पोखरा । सशस्त्र द्वन्द्वको समयमा कृष्ण धिताल ‘कमरेड विजय’ भनेर चिनिन्थे । उनी माओवादीले सुरु गरेको सशस्त्र युद्धको सुरुआतमा नै जोडिए । पार्टीमा उनको भूमिका लडाकुको थियो ।
धिताल आक्रमणका योजना बनाउँथे । कार्यान्वयनका लागि निर्देशन दिन्थे । व्यवस्थापन र लडाकुलाई राजनीतिक प्रशिक्षण दिनमा उनी खटिए ।
माओवादी राजनीतिमा धितालसँगै सहयात्रा गरेका गण्डकी प्रदेशका विनाविभागीय मन्त्री हरिबहादुर चुमान भन्छन्, ‘हामीहरू कमिसार थियौँ । कमिसारको काम गर्थ्यौँ । राजनीतिक, योजनाको हिसाबले काम गर्थ्यौँ । प्रशिक्षण र वैचारिक हिसाबले कमान्ड गर्थ्यौँ ।”
माओवादी युद्धलाई राजनीतिक र वैचारिक हिसाबले अगाडि बढाएका उनै ‘कमरेड विजय’ उर्फ कृष्ण धिताल गण्डकीको नयाँ सभामुख चुनिएका छन् ।
राजनीतिमा आउनुअघि उनी भेटेरीनरीको काम गर्थे । भेटेरीनरीमा आईएस्सी गरेका धितालले कर्मचारी आन्दोलनमा सक्रिय भएपछि ०४९ मा जागिर गुमाउन पुगे । गोरखाको भीमसेन गाउँपालिका–२ का धिताल ०५२ देखि ‘फुलटाइमर’ माओवादी राजनीतिमा लागेका हुन् ।
राजनीतिमा लागेर उनले आफ्नो परिवारको सदस्य नै गुमाएका छन् । ०५७ पुस ११ गते गोरखामा उनले १७ वर्षीय छोरी गुमाएका थिए ।
धिताल संविधानसभा सदस्य पनि हुन् । ०७० मा समानुपातिक प्रणालीबाट उनी सांसद बनेका थिए । प्रत्यक्षतर्फको निर्वाचनमा पहिलोपटक होमिएका उनी गोरखा क्षेत्र नम्बर–१ ‘क’बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
सत्ता भागबन्डामा गण्डकी सरकारको नेतृत्व नेकपा (एमाले)ले पायो । सभामुख माओवादी केन्द्रको भागमा पर्यो । उनै धिताल शनिबार भएको सभामुखको निर्वाचनमा विजयी भए ।
३२ मत पाएर उनी निर्वाचित हुँदा विपक्षमा २६ मत खसेको थियो । नेपाली कांग्रेसकी उमेदवार सरस्वती अर्याल तिवारीले २६ मत पाएकी हुन् । कांग्रेसका नवलपुर–१ ‘क’बाट निर्वाचित सांसद महेन्द्रध्वज जिसी अनुपस्थित भए । एमालेबाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभाको अध्यक्षता गरेकाले मतदानमा भाग लिएनन् ।
धितालका पक्षमा एमालेका २१, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र सांसद राजीव गुरुङले मतदान गरेका थिए । निर्वाचित भएपछि धितालले भने, “सभामुख निर्वाचत भए पनि धेरै बुझ्न पाएकै छैन । क्रमशः बुझ्दै सिक्दै समृद्ध प्रदेश निर्माणमा भूमिका खेल्नेछु ।”
उनले शनिबार साँझ नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ । संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एकजना महिला हुने गरी गर्नुपर्नेछ र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ । तर, प्रदेशसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उमेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रदेश सभामुख वा प्रदेश उपसभामुख हुन बाधा नपर्ने व्यवस्था छ ।
प्रदेशसभा नियमावली, २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुनेछ । पहिले सभामुखको निर्वाचन भएपछि मात्र उपसभामुखको निर्वाचन हुने व्यवस्था छ ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई, स्वतन्त्र सांसद र प्रमुख प्रतिपक्ष दलका रूपमा रहेको कांग्रेसका २७ सांसद छन् ।