पोखरा । गण्डकी प्रदेशसभा बैठकमा एकैदिन सातवटा नियमापत्ति नभएका पनि होइनन् । सांसदले रोष्टमको माइक उखेल्न खोज्नेदेखि टेबुल उचालेर नफ्याँकेका पनि होइनन् । नाराबाजी पटकपटक नभएका होइनन्, सभामुखले सांसदको भनाइलाई रेकर्डबाट नहटाएका पनि होइनन् । तर, यी सबै घटना प्रदेशसभाको अघिल्लो कार्यकालमा भए, पहिलो कार्यकालमा भए ।
प्रदेशसभाको पहिलो कार्यकाल सकिइसकेको छ । र, दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भएको छ । तर, सुरुआती बैठकमा नै गण्डकी प्रदेशसभाले यो कार्यकाल फरक भएको छनक दिइसकेको छ । सांसदहरुले शपथ लिएपछि शुक्रबार पहिलोपटक रोष्टममा गएर बोले ।
सोमबार मात्रै नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिने कार्यसूची थियो । त्यही कार्यसूचीअनुसार बैठक चल्यो । मुख्यमन्त्री अधिकारीले सुरुमा नै विश्वासको मत मागे । विश्वासको मत माग्दा उनले प्रदेश सरकारका योजनाका फेहरिस्त सुनाए । ती सबै योजना यसअगाडिकै सरकारका निरन्तरता भए पनि त्यसलाई कार्यान्वयन गर्ने उनले प्रदेशसभा सदस्यलाई प्रतिबद्धता जनाउँदै विश्वासको मत मागे ।
विश्वासको मत मागिसकेपछि त्यसलाई छलफल गर्नेक्रममा संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरु बोले । सबैभन्दा सानो दल राप्रपाका संसदीय दलका नेता तथा बिनाविभागीय मन्त्री पञ्चराम गुरुङले भ्रष्टाचारको बारेमा आफ्नै अध्यक्षको भाषा बोले । “भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह हो” भन्ने राप्रपाको सिग्नेचर वाक्यलाई उनले गण्डकीको संसद्मा पनि प्रयोग गरे ।
त्यसपछि उनले मुख्यमन्त्री खगराज अधिकारीको लागि विश्वासको मत मागिदिए । विश्वासको मत माग्दा उनले अधिकारीलाई ‘नेसनल प्लेयर’को संज्ञा दिए । लामो समय संघीय सांसद र मन्त्री बनेका अधिकारी प्रदेशमा झर्दा सहजै सरकारले लिएका लक्ष्य पूरा हुने उनको भनाइ थियो ।
“मलाई एउटा कुरा गर्न मन लाग्यो । यदि नेसनल खेलाडी एउटा गाउँको क्लबमा आएर फुटबल खेल्छ भने त्यो नेसनल गेम खेल्ने खेलाडी एकैजनाको हैसियतले सजिलैसँग विजय प्राप्त गर्न सक्छ,” उनले थपे, “त्यसैले मुख्यमन्त्रीज्यू, राजनीतिको नेसनल खेलाडी, उहाँले संघको धेरै अनुभव बटुलिसक्नुभएको छ, उहाँको अनुभवप्रति म अत्यन्तै गौरवान्वित छु, त्यसकारणले गर्दा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्न उहाँलाई कुनै कमी कमजोरी, समस्या हुनेछैन ।”
कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले संघीयता कार्यान्वयन र प्रदेशलाई समृद्ध बनाउनका लागि सत्तापक्षसँगै रहने बताए । “विकासका सवालमा हामी एक ठाउँमा रहन्छौँ, तर यसलाई सरकारले कसरी ग्रहण गर्छ भन्ने हो,” उनले भने ।
कतिपय कानुनहरु संघ सरकारले नबनाइदिएका कारण असहज भएको भन्दै उनले प्रहरी, निजामती सेवामा यसको प्रत्यक्ष असर परेको भनाइ राखे । उनले भने, “प्रदेश सरकारसँग एउटा लाठी पनि छैन । अर्थात हामीसँग प्रहरी छैन । विगतका पाँच वर्षमा जेजति गर्न सक्नुपथ्र्यो, त्यो हुन सकेको छैन । हामीले संघीयता त ल्यायौँ, यसलाई हामीले भनेजस्तो गर्न नसकेका हौँ नगराउन खोजिएको हो ? म एक्लै बसेर सोच्ने गर्छु ।”
प्रदेश समृद्धिका लागि साथ र सहयोग गर्न आफू तयार रहेको बारम्बार दोहोरÞ्याएका उनले भने, “साथ लिने या नलिने सत्तापक्षको हातमा छ । हात अगाडि बढाउनु, हात मिलाउन तयार छौँ । तपाईंलाई हात मिलाउनु छैन भने हामी पनि त्यसैमा व्यवहार गर्छौँ ।”
कांग्रेसलाई सहकार्य गरेर अगाडि बढाए पाँच वर्ष नै साथ दिने उनले बताए । प्रतिपक्षलाई सँगै लगे, हात बढाए आफूहरूले पनि सहकार्य गर्ने उनले बताए । राजनीतिको फोहोरी खेलमा लागे आफू पनि ‘नेसनल डिफेन्डर’ रहेको उनले उल्लेख गरे ।
“तपाईं पनि नेसनल खेलाडी, म पनि नेसनल डिफेन्डर । गोल त गर्नुहोला, तर फल नखेल्नु होला,” पाण्डेले भने । उनले मन दिने तर मत दिन नसकिने बताए । भविष्यमा देखिने राजनीतिक गतिविधिलाई डिफेन्स गर्न आफू तयार रहेको भन्दै उनले मुख्यमन्त्रीलाई चुनौती पनि दिए ।
मुख्यमन्त्री खगराज अधिकारीले पनि उस्तै शैलीमा जवाफ फर्काए । आफूहरुको उद्देश्य नै समृद्ध प्रदेश बनाउने रहेको हुँदा सत्तापक्ष र प्रतिपक्ष नभएर प्रदेशसभाका सबै सांसदलाई साथ लिएर अगाडि बढ्ने बताए ।
“हामीले लोकसेवालाई कसरी प्रभावकारी बनाउने ? अनेकौँ आयोग र प्रतिष्ठानहरुलाई कसरी प्रभावकारी बनाउने ?,” उनले भने, “साँच्चै देखिने प्रदेश सरकार कसरी बनाउने ? तपाईं हामी सँगै बसेर काम गर्नुपर्ने छ ।”
मुख्यमन्त्री अधिकारीले मन दिएकामा धन्यवाद दिए । “मन भनेको न नाप्न सकिन्छ, न जोख्न सकिन्छ । मनको उचाइ, गोलाइ केही हुँदैन । मन दिनुभएकोमा पनि धन्यवाद छ । मत दिनेबारेमा पनि पुनर्विचार गर्नुहोला,” उनले भने ।
केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब सबै दलको समर्थन पाएको बताउँदै उनले आफूलाई पनि मत दिन आग्रह गरे । पाँच वर्ष नै प्रतिपक्षको साथमा अगाडि बढ्ने उनको प्रतिबद्धता छ ।
“प्रतिपक्षी भनेको वेटिङ गभर्मेन्ट हो, सहकार्य गरेर नै अगाडि जाने हो । सातै प्रदेशमा विश्वासको मत दिने काम गरौँ र गण्डकीबाट यसको सुरुआत गरौँ,” उनले आग्रह गरे ।
प्रदेशको समृद्धिमा पक्ष प्रतिपक्ष नहुने भन्दै उनले दुईवटा हातसहित अंकमाल गर्न तयार रहेको उनले बताए ।
मुख्यमन्त्रीलाई विश्वासको मत
यसबीचमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । ३३ सांसदको समर्थनमा सोमबार गण्डकीको चौथो मुख्यमन्त्री नियुक्त भएका अधिकारीले ३१ मत पाए । मुख्यमन्त्रीमा समर्थन गरेका स्वतन्त्र सांसद (पछि नेकपा एसमा प्रवेश) राजिव गुरुङ (दीपक मनाङे) भने अनुपस्थित भए ।
एमालेबाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बैठक सञ्चालन गरेका कारण उनले मतदान गरेनन् । अधिकारीलाई एमालेका २१, नेकपा (माओवादी केन्द्र) का आठ र राप्रपाका दुई गरी ३१ सांसदले विश्वासको पक्षमा मत दिएका हुन् । नेपाली कांग्रेसका २७ सांसदले भने विपक्षमा मत दिए ।
गत सोमबार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले शुक्रबारको प्रदेशसभामा विश्वासको मत मागेका थिए । धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।