site stats
साहित्य
जीबाको चौतारी 

एक
वातावरणको चकमन्नता तोडिरहेको थियो, जीबाको चौतारीनेर पुगेर हिनहिनाइरहेको घोडाले ।

जीबा स्वयम् एक महर्षि थिए । उनीसँग धेरै समय साथ रहेको नाताले दैवी अंशमा जीबाभन्दा माथिल्लो स्तरमा थियो यो घोडा ।

ज्ञान, चेतना र उपकारका आधारमा देवताहरूले क्षीर सागर मन्थन गर्दा प्राप्त गरेको उच्चै ः श्रवा नामक अश्वरत्न भन्दा पनि बढी शक्तिशाली थियो यो चेतक घोडा । कोही दावी गर्दछन् यसै घोडाका पितापुर्खा थिए महारभारतयुद्धमा भगवान् श्रीकृष्णको रथ डोर्याउने चार घोडा ।

NMB Bank
Dabur nepal
Agani Group

पण्डितहरू भन्छन्— कहिल्यै मानिसलाई गलत दिशामा लैजाँदैन यो जातको घोडाले । त्रिकाल द्रष्टा यो घोडाले विगत, वर्तमानलाई तेस्रो आँखाबाट नियाल्दै भविष्यको सत्यपथ देखाउँछ, सत्मार्गमा डो¥याउँदछ । केवल हामीले यसका पदचाप र आवाज सही रूपमा बुझ्न सक्नुपर्छ, जसका निम्ति कठोर साधना र अभ्यास आवश्यक छ ।

जीबाकै मुखबाट सुनेको घोडाको रहस्यमय देवत्वबारे प्रकाश पारिरहेका थिए, कान्जीबा ।

Global bank

मान्छेहरू भन्थे— जीबाको आत्मा बोलिरहेको छ, घोडा ।

यथार्थमा जीबा र तत्कालीन समाजको ‘फ्ल्यासब्याक’ प्रस्तुत गरिरहेको थियो घोडा ।

घोडा त्यही चौतारी भएको स्थानमा आएर हिनहिनाउँथ्यो जहाँ विश्वशान्तिको कामना गर्दै जीबाले पटकपटक श्रीमद्भागवत सप्ताह र हरिनाम सङ्कीर्तन आयोजना गरेका थिए ।

पछिल्लोपटक आजभन्दा झण्डै २६ वर्षअघि असारकै महिनाको हरिशयनी एकादशीमा यही चौतारीमा आयोजना गरेका थिए श्रीमद्भागवत सप्ताह । पूर्वीय दर्शनले निर्दिष्ट गरेका मानवका पुरुषार्थहरूबारे अति सरलतम भाषामा उनले दिएको प्रवचनको प्रभाव देशदेशावरमा परेको मानिन्थ्यो ।

दुई
घोडाले घाँटीको घन्टी टननन बजायो...!

अनि घोडा हिनहिनाउन थाल्यो...!

हिनहिनको लगत्तै कान्जीबाले सुनाउन थाले जीबाको विगत । असारको महिना, जीबाको जीवनको अत्यन्त महत्त्वपूर्ण महिना । यही महिना आमाले उनलाई धर्ती देखाएकी थिइन् ।

रून, भोक लाग्यो, निद्रा आयो भन्न सिकाएकी थिइन् । यही महिना थियो, उनकी आमा सधैँलाई बिदा भएको ।

यही महिना उनको व्रतबन्ध गरिदिएका थिए बुढाजीबाले हुँगीघाट लगेर ।

यही महिना थियो लजाउँदै, डोली चढेर, जन्तीसहित पञ्चेबाजा घन्काएर बेहुली लिन गएको अर्थात् असार महिना जीबाको मनोकाशमा घरी मिलनका वर्षा बर्सिने त घरी वियोगका काला बादल मडारिने ।

यस चौतारीमा जीबाका सन्ततिहरूबीच विविध सांसारिक विषयमा यस्तै कुराकानी हुन्थे, कुराकानीका केन्द्रबिन्दुमा जीबा नै रहन्थे ।

आज बुद्धपूर्णिमा रहेछ । यस्तो पर्वमा जीबा विशेष उत्साहित रहन्थे । आज उनको अनुपस्थिति धेरै खट्कियो । एक सत्संगीले जीबाको हालखबर सोधे । घोडा आएको केही घण्टा कहिलेकाहीँ एक–डेढ दिनपछि फर्कने जीबा आजसम्म नफर्कनुको रहस्य खुलेको थिएन ।

नारायणी नदी किनारमा भेटिएको घोडाको काठी र जीबाको अस्कोट, दौरा, सुरुवालले सिर्जना गरेका संशयले सबैलाई पिरोलिरहेको थियो । यी दुईमध्ये घोडा सकुशल फर्की क्रमबद्ध रूपमा विगतका घटनाहरू भनिरहेकोले यसबारे थाहा पाउन अरू केही दिन घोडाकै अभिव्यक्ति पर्खिनुको विकल्प थिएन ।

तीन
घोडाको हिनहिन...!

कान्जीबा...!

साँझको बेला, पारि पाखा वनमा झ्याउँझ्याउँ झ्याउँकिरी कराइरहेको थियो ।

यी आवाजले जीबालाई ज्यामाका कोमल हातमा लाएका चुराका छनछन आवाजको मधुर स्मृति दिलायो । अनायास जीबाले अन्तर हृदयदेखि सम्झे फराकिलो निधारमा रातो बाटुलो टीका लगाएकी, सूर्यको किरणले टल्केको हिमजस्तै गोरो वर्णकी निधारमा कालो कोठी भएकी, सलक्क परेकी, हाँस्दा मुखभित्र हिमाल देखिने सबैबाट ज्यामाले पुकारिने आफ्नी पत्नीलाई ।

जीबा स्मृतिका छालमा तरंगित हुन थाले ।

त्यो स्थान, ती आफन्तहरू त्यो वातावरण अनि समग्र परिवेश ।

भरखर सात वर्ष टेकेकी थिइन् रे जीबाले बिहे गरेर ल्याउँदा ज्यामा । माटोका भाँडाकुटी सँगै मिलेर खेल्थे रे, माटाकै घरगोठ र स–साना ढुंगाका वस्तुभाउ अनि ढुंगाकै छोराछोरी ।

सन्तानले डाँडाकाँडा ढाकून् भन्ने कामना गर्दै वरपीपल रोपेका, चौतारी चिनेका उनका आफ्नै शुक्रशोणित सन्तान त भएनन्, तर यस संसारका सबै प्राणीलाई आफ्नै परिवार ठान्ने उनलाई रत्तिभर फिक्री थिएन । उनका भाइभतिजाका सन्तान भने राम्ररी फैलिएका थिए डाँडावारि–पारिसम्म, देश देशावरसम्म ।

जीबा सम्झन्छन्, ‘पहिलापहिला त बाहिरबाट आउँदा बूढाबूढी, युवायुवती,  स–साना बालबालिकाले घेर्थे, तर अचेल पहिलेजस्तो रहेन, औँलामा गन्न सकिने बूढाबूढी र दुई–चार केटामात्रै छन् ।

तर, यहीँ भएका तिनलाई पनि फुर्सदै छैन अगाडि आएको मानिसको सोधखोज गर्ने, सबै मोबाइलमा टाउको घोप्ट्याएर बसेका छन् । कहाँ हराए मान्छेहरू ? भएका पनि एक्ला एक्ला । कहाँ हरायो सामाजिकता ?’

‘पहिलापहिला त रमाइला कथा सुन्न भनेर मलाई घेर्थे केटाकेटीहरू । बूढाबूढीहरू केटाकेटीलाई आँप र मोही खुवाएर महाभारत–रामायण बाच्न लाएर सुन्थे, यसबाट राम्ररी संस्कृति पुस्तान्तरण हुन्थ्यो । कहाँ हरायो अग्रज र सन्ततिबीच गहन संवाद हुने त्यो परिवेश ! कसले चोर्यो ! कहाँ हरायो हाम्रो संस्कृति ! भगवान् श्रीकृष्णले देखाएको विश्वरूपबाट अभिप्रेरित भई पश्चिमा वैज्ञानिकहरूले इन्टरनेट–युट्युब बनाए, प्रविधिकै माध्यमबाट आफूहरू अन्तरिक्षतिर ताकिरहेछन् । तर, प्रविधिमै लट्ठाएर हाम्रो शीरलाई घोप्ट्याइरहेछन् ।

हाम्रा कल्पवृक्षका फलबाट निकालिएका विश्व कल्याणकारी दर्शनका रसबाट हामीलाई छकाएर दासताका सुरा बाँडिरहेछन् । किन पूर्वीय वैदिक दर्शनका शाश्वत ज्ञानबाट आलोकित भई अन्तरमुखी भएर आत्म, स्वदेश र विश्व कल्याणमा लाग्नुपर्ने हामीहरू बहिर्मुखी भएर पश्चिमा विश्वको अन्धानुकरण गर्दै सामूहिक आत्महत्यातर्फ अघि बढिरहेछौँ ?’

जीबा घरी निदाउँदै घरी आँखा खोलेर पर फाँटतिर हेर्दै ज्ञानगुनका कुरा बाँड्थे, घरी श्लोक सुनाउँथे ।

कहाँ थियो बास ? तँ को ? म को थिएँ ?

प्रपञ्च के हो ? किन देह यो लिएँ ?

कहाँ छ जानु कुन साथ लिकन तँलाई मालुम छ कि यो कुरा मन ?

कवि शिरोमणिका काव्यपंक्ति उनी प्रायः गुनगुनाउँथे । श्रीमद्भागवत कथा आरम्भ हुनपूर्व र कथा सकिएपछि चौतारीमा धर्म–संस्कृति, समाज, अर्थ, काम, मोक्ष, राजनीति, योग, भगवत्प्राप्ति जस्ता विविध विषयमा गाउँलेहरूबीच चर्चा हुन्थ्यो र कुराकानीको केन्द्रबिन्दुमा जीबा, उनको अनुपस्थितिमा कान्जीबा नै रहन्थे ।

(गएको शनिबार (माघ १) सार्वजनिक अर्यालको उपन्यास ‘जीबाको चौतारी’को पुस्तक अंश)
 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय