site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वर्णिमबारे गगनको आक्रोशले उब्जाएको प्रश्न : देश निर्माणमा विदेशमा पढेका योग्य कि देशमै लडेका ?

काठमाडौं । “मैले विदेशमा बसेर यो गरेर आएको, यत्तिको जागिर छोडेर आएको भन्नुहुन्छ भने मलाई भन्न मन लाग्छ– मैले त जागिर नखाएको, तिमिले त खाएर छोडेर आएको । मलाई त भन्न मन लाग्छ– तिमी त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको हो ।  म त त्यो बेलामा सडकमा लडेर बसेको हो, छातीमा ढुङ्गा खाएर बसेको हो । (विदेश) जान नसक्ने भएर होइन, जाने क्षमता नभएर होइन ।”

उक्त भनाइ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको हो । उनले विदेश पढेर आएका अर्थशास्त्री स्वर्णिम वाग्लेतर्फ लक्षित गर्दै उक्त अभिव्यक्ति दिएका हुन् । 

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा कांग्रेसका उमेदवार गोविन्द भट्टराईको उमेदवारी दर्तापछिको चुनावी सभालाई सम्बोधन गर्दा आक्रामक शैलीमा गत साता उक्त अभिव्यक्ति दिएका थिए । 

गत निर्वाचनमा कांग्रेसको चुनावी घोषणापत्रका मुख्य मस्यौदाकार थिए– अर्थशास्त्री वाग्ले । उनले चुनावमा कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ बाट प्रतिनिधिसभा उपचुनावमा उमेदवारी दिएका छन् । 

वाग्ले गत मंसिर ४ को संसदीय चुनावमा कांग्रेसका उमेदवार जिताउन देशभरिका निर्वाचन क्षेत्रमा भाषण गर्दै हिँडेका थिए । 

Global Ime bank

उनका लागि महामन्त्री थापाले काठमाडौं–४ नै छाड्न तयार भए पनि सभापति शेरबहादुर देउवा वाग्लेप्रति सकारात्मक नभएकाले उनले टिकट पाएनन् । उनलाई टिकट दिलाउने प्रयत्नमा लागेका महामन्त्री थापाकै टिकट झन्डै जोखिममा परेको थियो । 

कांग्रेसमा छँदा महामन्त्री थापाका निकै घनिष्ठ थिए वाग्ले । उक्त भाषणपछि महामन्त्री थापाको सामाजिक सञ्जालमा निकै आलोचना पनि भयो । 

विशेषतः कांग्रेसभन्दा बाहिरका बुद्धिजीवीहरूले थापाको भाषणको आलोचना गरे । वाग्लेको समर्थन गरे । 

तनहुँ–१, चितवन–२ र बारा–२ को चुनावी तिथि नजिकिँदै जाँदा थापाको भाषणको राप त अलि मत्थर त भएको छ तर उक्त भाषणसँगै राजधानीमा जारी वाग्लेको समर्थन र विरोध जारी छ । जो वैशाख १०सम्मै मत्थर हुने छैन । 

कांग्रेस पार्टीले दिएको राजनीतिक जिम्मेवारीबमोजिम महामन्त्री गगन थापाले कांग्रेसका उमेदवारलाई जिताउन ठूलो तरंग सिर्जना गरेर तनहुँ पुगेका वाग्लेविरुद्ध उक्त अभिव्यक्ति दिएको कसैबाट छिपेको छैन । त्यसैले थापाको आक्रोश उपनिर्वाचन लक्षित हो । यो पनि प्रष्ट छ । 

उपनिर्वाचन भइरहेका तीन क्षेत्रमध्ये तनहुँ–१ मात्र त्यस्तो क्षेत्र हो, जहाँ गत आम चुनावमा कांग्रेसले जितेको थियो । 

उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल फागुन २५मा राष्ट्रपति निर्वाचित भएपछि उक्त स्थान रिक्त भएको हो । 

त्यसकारण पनि कांग्रेसलाई उक्त क्षेत्र जोगाउनुपर्ने चुनौती छ, जसको जिम्मा कांग्रेसले महामन्त्री थापाको काँधमा राखिदिएको छ । त्यसैले आफ्नो भावी राजनीति बलियो बनाउन पनि उनी सम्पूर्ण सामर्थ्यसाथ उत्रिएका हुन् । 

समकालीन कांग्रेस नेताहरूमध्ये इमान्दार छवि भएका र संसदीय राजनीतिको अवसरबाट बञ्चित गोविन्द भट्टराई उमेदवार छन् । 

वाग्लेले कांग्रेस छाड्नुअघि आम चासो बारा–२मा थियो । जहाँ गत चुनावमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग फराकिलो मतान्तरले पराजित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने घोषणा गरेका थिए । 

चुनाव जितेपछि उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री बनाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालय नै खाली राखेका छन् । 

कांग्रेस त्यागेर स्वर्णिम वाग्लेले स्वतन्त्र पार्टीबाट चुनाव लडेपछि राजधानी काठमाडौंसहित देशकै बौद्धिक वर्गको ध्यान पनि तनहुँ–१मा केन्द्रित भएको छ ।

अबको जनप्रतिनिधि कस्तो हुनुपर्छ ? देशको निर्माणमा कस्ता व्यक्तिको आवश्यकता छ ? सामाजिक सञ्जालमा यसबारे बहस भइरहेको छ ।

यो बहसमा राजनीतिक दलका कार्यकर्तादेखि सामाजमा स्थापित बौद्धिक जमातसमेत सामेल भएका छन् । अभिनेता राजेश हमालसमेत बहसको मैदानमा उत्रिएका छन् । जो अहिलेको आवश्यकता हो । 

विशेष गरी प्रजातान्त्रिक पार्टीहरूभित्र लोकतान्त्रिक अभ्यासको अभाव हुँदा त्यहाँबाट विद्रोह गरी जनतामा परीक्षणको लागि जानु स्वाभाविक लोकतान्त्रिक अभ्यास हो । 

दलहरूले आफूलाई पुस्ताअनुकूल अद्यावधिक नगर्दा राजधानीको मेयरमा बालेन साह वा धरानमा हर्क साङपाङजस्ता स्वतन्त्र उमेदवारले दलका उमेदवारलाई हराइदिएको ताजा उदाहरण हाम्रै सामु छ । 

मुख्य राजनीतिक दलले आफूलाई परिवर्तन गर्न नसक्दा मंसिर ४ को संसदीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको यथार्थ हाम्रैसामु छ । 

भलै, त्यसरी उदायका दल वा व्यक्तिहरूको आचरण कति लोकतान्त्रिक छ भन्ने बेग्लै बहसको विषय हो ।  नेपालमा ००७ सालमा प्रजातन्त्र स्थापना हुनुभन्दा एक वर्षअघि माओको नेतृत्वमा जनवादी गणतन्त्र भएको छिमेकी चीन अहिले संसारको पहिलो आर्थिक शक्ति बन्ने होडमा छ । 

सडकबाट लडेर आएका व्यक्तिको सोचले मात्र देशको उन्नति संभव छैन बरु त्यसको जगमा विदेशी विश्वविद्यालय पढेको सुशिक्षित नेतृत्वको ‘भिजन’ले मात्र उन्नति संभव हुन्छ भन्ने उदाहरण छिमेकी चीनको उदाहरण पर्याप्त छ । 

चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ किसान नेता थिए । क्रान्ति सम्पन्न भएको डेढ दशक नपुग्दै उनलाई लाग्यो– पार्टीभित्र बुर्जुवा वर्ग प्रभाव जमाउँदैछ । 

उनले एक दशकलामो सांस्कृतिक क्रान्ति सुरु गरे– सन् १९६६ मा । 

जो एक दशक चलेको थियो, जसलाई चीनको नयाँ पुस्ताले अध्यक्ष माओको गल्तीका रूपमा अहिले खुल्ला रूपमा बताउँछ ।

उक्त सांस्कृतिक क्रान्तिमा राष्ट्रपति ल्यू साओ ची, नेता तेङ सियाओ पिङलगायतका नेताहरूलाई जेल हालिएको थियो । 

पूर्वराष्ट्रपति ल्यू साओ चीको निधन जेलमै भएको थियो । सीपीसीको एघारौँ कंग्रेसमा तत्कालीन प्रधानमन्त्री चाउ एन लाईले उनलाई ‘गद्दार’ घोषणा गरेका थिए । 

तेङ सियाओ पिङ भने त्यस बेला पनि मारिनबाट जोगिएका थिए ।  फान्समा शिक्षा हासिल गरेका उनी माओको मृत्युपछि सीपीसीको सर्वोच्च नेता भए । उनी राष्ट्रपति भने बनेनन् । 

सीपीसीको सन् १९८२को एघारौँ अधिवेशनबाट उनले खुलाबजार अर्थनीति पारित गराए । 

अनि १३ वर्षअघि ल्यू साओ चीप्रति पार्टीले गरेको अन्यायप्रति आत्मालोचना गर्दै उनलाई मरणोपरान्त सर्वोच्च नेताको दर्जा दियो । 

अनि चीनले थाल्यो– आर्थिक उन्नतिको तीव्र रफ्तार । साढे तीन दशक नपुग्दै संसारको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा स्थापित समाजवादी चीन नयाँ चीनको एक शताब्दी पुग्दा पहिलो अर्थतन्त्र बन्ने लक्ष्यका साथ अघि बढेको छ । जुन लक्ष्य उसले त्यसभन्दा अगावै हासिल गर्ने प्रक्षेपण गर्न थालिएको छ । 

अध्यक्ष माओ र माओले जेल हालेका तेङको मूल्यांकन गर्दा अहिले चीनको नयाँपुस्ता यसो भन्छ, “केही कमी–कमजोरीका बाबजुद अध्यक्ष माओले देशका लागि योगदान गरे । चीनले जुन आर्थिक उन्नति गरेको छ, त्यो तेङको योगदानबाट भएको हो ।” 

क्रान्तिकालमा इमान्दार र क्रान्तिकारीको योगदान बढी हुन्छ तर जब राजनीतिक परिवर्तन भइसक्छ, त्यसपछि देशलाई आर्थिक नीतिको नेतृत्व गर्ने विद्वानको आवश्यकता पर्छ । त्यसको लागि पढेलेखेका व्यक्तिको आवश्यकता पर्छ । 

०४७ सालपछि करिब दुई दशक देशको नवउदारवादी आर्थिक नीतिको नेतृत्व डा. रामशरण महतले गरेका थिए । यति भन्न कुनै कञ्जुस्याइँ गरिरहनुपर्दैन– २०२६ सालको एसएलसीका बोर्डफस्ट डा. बाबुराम भट्टराई पनि अर्थमन्त्रीका रूपमा सफल भएका थिए ।

स्वर्णिम वाग्ले ०४६सालको एसएलसीका बोर्ड–सेकण्ड हुन् । गोर्खामा जन्मिएका उनले काठमाडौंको बूढानीलकण्ठ स्कुलबाट एसएलसी गरेका थिए । 

लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक र हार्भर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर गरेका छन् । 

अनि अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनीसँग अन्तर्राष्ट्रिय विकास नियोगहरूमा काम गरेको करिब दुई दशकको अनुभव छ । जो नेपालको लागि इज्जतकै विषय हो । 

सहजै भन्न सकिन्छ– सुशिक्षित स्वर्णिम अत्यन्तै कुशल ‘टेक्नोक्र्याट’ हुन् । उनले नेपालको नीतिगत तहको पनि नेतृत्व गरिसकेका छन् । 

त्यसैले उदार अर्थतन्त्रका पक्षपाती उनले नेपाल पनि बुझेका छन् ।  यो उनको योग्यता हो जो अरु राजनीतिकर्मीमा छैन । आफूले हासिल गरेको ज्ञान व्यक्त गर्ने क्षमता पनि उनमा छ । उनको क्षमतालाई अघिल्लो पुस्ताका अर्थशास्त्रीले पनि ईर्ष्या गर्नेगरेका छन् । 

नेपालमा औसत दिमागको कमी छैन । आवश्यकता छ– अब्बल मस्तिष्कको । त्यसैले संसद् सदस्यमा स्वर्णिम वाग्लेको दाबी स्वाभाविक छ । यो समयको माग हो । यो एउटा सक्षम अर्थशास्त्रीलाई देश निर्माणको लागि योगदान गर्न नत्थी लगाउने अवसर पनि हो । 

कांग्रेस उमेदवार गोविन्द भट्टराईलाई जिताउने जिम्मेवारी लिएर मैदानमा उत्रिएका कांग्रेस महामन्त्री गगन थापाका केही बाध्यता पनि छन्– स्वर्णिमबारे आक्रामक हुन । त्यति आक्रामक नभएमा स्वर्णिमलाई गगनले नै जिताएको आरोप लाग्न सक्छ– कांग्रेसजनबाट । स्वर्णिमले गत चुनावमा गगनलाई जिताउन खेलेको भूमिका सबैका सामु छर्लङ्ग छ । 

कांग्रेस महामन्त्री गगन थापा केवल कांग्रेसका ‘क्याडर’को मात्र नेता होइनन् । उनको ‘इमेज’ कांग्रेसभित्र भन्दा बाहिर ठूलो छ । स्वर्णिम वाग्लेविरुद्ध उनले गरेको व्यक्तिगत तहको भाषणले गगनको व्यक्तित्वमा क्षति गरेको छ ।

कांग्रेसका महामन्त्रीद्वय दुई जना उमेदवार बोकेर चुनावी मैदानमा छन् । 

चितवन–२ का कांग्रेस उमेदवार जीतनारायण श्रेष्ठलाई जिताउने जिम्मेवारी विश्वप्रकाश शर्माको काँधमा हालिएको छ भने तनहुँमा गगन खटिएका छन् । 

पार्टीको नीतिगत नेतृत्व दिनुपर्ने दुई महामन्त्रीलाई नै एक–एक जना उमेदवारको जिम्मेवारी दिनु कांग्रेसको कमजोरी हो । कथम्कदाचित दुवै क्षेत्र कांग्रेसले गुमायो भने दुई महामन्त्रीको क्षमतालाई पार्टी पंक्तिले कसरी लिने ? यो गम्भीर प्रश्न हो । 

प्रतिनिधिसभा सदस्यका रूपमा स्वर्णिम वाग्लेको दाबीलाई अन्यथा लिनु जरुरी छैन । 

अबका जनप्रतिनिधिहरू देशलाई आर्थिक रूपमा नेतृत्व गर्नसक्ने क्षमताका हुनुपर्छ । औसत सांसद् त कति छन् कति ? खाँचो अब्बल मस्तिष्कको हो । 

नेपाली मतदाताले पाएसम्म अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ भएका, देशको हावापानीदेखि संस्कृतिसम्म र बुझेको, राम्रो शिक्षा हासिल गरेका जनप्रतिनिधि रोज्नुपर्छ भन्न हिच्किचाइरहनुपर्दैन । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu