो छ । महानगर र मन्त्रालयसँग विभिन्न समयमा भएका सम्झौताहरू कार्यान्वयन नभइरहेकाले आफूहरू फेरि सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने स्थानीयको चेतावनी छ ।

स्थानीयले बन्चरेडाँडाका बस्तीहरूलाई ३–४ हजार मिटर पर सार्नुपर्ने, फोहोरलाई कुहिने र नकुहिने छुट्याएर मल कारखाना सुरुवात गर्नुपर्ने, गुठीको जग्गा ९० प्रतिशत उपभोग गर्न पाउनुपर्नेलगायतमा मागहरू राख्दै आएका छन् । 

मन्त्रालयले स्थानीयसँग प्रभावित क्षेत्रका पाँचवटा क्षेत्रका लागि आर्थिक वर्ष २०७९/०८० मा ४२ करोड ५० लाख रुपैयाँ, नदी नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण तथा वृक्षारोपण कार्यका लागि एक करोड ७० लाख रुपैयाँ विनियोजन गर्ने सहमति गरेको थियो । साथै जग्गा अधिग्रहण गर्न वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया थाल्ने, १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने, ६ महिनाभित्र सिसडोलको पोस्ट क्लोजरको प्रक्रिया सुरु गर्ने सहमति मन्त्रालयले गरेको थियो ।

त्यस्तै, महानगरले त्यतिबेलै एक हप्ताभित्र धुनिबेँसी नगरको वडा नम्बर १, ३ र ४ तथा ककनी गाउँपालिकाको वडा नम्बर १, २ र ३ प्रभावित क्षेत्रका स्थानीयको स्वास्थ्य बिमा गर्ने सहमति गरेको थियो । 

तर, सम्झौता भएअनुसार बजेट असारमै विनियोजन हुनुपर्नेमा अहिलेसम्म पनि नभएको धुनिबेँसी नगरपालिकाले जनाएको छ । 

पटकपटक गरी अहिलेसम्म स्थानीयसँग १७४ वटा सम्झौता भएका छन् । तर कुनै पनि सम्झौताको पूर्ण कार्यान्वयन नभएको गुनासो स्थानीयको छ । माग पूरा नभएपछि स्थानीयले पटकपटक महानगरका फोहोर व्यवस्थापनाका प्रयोग हुने डोजर र गाडीहरूमा अवरोध गर्ने गरेका छन् । दिनहुँ अवरोध हुन थालेपछि कैयौँपटक काठमाडौंबाटै प्रहरी पठाएर फोहोर व्यवस्थापन गरिएको थियो । 

तर, अहिले ल्यान्फिल्ड क्षेत्रमै दुईवटा प्रहरी क्याम्प राखेर फोहोर व्यवस्थापनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी रमेश पाण्डेले जानकारी दिए । 

“त्यहाँ घटना हुने बित्तिकै २–३ सय जना प्रहरी खटाउनुपर्ने हुन्छ । तर अहिले दुईवटा प्रहरी क्याम्पको सुरक्षामा फोहोर व्यवस्थापनको काम भइरहेको छ । आवश्यकता अनुसार प्रहरी पठाइन्छ,” एसपी पाण्डेले भने । 

केही महिना पहिलेदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नै क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने भन्दै तयारी थालेका थिए । उनले फोहोर व्यवस्थापनका लागि छिमेकी नगरपालिकाहरूसँग जमिनसमेत मागेका थिए । तर महानगरले जमिन पाएको छैन । 

महानगरले कुहिने र नकुहिने फोहोर छुट्याएर फोहोर संकलनको प्रयास पनि गरेको थियो । तर, त्यसले निरन्तरता पाउन सकेन । 

महानगरको आर्थिक वर्ष २०७९/८० को बजेट कार्यक्रममा फोहोर व्यवस्थापनलाई प्राथमिकता दिएको छ । आफ्नै क्षेत्रमा फोहोर व्यवस्थापन तथा आधुनिक उद्योग स्थापना गर्न महागरले ६५ करोड रुपैयाँ नै छुट्याएको छ । फोहोरबाट मल निकाल्न तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्ने योजना ल्याइएपनि काम थालिएको छैन ।  

महानगरको कृषि तथा वातावरण विभागकी प्रमुख सरिता राई आफूहरूले स्थानीयलाई सहयोग गरिरहेको बताउँछिन् । आफू आज मात्र ल्यान्डफिल साइट पुगेको उनले बताइन् । “ल्यान्डफिल साइटको वस्तुस्थिति बुझ्न साइटमा आएकी छु । पहिलेजस्तै फोहोर व्यवस्थापन भइरहेको छ । चरणबद्ध रूपमा स्थानीयका शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका कुराहरूमा सहयोग गर्दै आएका छौँ,” राईले भनिन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro