site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालेनलाई रविले दिएनन् साथ, सुकुम्बासी बस्ती हटाउन पूर्वतयारी र सहकार्य खोई ? 

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरलाई सुकुम्बासी बस्ती हटाउन आवश्यक सुरक्षा दिने वा नदिने भन्नेबारे जवाफ दिएको छ । गृहका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार महानगरलाई लिखित जवाफ पठाइएको हो ।

महानगरले गत पुस १४ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीद्वारा सुकुम्बासी बस्ती हटाउन सुरक्षा माग गर्दै सहयोगका लागि पत्र पठाएको थियो ।

महानगरलाई पत्र पठाउँदै सहकार्य र समन्वय गरे गृह सुरक्षा दिन तयार रहेको जवाफ दिएको प्रवक्ता पोखरेलले बताए । 

Dabur Nepal
NIC Asia

“सरोकारवाला निकायसँग सहकार्य र समन्वय गरे सुरक्षा दिन्छौँ भनेका हौँ । सुरक्षा नदिने भनेको होइन,” पोखरेलले बाह्रखरीसँग भने । 

“सरोकारवाला सबै पक्षसँग आवश्यक छलफल तथा समन्वय गरी प्रयाप्त पूर्वतयारी समस्या समाधान गर्ने महानगरको अग्रसरतालाई मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरा अनुरोध छ,” मन्त्रालयले पठाएको पत्रमा भनिएको छ ।

गृहले सरोकारवा निकाय भूमि आयोग, महानगर र अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिबीच समन्वय र सहकार्य नभएको बताएको छ ।

यसर्थ बालेनको डोजर चलाउने एक्सन र आयोग लगत संकलन गर्नेे विधि प्रक्रियाबीच तालमेल नै मिलेको छैन ।

डोजर चलाएर मात्रै सुकुम्बासी समस्या समाधान नहुने निष्कर्ष आयोगको छ । तर महानगर आयोगको सम्झौता बमोजिम लगत संलकन गर्न तयार छैन । 

महानगरले वाग्मती नदी किनाराका सुकुम्बासी बस्ती हटाउन अभियान नै सुरु गर्ने बताउँदै आएको छ । 

महानगरका मेयर बालेनको निर्देशनमा गत मंसिर ९ गते सुकुम्बासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो ।

तर स्थानीयले नगरप्रहरीमाथि सुकुम्बासीहरुले ढुंगामुडा गर्दा महानगरको कदम असफल भएको थियो । सो समयमा पनि महानगरले माग गरे अनुसार प्रशासनबाट प्रहरी खटाइएको थियो । 

थापाथली झडपमा प्रहरी ‘फ्रन्टलाइन’ नखटिँदा आफूहरुमाथि आक्रमण भएको भन्दै महानगरले असन्तुष्टि जनाएको थियो । डोजरसहित बस्ती पुगेको नगरप्रहरी टोलीमाथि ढुंगामुढा हुँदा ३६ जना नगरप्रहरी घाइते भएका थिए । 

घाइते नगरप्रहरीमाथि आक्रमण गर्नेहरुको नाम किटानी गरी काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी दिँदा पनि कारबाही नभएको महानगरको गुनासो छ । 

सो समयमा गृहमन्त्री बालकृष्ण खाँण थिए । बालेनले अहिले यसैको बदला लिन खोजेको आरोप छ ।  पछि रवि लामिछाने गृहमन्त्री भएपछि पुनः सुरक्षा पाउने आशाले बालेन नेतृत्वले पत्र पठाएको थियो । 

हाल भूमि आयोगले महानगरलाई लगत संकलन गर्न पत्राचार गरिसकेको छ । तर महानगरले लगत संकलन नगर्ने र भूमि आयोगको कार्यविधि नमान्ने बताएको छ । 

१४ पटक लगत संकलन हुँदा पनि आयोगले सुकुम्बासीको व्यवस्थापन गर्न नसकेको भन्दै महानगर अहिले पनि डोजर चलाउने ‘मुड’मा छ । 

भूमि आयोगले भने महानगरको डोजर एक्सनविरुद्ध आपत्ति जनाउँदै आएको छ ।  पुनः महानगरले डोजर चलाए अप्रिय घटना हुनसक्ने चेतावनी आयोगले दिएको छ । 

अधिकार सम्पन्न वाग्मती सभ्यता, महानगर र आयोगबीच समन्वय नहुँदा सुकुम्बासी समस्या समाधान हुने सम्भावना न्युन देखिएको एक अधिकारी बताउँछन् ।

महानगरले लगत संकलन गरी सुकुम्बासीको प्रमाणित हुने अधिकार सुनिश्चित गर्नुपर्ने आयोगका प्रवक्ता नहेन्द्र खड्काले बताए ।

“महानगरले लगत संकलन गरेर आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ । सुकुम्बासी बस्तीमा जबरजस्त डोजर चलाए उनीहरुको मानव अधिकार, बाँच्न पाउने अधिकार हनन हुन्छ । महानगर स्थानीय सरकार हो । त्यसैले आफ्नो कर्तव्य नबिर्सियोस्,” खड्काले भने । 

डोजर चलाउनुअघि महानगरका मेयर बालेनले बस्ती व्यवस्थापन तथा स्थानान्तरणबारे आयोगलगायत सरोकारवाला निकायसँग समन्वय गरेका थिए । 

तर आयोगले काम नगरेको भन्दै आफैँले गरेको सम्झौता विपरीत डोजर चलाउने कदम चालेका थिए । 

डोजर चलाउने प्रयासपछि पनि महानगरले फेरि सरोकारवाला सबै निकायसँग समन्वय गरेर सुकुम्बासी समस्या समाधान गर्ने निर्णय गरेको थियो । 

तर महानगरले हाल पुनः डोजर चलाउने कदम चाल्नेबाहेक अन्य सहकार्य गर्न तयार देखिँदैन । 

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्राईको पालामा इचंगुनाराण सुकुम्बासी व्यवस्थापनमा लागि अपार्टमेन्ट बनाइएका थिए । 

सो अपार्टमेन्टको केही भवनमा मानवसेवा आश्रम र प्रहरी वृत्त रहेको छ ।  लामो समयदेखि सुकुम्बासी समस्या समाधान गर्न वाग्मती सभ्यताले कर्यौँ पटक प्रयास गरे पनि बस्ती हटाउन सकेन ।  

२०७८ फागुन १६ गते बोर्ड सदस्य वीरेन्द्र थपलियाको संयोजकत्वमा गठित कार्यदलको अध्यनन प्रतिवेदनका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्ला गरी उपत्यकाका खोला किनाराका २७ स्थानमा ३ हजार ४९६ घरधुरी सुकुम्बासी बसेका छन् । 

थापाथलीमा मात्रै १४३ घरधुरी बसेका छन् । २०६३ सालमा वाग्मती करिडोर विस्तारपछि ह्वात्तै किनारामा सुकुम्बासी बस्ती बाक्लिएको हो । 

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने कार्यविधि, ०७८ को बुँदा ६ मा अव्यवस्थित बसोवासीलाई पनि जग्गा उपलब्ध गराउने व्यवस्था छ । 

सो कार्यविधि अनुसार वर्षौँदेखि बसोवास गर्दै आएका, ऐलानी जग्गामा बसोवास गर्दै आएकालाई सुकुम्बासी ठहर गर्ने उल्लेख छ । 

यी सबै विधि प्रक्रिया पु¥याएर मात्रै सुकुम्बासी समस्या समाधान गर्नुपर्ने आयोगको भनाइ छ ।  तर महानगरले कार्यविधि विवादास्पद रहेको बताउँदै आएको छ । 

सुकुम्बासी हटाउने विषयमा छलफल भइरहेको मेयरका प्रमुख स्वकीय सचिव भूपदेव शाहले बताए ।  “तत्काल हामीले कुनै पनि निर्णय गरेका छैनौँ । छलफल भइरहेको छ,” शाहले भने । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १, २०७९  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro