site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको नजर राष्ट्रपतिको कुर्सीमा, कांग्रेस नेता पौडेलको समर्थन जुटाउने दौडधुप
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । माघे संक्रान्तिको दिन । आम नागरिकको ध्यान पोखरामा भएको विनाशकारी विमान दुर्घटनातिर केन्द्रित थियो । यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाले सिङ्गै देश शोकमा डुबेको थियो । 

राजधानीसहित सिंगै देशमा अँध्यारो छाएको थियो– ७२ जना यात्रुको आकस्मिक निधन भएको खबरले । देशको ‘मूड अफ’ हुँदा पनि कांग्रेस नेता रामचन्द्र पौडेललाई भने राष्ट्रपति सपनाले कुत्कुती लगाइरह्यो । 

अरु नेताजस्तो उनी स्थिर भएर घरमै बस्न सकेनन् । उनी भने यसै महिनाको अन्तिम साता हुने राष्ट्रपति निर्वाचनमा आफ्नो समर्थनमा माहौल बनाउन दौडिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल– नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपतिको उम्मेद्वारका रूपमा उभ्याउन कसरत गरिरहेका नेता हुन् पौडेल । 

विमान दुर्घटनाको दुःखद् खबरले सबै कामकाजी नेपालीका हात लुला भएका बेला नेता पौडेल भने जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भलाकुसारी गर्न काठमाडौंको बालाजु, बोहोराटारस्थित निवासबाट नयाँ बानेश्वर पुगेका थिए । 

Royal Enfield Island Ad

अपराह्न त्यस्तै साढे ३ बजेको हुँदो हो, यादवसँग ‘चियागफ’मा रम्न पौडेल नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटलको सातौँ तलाको ‘बीईभी लञ्ज’मा पुगेका थिए । 

सँगसँगै गएका दुई नेता मेचमा बस्नेबित्तिकै रामचन्द्र पौडेलले कुरा सुरु गरिहाले, “तपाईंलाई त ओली (एमाले अध्यक्ष केपी शर्मा ओली) ले पेल्दियो त ! पुस २७ (पृथ्वी जयन्ती) मा बिदा दिएर !”

उपेन्द्र यादवजत्तिको वाचाल खेलाडीले आफूलाई सत्ता–गठबन्धनविरुद्ध उक्साएको नबुझ्ने कुरै भएन । 

उनले सामान्य जवाफ फर्काए, “मैल भनिसकेँ– यसपालि पुस २७ गते बिदा दिनुस् । अर्को पटक पुस १४ मा दिनुस् ।” 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णयप्रति असन्तोष व्यक्त गरिसकेको जानकारी दिए । 
  
रामचन्द्र पौडेलले तत्कालै अर्को प्रश्न पनि सोधिहाले, “तपाईंले एमालेसँग सम्बन्ध तोडिसकेँ भन्नुभएको थियो । फेरि कसरी समर्थन गर्न पुग्नुभो ?” 

उनले चुनावमा एमालेसँग तालमेल गरेर गएका यादवले चुनावको परिणामसँगै त्यो गठजोड समाप्त भइसकेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । 

उपेन्द्र यादवले पौडेललाई दिएको जवाफ भने निकै रोचक थियो । 

यादवले भने, “प्रचण्डजीले फोन गरेर मसँग भन्नुभयो– तपाईं आउनुभएन भने मलाई ओलीले बाँदर नचाएजसरी नचाउँछन् । मलाई त्यसरी नाच्नु छैन । त्यसैले साथ दिनुपर्‍यो ।” 

प्रचण्डले साथ मागेका कारण आफू नयाँ सत्ता–गठबन्धनमा जोडिएको उपेन्द्रको जवाफ थियो । प्रचण्डको आग्रह टार्न नसकेर आफूले साथ दिने निर्णय गरेको पनि उनले प्रष्ट पारे । 

मंसिर ४ मा सम्पन्न संसदीय चुनावको परिणाम सार्वजनिक भएदेखि नै पौडेलले नेपालको तेस्रो राष्ट्रपति बन्ने आकांक्षा देखाएका छन् । 

सुरुमा प्रधानमन्त्री दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिएका उनी कांग्रेस संसदीय दलको निर्वाचनमा भने शेरबहादुर देउवालाई जिताउन सक्रियतापूर्वक लागे । 

देउवाले आफूलाई भारी मतका साथ संसदीय दलको नेता निर्वाचित गरे मात्र राष्ट्रपतिको उम्मेदवार बनाउने शर्त राखेपछि पौडेल संसदीय दलको नेताको प्रस्तावक बने । 

आफूले अभिव्यक्त गरेको प्रधानमन्त्रीको दौड त्यहीँ अन्त्य गरे । अनि राष्ट्रपतिको दौडमा लागिपरेका छन् । 

देउवा संसदीय दलको नेता निर्वाचित हुनुअघिसम्म कांग्रेसले आफ्नो नेतृत्वमा चुनावअघि निर्माण गरेको पाँचदलीय गठबन्धन कायमै थियो । त्यसैले पौडेलको राष्ट्रपति हुने संभावना प्रवल थियो । 

तर, जब पुस १० गते मध्यान्ह १२ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा भएको बैठकमा ‘चुनावी गठबन्धन’ समाप्त भएको घोषणा गर्दै बाहिर निस्किए, अनि खुमलटार हुँदै एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगे । 

र, ओली नेतृत्वको नयाँ सत्ता–समीकरण निर्माण गरी प्रधानमन्त्री नियुक्त भए । त्यसपछि पौडेल निराश भएका थिए । 


कांग्रेस नेताका आ–आफ्नै स्वार्थ

पौडेल सुरुदेखि नै प्रचण्डलाई प्रधानमन्त्री बनाएर चुनावी पाँचदलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा थिए । 

उनीजस्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेता सिटौला पनि प्रचण्डलाई पहिलो दुईवर्ष प्रधानमन्त्री बनाउनुपर्ने मत राख्थे । तीनै जना नेताको स्वार्थ भने आ–आफ्नै थियो । 

चुनावअघिको ‘पाँचदलीय गठबन्धन’ टुटेपछि सबैभन्दा घायल पौडेल भएका थिए । पहिलो कार्यकाल देउवा होइन, प्रचण्डलाई प्रधानमन्त्री बनाउने पक्षमा पौडेल सुरुदेखि नै थिए । 

उनको स्वार्थ प्रचण्डलाई प्रधानमन्त्री बनाएर राष्ट्रपति आफू बन्ने भन्ने थियो । त्यसैले पाँचदलीय गठबन्धन टुट्नुमा सभापति देउवा जिम्मेवार रहेको भन्दै पौडेलले उनको सार्वजनिक रूपमै आलोचना गरे ।

एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिनुपर्ने पक्षमा सबैभन्दा वकालत पौडेलले नै गरे । 

गठबन्धन टुटेपछि कांग्रेसनेता पौडेलको मुहारमा कान्ति क्षय भएको देखिन्थ्यो तर जब कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि पौडेलको मुहारमा कान्ति फिरेको छ । उनी राष्ट्रपति हुनेमा आशावादी छन् । 

कांग्रेस नेतृत्वको गठबन्धनबाट प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए उपसभापति पूर्णबहादुर खड्का सरकारमा कांग्रेसको नेतृत्व गरेर उपप्रधानमन्त्री एवम् गृहमन्त्री हुन चाहन्थे । 

सिटौलाको आँखा भने ‘सभापति’को कुर्सीमा थियो । उनी देउवाबाट ‘कार्यवाहक सभापति’को आशामा थिए । 

देउवाका सहयोगीमध्ये प्रवक्ता प्रकाशशरण महत र केन्द्रीय सदस्य एनपी सावदको दाउ बेग्लै थियो । 

उनीहरू देउवालाई प्रधानमन्त्री बनाएर क्रमशः अर्थ र गृहमन्त्री बन्ने दाउमा थिए, जो तत्कालका लागि असंभव भइसकेको छ । 

“देउवानिकटमध्ये निजी दाउ नहेरेका ज्ञानेन्द्रबहादुर कार्की मात्र रहेछन्, उनी देउवाको हितमा नै आफ्नो हित हेरेर बसे”, देउवासँगको संवादमा सहभागी एक एमाले नेताले भने । 


किन र कस्तो राष्ट्रपति चाहन्छ कांग्रेस ?

कांग्रेसलाई किन चाहियो त राष्ट्रपति ? कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बाह्रखरीसँग भने, “कांग्रेसलाई राष्ट्रपति नै चाहियो भनेको होइन । अहिलेसम्म राष्ट्रपतिजीका जेजति गतिविधि भए, त्यसबाट उहाँ सबैको राष्ट्रपति हुन सक्नुभएन । संविधानको रक्षा गर्न सक्नुभएन । संविधानको भावनाअनुसार हिँड्न सक्नुभएन । त्यसो हुनाले राष्ट्रपति सबैको हुन सक्नुपर्‍यो । एउटा प्रधानमन्त्रीले गरेको सिफारिश उहाँलाई ठीक लाग्छ, अर्कोले गर्दा बेठीक लाग्छ । विगतमा यस्ता घटनाहरू भए ।”

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सिफारिस गरेका राष्ट्रिय सभा सदस्य राष्ट्रपतिले मनोनीत नगरेको तर फेरि केपी ओली प्रधानमन्त्री भएपछि सिफारिस गर्दा मनोनीत गरेकोप्रति असन्तोष व्यक्त गरे । 


राष्ट्रपतिले  मनलाग्दा अध्यादेश पास गरेको र मन नलाग्दा पास नगरेको बताउँदै लेखकले भने, “अहिलेको राष्ट्रपतिले गरेको काम कारवाहीले यो संविधानले जस्तो राष्ट्रपतिको परिकल्पना गरेको हो, त्यस्तो राष्ट्रपति देशले पाउन सकेन । त्यसैले सबै दल र सबै नेपालीको राष्ट्रपति हुने व्यक्ति चाहियो भन्ने हाम्रो धारणा हो ।”

राष्ट्रपति र सभामुख भनेका दलगत राजनीतिभन्दा माथि उठेका पद भएकाले सबै दललाई समान रूपमा हेर्ने व्यक्ति कांग्रेसले चाहेको उनले बताए । 

“पछिल्लो आन्दोलन र नयाँ संविधानको भावना र ऐतिहासिकता बुझेको व्यक्ति राष्ट्रपति चाहिन्छ,” लेखकले भने, “०६२÷६३ को आन्दोलन, माओवादीसँगको शान्तिप्रक्रिया, अन्तरिम संविधान र अहिलेको संविधान त्यो सबै परिवेशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजिक चरित्रको राज्य निर्माण गर्ने जुन पछिल्ला गतिविधि भए, त्यो कुरालाई आत्मसात गरेको र रक्षा गर्ने व्यक्ति हुनुपर्छ । त्यो भनेको आन्दोलनमै भूमिका भएको, संविधान निर्माणमै भूमिका भएको व्यक्ति राष्ट्रपति हुनुपर्छ ।”   
 
व्यक्ति को ?
लेखकका अनुसार कांग्रेसले राष्ट्रपतिका लागि पार्टीमा नलागेको कोही स्वतन्त्र व्यक्तिको खोजी गर्दैन ।

यद्यपि, पार्टीले निर्णय पनि गरिसकेको छैन । तर, कांग्रेस नेता पौडेलले आफूलाई समर्थन जुटाउन भेटघाटलाई तीव्र पारेका छन् । रामचन्द्र पौडेलनै कांग्रेसबाट राष्ट्रपतिको सर्वसम्मत उमेदवार हुनसक्ने लेखकले बताए ।

लेखकले बताएको योग्यताभित्र एमालेका उपाध्यक्ष सुवास नेम्वाङ पनि राम्ररी अटाउँछन् ।  नेम्वाङलाई नै समर्थन गर्ने संभावनाबारे लेखकले भने, “उहाँबारे मेरो व्यक्तिगत केही पनि रिजर्भेसन हुँदैन ।”

यति बेलाको समीकरण हेर्दा राष्ट्रपतिमा सत्तारुढ गठबन्धनले समर्थन गरेको उमेदवारले जित्ने संभावना देखिन्छ । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूको गोप्य मतदानबाट राष्ट्रपति चुनिन्छ । 

यसअघिको कानूनी व्यवस्थाअनुसार, प्रदेशसभा सदस्यको एक भोट बराबर ४८ र प्रतिनिधिसभा सदस्यको एकभोट बराबर ७९ मतभार थियो । उक्त मतभार ०६८ सालको जनगणनाअनुसार तोकिएको थियो ।

०७८ सालको नयाँ जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको एक वर्ष भइसकेको छ तर अझै अन्तिम नतिजा भने आइसकेको छैन । 

प्रधानमन्त्रीलाई जनगणनाको अन्तिम प्रतिवेदन बुझाउन समय नपाएका कारण अन्तिम नतिजा सार्वजनिक गर्न नसकेको तथ्याङ्क विभागले जनाएको छ ।

०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार, नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ । 

यो जनसंख्याको आधारमा हिसाब गर्दा अहिले प्रदेशसभा सदस्यको मतभार ५३ र संघीय संसद् सदस्यको ८७ हुने छ । त्यसका लागि कानून संशोधन गर्नुपर्ने छ ।

एमालेको प्राथमिकता राष्ट्रपति 

एमालेले सत्ता–गठबन्धनको नेतृत्व गरे पनि मन्त्रालयको भागवण्डामा खासै महत्व दिएन । 

एमालेले आस नगरेको सत्ता फिर्ता आएकाले पनि यस्तै मन्त्रालय पाउनुपर्छ भनेर दाबी नगर्ने सो पार्टीका एक पदाधिकारीले बताए । 

“अरुले छाडेका मन्त्रालय एमालेले लिन्छ । यो मन्त्रालय नै हामीले पाउनुपर्छ भनेर दाबी गर्दैनौँ,” उनले भने ।

एमालेले १० जना मन्त्रीको दाबी नगरी ८ मा चित्त बुझाएको छ ।  अर्थ मन्त्रालय लिएको एमालेले भौतिक निर्माण, ऊर्जा, सहरी विकास जस्ता मन्त्रालय पनि छाडिदिएको छ । 

श्रम, पर्यटनजस्ता ‘राम्रा’ मन्त्रालय पनि माओवादीलाई जनसम्पर्कका मन्त्रालयहरू सञ्चार, शिक्षा, सामान्य प्रशासनजस्ता मन्त्रालय पनि छाडिदिएको छ । 

अरु दलले रोजेर छाडेको मन्त्रालय मात्र एमालेले लिएको ती नेताले बताए ।

एमालेले सरकार सञ्चालनको जिम्मा पहिलो साढे दुई वर्ष निर्वाध रूपमा प्रधानमन्त्री प्रचण्डको जिम्मा दिने छ । 

त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमा प्रधानमन्त्री पद फर्काउने गरी सम्बन्धलाई सुमधुर बनाउने र गठबन्धन टिकाउने रणनीति सो पार्टीको हुनेछ । 

एमाले उपमहासचिव विष्णु रिमाल एमालेले सरकारको हिस्सेदारी भन्दा पनि सत्ताको हिस्सेदारीलाई प्राथमिकता दिएको बताउँछन् । 

बाह्रखरीसँगको कुराकानीमा उनले भने, “हामीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दा पनि सरकार होइन, सत्ताको बाँडफाँडको कुरा गरेका थियौँ । उहाँले हामीलाई अल्झाउन मात्र खोज्नुभयो ।”

एमालेको प्राथमिकता राष्ट्रपति भएको बताउँदै रिमालले अब नयाँ गठबन्धन बनिसकेकाले कांग्रेससँग सत्ताको बाँडफाट नहुने बताए । 

उनले भने, “सात दलीय गठबन्धन दलहरूबीचको सहमतिका आधारमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख पनि चयन हुने छ ।”

सत्ता गठबन्धनका दलहरूको बैठकले राष्ट्रपति एमालेले पाउने निर्णय गरेको छ ।  प्रधानमन्त्री र सभामुखमा माओवादी र एमालेबीच आलोपालो गर्ने सहमति बनेको छ । 

पहिले प्रधानमन्त्री माओवादी अध्यक्ष प्रचण्ड बनिसकेका छन् भने सभामुख एमालेले अघि साने उमेदवारलाई जिताउने समझदारी भएको छ । 

संभवतः सभामुखमा झापा २ बाट निर्वाचित देवराज घिमिरे हुनसक्ने एमाले स्रोतको दाबी छ ।

राष्ट्रपतिमा भने गठबन्धनका तर्फबाट दुवै संविधानसभा अध्यक्ष भइसकेका एमालेका उपाध्यक्ष सुवास नेम्वाङको संभावना सबैभन्दा बढी रहेको एमाले नेताहरू बताउँछन् । 

राष्ट्रपति देशको पहिलो नागरिक हुने हुनाले अन्तर्राष्ट्रिय जगतले पनि पत्याउने, सेनाको परमाधिपति हुने हुनाले सेनाले पनि स्वीकार गर्ने, विधि बुझेको, तटस्थ र अरु दलको समेत समर्थन पाउनसक्ने व्यक्ति आवश्यक हुने हुनाले ती सबैलाई बुझेर उमेदवार तय गर्ने एमालेका नेताहरू बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro