site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुबईमा घर किन्न काठमाडौंमा मेला

काठमाडौं । काठमाडौंको पाँच तारे होटल सोल्टीमा शनिबार र आइतबार दुबईमा घरजग्गा बिक्रीको मेला लाग्दै छ । 

दुबईमा घरजग्गा बिक्री गर्नको लागि काठमाडौंमा मेला लागेको पहिलोपटक भने होइन ।  हरेक वर्षजसो काठमाडौंको पाँच तारे होटलमा दुबईमा घरजग्गा बिक्री गर्नको लागि मेला लाग्ने गरेको छ । 

यसले नेपाली व्यवसायीको लागि नयाँ लगानीको ठाउँको रूपमा सहयोग गर्दै आएको छ । सोल्टी होटलमा शनिबार र आइतबार हुन लागेको मेला नेपालमा खरिदकर्ता अत्यधिक देखिएपछि हुन लागेको हो । 

यसले नेपाली व्यवसायीको नयाँ गन्तव्यको रुपमा युएईको दुबई विकसित हुँदै गएको देखिएको एक व्यवसायीको टिप्पणी छ ।

नेपाल राष्ट्र बैंकले काठमाडौंमा दुबईको घरजग्गा कारोबारको लागि मेला हुन लागेको जानकारी पाएपछि सूचना जारी गरेर नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लागेको भन्दै यो काम गैरकानूनी हुने जनाएको छ । 

नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ अनुसार विदेशमा लगानी गर्न नेपालमा बस्नेले नपाउने व्यवस्था  छ । 

तर अध्ययन तथा रोजगारीको लागि विदेशमा बस्नेले गैर आवासीय नेपाली ऐनअनुसार विदेशमा लगानी गर्न पाउने व्यवस्था छ । 

सो अनुसार नै अहिले नाम चलेका देखि अलिकति पैसा हुने व्यक्तिले विदेशमा लगानी गर्ने गरेका छन् । 

नेपालमा अहिले नाम चलेका औद्योगिक घरानादेखि पछिल्लो व्यवसायमा अगाडि आएका सबै उद्यमीको लगानी दुबईमा छ । 

दुबईमा घर हुनु नेपालका नाम चलेका व्यवसायीको लागि नौलो कुरा नभएको एक व्यवसायी बताउँछन् ।

“नाम चलेका कुन व्यवसायिक तथा औद्योगिक घरानाको दुबईमा घर तथा अपार्टमेन्ट छैन भनेर कुरा गर्नुपर्ने स्थिति छ,” एक व्यवसायीले बाह्रखरीसँग भने, “व्यवसाय गर्नको लागि सहज भएको तथा नयाँ पुस्ताका व्यवसायीको लागि दुबई नयाँ गन्तव्यको रुपमा विकसित हुँदै गएको छ ।” 

ठूला भनिने व्यवसायिक घरानाको लगानी तथा घरजग्गा दुबईमा हुनु नौलो कुरा नै नहुने स्थिति छ । विगतका वर्षहरूमा नेपाली वैदेशिक रोजगारी तथा घुम्न जाने ठाउँमा दुबईलाई चिनिने गरेको थियो । 

तर नेपाली व्यवसायीले लगानीको लागि नयाँ गन्तव्य बनाए पनि दुबई नेपालीको लागि घरजग्गामा लगानी गर्ने सहरको रुपमा विकसित भएको छ । 

युएई सरकारले सन् २०२० देखि गोल्डन भिसाको नीति लिएको थियो ।  २०२० देखि आएको गोल्डन भिसाको नीति विश्वभरबाट व्यवसायी, सेलिब्रेटी तथा डाक्टरलाई आकर्षित गर्नु रहेको छ । 

यसको लागि न्यूनतम १० लाख दिराम(३५ करोड नेपाली रूपैयाँ) लगानी गर्नुपर्ने हुन्छ ।  नेपालबाट व्यवसायीले दुबईमा घर किन्ने तथा १० वर्षको लागि गोल्डन भिसा लिने गरेका छन् । 

नेपालमा हुने दुबईको घरजग्गा मेलामा नेपालको जुनसुकै स्थानबाट जुनसुकै मुद्रामा पैसा दिए पनि घरजग्गामा लगानी गर्नु मिल्ने व्यवसायी बताउँछन् । 

नयाँ पुस्ताका व्यवसायीको दुबईलाई रुचाउने र सो अनुसारको लगानी घरजग्गा व्यवसायीले गरेका छन् । घरजग्गाको लगानीको हिसाबले दुबई निकै फाइदाजनक मानिन्छ । 

युएई सरकारले दुबईलाई पछिल्लो समय विश्वभरका लगानीकर्ताको गन्तव्यको रूपमा विकास गरेको छ । 

नेपालमा दुबईको घरजग्गाको बिक्रीको लागि मेला भएको जानकारी नियामक निकायलाई भए पनि विज्ञप्ति जारी गरेर मात्र जिम्मेवारीबाट हट्ने गरेका छन् । 

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट कानुन अनुसार विदेशमा घरजग्गा तथा सेयर बजारमा लगानी गर्न प्रतिबन्ध लागेको बताउँछन् । 

“घरजग्गा तथा सेयर बजारमा नेपाली नागरिकले लगानी गर्नु गैर कानूनी रहेको जानकारी गराएका छौं,” भट्टले भने, “नियमभन्दा बाहिर गएर लगानी गर्न मिल्दैन ।”

राष्ट्र बैंकले सूचना जारी गरे पनि दुबईलगायतका विदेशमा घर जग्गामा लगानी गर्ने काम भने रोकिएको छैन ।  हरेक वर्ष पैसा कमाएका नेपालीले दुबईमा लगानी बढाउँदै गएका छन् । 

“नेपालमा बस्न चाहनेको संख्या घट्दै गएको छ,” एक व्यवसायीले भने, “सुरक्षालगायत खुकुलो कानूनको कारण दुबई सिफ्ट हुन चाहने व्यवसायी धेरै छन् । धेरैजना सिफ्टसमेत भइसकेका छन् ।”


सरकारी अधिकारीहरू कानुनले रोके पनि गैर आवासीय नेपालीको रूपमा विदेशमा लगानी गर्न खुल्ला भएको हुँदा घुमाएर व्यवसायीले विदेशमा लगानी गर्ने बताउँछन् । 

“कानुनले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएको छ, हामीले सूचना मात्र जारी गर्ने हो,” राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, “सरकारले नचाहेसम्म यो रोकिने छैन ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ०९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro