काठमाडौं । काठमाडौं महानगरपालिकाले उल्खनन् गरेको टुकुचाको सुरुङ पुरातात्विक महत्त्वको रहेको निष्कर्ष निकाल्दै पुरातत्त्व विभागले ‘मौलिक स्वरुपमा संरक्षण गर्नुपर्ने’ निष्कर्ष निकालेको छ ।
काठमाडौं महानगरपालिकाले टुकुचामाथि बनेका संरचना भत्काउने अभियान थालेपछि पुरातत्त्व विभागले अनुसन्धान थालेको थियो ।
विभागले गरेको अनुसन्धानका क्रममा कम्तिमा टुकुचा सुरुङ १ सय ३० वर्ष पुरानो रहेको भन्दै ‘मौलिक स्वरुपमा संरक्षण’ गर्न भनेको छ ।
त्यो पनि विभागको समन्वयमा महानगरपालिकाले नै संरक्षण गर्नुपर्ने निष्कर्ष विभागको छ ।
महानगरले डोजर चलाएर टुकुचा उत्खनन् थालेपछि विभागले सुरुङ अध्ययनका लागि पुरातत्वविद् भाष्कर ज्ञवालीको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो ।
महानगरले मेयर बालेन शाहको निर्देशनमा जयनेपाल हल क्षेत्र, लक्ष्मी बैंकदेखि दक्षिण र काठमाडौं प्लाजाको उत्तरतर्फ दुई स्थानमा टुकुचा उत्खनन् गरेको थियो ।
महानगरले स्थानीयले टुकुचा अतिक्रमण गरेकाले खोलालाई खोलाकै रुपमा बग्न दिने भन्दै उत्खनन् कार्य अघि बढाएको थियो ।
तर बालेनको कदमविरुद्ध स्थानीयले उच्च अदालत पाटनमा रिट दायर गरेपछि सो कार्य रोकिएको थियो ।
त्यसयता महानगरले उत्खनन् गरेको क्षेत्र अस्तव्यस्त छ । विभिन्न पक्षले मेयर बालेनले एतिहासिक सम्पदाको अध्यनन र अनुसन्धान नै नगरी टुकुचा उत्खनन् गरिएको भन्दै आलोचनासमेत गरेका थिए ।
सोही क्रममा पुरातत्व विभागले ऐतिहासिक सम्पदा हुनसक्ने भन्दै अनुसन्धान अघि बढाएको थियो । महानगरको टुकुचा उत्खनन् अभियानअन्तर्गत विभिन्न ठाउँमा १२ देखि १५ फिट गहिरो खाल्डो खनेको थियो ।
ढल व्यवस्थापन र टुकुचालाई खुला रुपमा बग्न दिने र खोला अतिक्रमण रोक्ने आफुहरुको योजना रहेको महानगरले बताएको थियो ।
महानगरले टुकुचा उत्खनन् गरेर चार मिटर कायम गर्ने योजना बनाएको थियो ।
महानगरले टुकुचामाथि ५८१ कित्ता जग्गामा घर तथा भवनहरु निर्माण भएको बताएको थियो । त्यसपछि साउन १२ गते महानगरले ३५ दिने सूचना जारी गर्दै टुकुचामाथि बनेका संरचना हटाउन अल्टिमेटम जारी गरेको थियो ।
बाह्रखरीलाई पुरातत्त्व विभागबाट प्राप्त प्रतिवेदनको सारसंक्षेपअनुसार टुकुचा संरचना कम्तिमा १३० वर्ष पुरानो राणाकालमा बनेको साथै ईन्जिनियरिङ्ग दृष्टिले समेत निकै महत्वपूर्ण छ ।
पुरातत्व विभागको समन्वयमा महानगरपालिकाद्वारा मौलिक स्वरुपमा संरक्षण गर्नुपर्ने विभागको सुझाव पनि छ ।
टुकचाको उद्गमस्थल यकिन गर्न मुस्किल
पुरातत्व विभागका अनुसार टुकुचाको उद्गमस्थल यकिन बताउन सकिने आधार छैन । टुकुचा वाग्मतीको सहायक नदी हो ।
काठमाडौको रुद्रमती (धोबिखोला) र विष्णुमतीका बीच भागमा घना बस्तीका बीच भएर बग्ने यस खोलालाई इक्षुमती पनि भनिन्छ ।
उपत्यकाका अन्य नदीनाला जस्तै यस खोलाको उद्गमस्थल पनि शिवपुरी जलाधार क्षेत्र नै हुनसक्ने अनुमान छ ।
टुकचा खोला बूढानिलकण्ठ क्षेत्रबाट नारायणथान, बाँसवारी हुँदै चुनदेवी क्षेत्रमा प्रवेश गर्दै कालमोचन घाटमा गएर वाग्मती नदीमा मिसिएको छ ।
विभागका अनुसार कतिपयले टुकुचा खोला चुनदेवी, गणेश बस्ती, दुसाल, चण्डोललगायतका क्षेत्र आसपासको सीमसार क्षेत्रबाट निस्केको पानीवाट बग्ने एउटा सानो खोला भएको पनि बताउने गरेका छन् ।
हाल टुकुचाको कुल लम्बाई लगभग ६ किमी रहेको अनुमान छ ।
वर्तमान समयमा टुकुचा चुनदेवी, डालदेवी मन्दिर, चिनियाँ दूतावास, नीलसरस्वती, नारायणहिटी दरबार, जयनेपाल सिनेमा हल, तीनधारा मार्ग, बागवजार अद्वैतमार्ग, भृकुटी मण्डप, भद्रकालीस्थित सेनाको मुख्यालय हुँदै कालमोचन घाटमा पुगेर वाग्मती नदीमा मिसिन्छ ।
काठमाडौं विभिन्न वडाहरुमा रहेका चुनदेवी मन्दिर, चुनदेवी परिसरको इक्षेश्वर कुवा, टुँडालदेवी मन्दिर, नील सरस्वती, कमलादी गणेश, कालमोचनघाटस्थित जगहेमहिरण्य मन्दिर टुकुचा खोलाको दायाँ–बायाँमा रहेका महत्वपूर्ण सम्पदा हुन् ।
वीर शमशेरको पालामा बनेको थियो टुकुचा सुरुङ
अध्ययनका क्रममा टुकुचा सुरुङ प्रधानमन्त्री वीर शमशेरको पालामा वा त्यो भन्दै पहिल्यै भएको खुलेको छ ।
श्री ३ वीर अभिलेख अंकित ईटा भेटिएको हुँदा उक्त संरचना कम्तिमा वीर शमशेरको पालाभन्दा अगाडि बनेको वा समकालीन भएको विभागको दाबी छ ।
वीर शमशेरले हालको नारायणहिटी दरबारको दक्षिणमा लालदरबार नामको विशाल दरबार निर्माण गरेको र उक्त दरबारको क्षेत्र टुकुचापारीसम्म फैलिएको विभिन्न ऐतिहासिक कागजातहरुबाट खुलेको छ ।
टुकुचाको दुवैतर्फ दरबार फैलिएको हुँदा सोही समयमा उक्त क्षेत्रमा ईटाको टनेल बनाई टुकुचा खोलाको व्यवस्थापन गरेको देखिन आएको पुरातत्वको ठहर छ ।
जग्गा अधिग्रहण खरिद गरेर बनाइएको थियो संरचना
टुकुचाको विस्तारित परिसर निर्माणका लागि विभिन्न व्यक्तिहरुबाट वीर शमशेरले जग्गा अधिग्रहण खरिद गरेको ऐतिहासिक कागजातबाट खुलेको छ ।
लालदरवार क्षेत्रले ओगटेका अधिकांश जग्गाहरु हाल भिन्न–भिन्न व्यक्ति तथा संस्थाहरुको निजी जग्गाको रुपमा रहेको पाइएको, लालदरबारको मुख्य भागमा भने हाल याक एण्ड यति होटल सञ्चालित छ ।
अहिलेको नारायणहिटीका पूर्वमा अवस्थित पर्खालदेखि वर्तमान तीनधारा मार्गसम्म नै राणाकालको सुरुवातसम्म टुकुचा खोला खुल्ला रुपमा रहेको र त्यसको दायाँबायाँ खेतहरु रहेको अध्ययनबाट खुलेको छ ।
त्यहाँ रहेका बालीविरुवाको क्षतिपूर्ति दिई जग्गा अधिग्रहण गरेको समेत अध्ययनबाट खुलेको छ ।
माआप्पाको गारोबाट बनाइएको थियो ‘अन्डरग्राउण्ड’
वर्तमान नारायणहिटी दरबार संग्रहालयको पूर्वतर्फको पर्खाल नजिकै अर्थात् जय नेपाल हलको प्राङ्गणदेखि करिब ३० मिटर उत्तरतर्फबाट काठमाडौं प्लाजा नजिकै पर्ने तीनधारा मार्गसम्म ४४० मिटर लामो टुकुचा खोलाको भागलाई राणाकालमै ‘अन्डरग्राउण्ड’ गरिएको खुलेको छ ।
‘अन्डरग्राउण्ड’ पारेर खोलाको दुवैतर्फ माआप्पाको गारोमा मास, सरेस, चुना, पिता र सुर्कीजस्ता परम्परागत निर्माण सामाग्रीबाट तयार पारिएको जोडाइ सामग्री प्रयोग गरी माथिपट्टि अर्धगोलाकार स्वरुपमा बनाइएको देखिएको छ ।
चुना सुकीको मोटार प्रयोग गरी संरचना बनाउने परम्पराको सुरुवात राणाकालमा भएको पुरातत्वको निस्कर्ष छ ।
सुरुङको माथिपट्टिको सतहमा श्री ३ वीर अभिलेख अंकित इँटा भेटिएको हुँदा उक्त संरचना कम्तिमा वीरशमशेरको पाला भन्दा अगाडि बनेको वा समकालीन भएको निस्कर्षमा पुरातत्व पुगेको हो ।
काठमाडौं महानगरले जयनेपाल सिनेमा हलको पछाडि टुकुचा खोला खोज्ने सिलसिलामा माथिल्लो भागमा क्षति पुगेको छ ।
जयनेपाल हलको जमिनमा गरिएको थियो विस्तृत अध्ययन
महानगरले टुकुचा उत्खनन् गर्न थालेपछि पुरातत्व विभागले जयनेपाल सिनेमा हल प्राङ्गणमा विस्तृत अध्ययन गरेको थियो ।
अध्ययनका क्रममा सो जग्गा राणा परिवारका विभिन्न व्यक्तिहरुको निजी स्वामित्वमा रहेको पाइएको छ ।
जय नेपालहलको पछाडि पूर्वपट्टिको प्राङ्गणमा काठमाडौं महानगरपालिकाको कार्यालयबाट टुकुचा खोज्ने क्रममा क्षति हुन पुगेको ‘ड्रेनेज’ अवस्थित आगनको माथिल्लो सतहमा करिब ५५ फिट खनिएको थियो ।
‘ड्रेनेज’ को माथिलो सतहको अर्धगोलाकार संरचना २० फिट जति लम्बाइमा क्षति पुग्न जाँदा टुकुचा खोलाको पानीको सतह देखा परेको, खोलाको दुवैतर्फबाट इँटाको मजबुत ८० सेन्टिमिटर चौडा गारो उठाइ अर्धगोलाकार आकारको ‘अर्च’ निकाली खोला छोपिएको पाइएको दुवै गारोको बीचमा खुला ठाउँ २ मिटर ६ सेन्टिमिटर छ ।
‘अर्च’को बटमदेखि खोलाको पिँधसम्म १४० सेन्टिमिटर उचाइ रहेको, ‘ड्रेनेज’ मा २१ गुणा १४५ से.मी २० गुणा १२५ सेन्टिमिटर नापका साधा आकारको माआप्पा चुना सुकीको जोडाइमा प्रयोग गरिएको पाइएको पुरातत्वको अध्ययनमा देखिएको छ ।
‘ड्रेनेज’ मा प्रयोग भएको इँटामा कुनै अभिलेख नभेटिएको विभागले जनाएको छ । ‘ड्रेनेज’ बनाई सकेपछि भित्रपट्टिको पानी बाहिर र बाहिरको पानी भित्र नजाओस् भनेर ‘ड्रेनेज’ को वरिपरि कालो माटोको लेपन लगाइएको पाइएको विभागको अध्ययनले देखाएको छ ।
‘ड्रेनेज’ को माथिल्लो सतहमा पाइएको पर्खालमा श्री ३ वीर अभिलेख अक्ति इँटा भेटिएको छ ।