पोखरा । कास्की १ (क)बाट मुख्यमन्त्री बन्ने अभिलाषाका साथ चुनावमा उत्रिएका खगराज अधिकारी आफूले त चुनाव जिते । तर, प्रदेशभरको मतपरिणाम हेर्दा उनको मुख्यमन्त्री बन्ने अभिलाषा भने पूरा हुने देखिएन । गण्डकीमा एकल सरकार बनाउनको लागि ६० सांसदमध्ये ३१ जनाको साथ चाहिन्थ्यो । तर, उनको दल एमालेले प्रत्यक्षमा १२ सिट मात्र जित्न सक्यो । समानुपातिकबाट १० सिट आउँदा २२ सिटसहित एमाले दोस्रो ठूलो दल बन्न बाध्य भयो ।
एमालेभन्दा अगाडि कांग्रेस पाँच बढी सिटसहित २७ सांसदसहित पहिलो ठूलो दल बन्यो । चुनावी गठबन्धन नै निरन्तरता दिने भनेका कारण एमाले तत्कालै सत्तामा फर्किने छाँट थिएन ।
भनिन्छ, “राजनीति सम्भावनाको खेल हो ।”
केन्द्रमा जसरी पनि प्रधानमन्त्री बन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडान र कुनै हालतमा सत्ता नछाड्ने कांग्रेस सभापति शेरबहादुर देउवाको ढिपीका कारण गठबन्धन फुट्यो र सरकारको लागि नयाँ गठबन्धन बन्न पुग्यो ।
नयाँ गठबन्धन हुँदा प्रचण्ड एमालेको आडमा सात दल मिलाएर प्रधानमन्त्री बने । आलोपालो प्रणालीमा प्रधानमन्त्री लिने भनेर एमालेले प्रचण्डलाई अगाडि बढाएपछि प्रदेशहरुमा पनि सोही प्रभाव पर्यो । फलतः ठूलो दल बनेको कांग्रेस प्रतिपक्षमा पुग्यो भने दोस्रो ठूलो दल एमालेले प्रधानमन्त्री छाड्दा केन्द्रसँगै प्रदेशमा पनि सत्तामा फर्कियो ।
त्यसकै परिणाम गण्डकीको चौथो मुख्यमन्त्री बन्न सफल भए एमाले नेता खगराज अधिकारी । मन्त्रालय चलाएर सत्ताको स्वाद उनले यसअगाडि नै अनुभव गरिसकेका छन् । चाहे स्वास्थ्यमन्त्री बनेर होस् वा १३ दिने गृहमन्त्री बनेर । सिंहदरबार छिरेर राजकाजको भूमिका पाएका खगराज अब गण्डकीको सत्ताको बागडोर सम्हाल्नेछन् ।
कुनैबेला उनले एउटा आत्मकथा लेखेका थिए, ‘माया मारेको मान्छे’ । एमालेको नवौँ अधिवेशनको बखत उक्त पुस्तक लेखिएको थियो । त्यो पुस्तकबारे चर्चा गर्दै उनले भनेका थिए, “हो, मैले चुनाव हार्न तयार भएरै लेखेको हुँ ।”
तर, यो चुनाव भने उनको इच्छाको चुनाव थिएन । उनी संघमा नै चुनाव लड्न चाहन्थे । पार्टीको संगठन विभाग प्रमुखसमेत रहेका अधिकारीलाई पार्टीले भने मुख्यमन्त्री बन्न भनेर प्रदेशमा झारिदियो । जसमा उनी चुनाव लडे र जिते पनि ।
२०५१ देखि निरन्तर चुनावी मैदानमा उत्रिएका खगराजले यसपटक गठबन्धनविरुद्ध बाजी मारेर मुख्यमन्त्रीको शपथ पनि सोमबार लिए । ‘माया मारेको मान्छे’ अहिले भाग्यशाली बनेर गण्डकीको मुख्यमन्त्री बनेका छन् ।
को हुन् खगराज ?
कास्कीमा उनी चुनाव लड्दै गर्दा एमालेकै एक तप्का भने उनलाई हराउन सक्रिय थियो । एमालेमा प्रभाव राख्ने गण्डकीबाट तीन प्रभावशाली व्यक्ति छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्या अर्याल र संगठन विभाग प्रमुख अधिकारी ।
राजनीतिक रुपमा उचाइ लिँदै जाँदा खगराजलाई भने एक्लो पार्ने प्रयास पटकपटक भयोे । कास्कीको महानगरको कमिटी चुनावदेखि जिल्ला र स्थानीय तहको पोखरा महानगरको चुनाव हेर्दा यहाँ ‘खगराज भर्सेस पृथ्वीसुब्बा’ सतहमा देखिएको कुरा ‘ओपन सेक्रेट’ नै छ ।
यसले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि प्रभाव पार्ने देखिन्थ्यो । तर, स्थानीय तहको अन्तर्घात र पार्टी नै कमजोर बनेको स्थितिमा उक्त प्रभाव भने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा त्यति देखिएन । गठबन्धनविरुद्ध लड्दा एमालेले क्षति भोगे पनि पार्टीभित्रको अन्तर्घात भने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा देखिएन ।
दुईपटक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ, सोमबार नै निवर्तमान भएका कृष्णचन्द्र नेपालीपछि प्रदेशसभाको दोस्रो कार्यकालको चौथो मुख्यमन्त्री बन्दै गर्दा अधिकारीको राजनीतिक संघर्ष भने लामो छ ।
उनको जन्मथलो पोखरा ३१ मा २०१५ सालमा कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठ पुगेका थिए । श्रेष्ठ त्यहाँ पुगेको तीन वर्षपछि मात्रै २०१८ साल चैत १३ गते जन्मिएका हुन् अधिकारी । श्रेष्ठ पुगेपछि गाउँमा कम्युनिष्ट प्रभाव बढिसकेको थियो । त्यही सामाजिक परिवेशमा उनको बाल्यकाल बित्यो, त्यो छाप उनमा पनि पर्दै गयो ।
बाबु शेषरमण उपाध्याय र आमा लिलादेवीले कम्युनिष्टको स्कुलिङ उनलाई सानैदेखि गरे । त्यही प्रभावस्वरुप अधिकारी ११ वर्षको उमेरमा आनन्दज्योति माध्यमिक विद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को सभापतिको जिम्मेवारीमा पुगे ।
स्कुले जीवनमा नै राजनीतिक संगठनमा काम गरेका अधिकारीले २०३३ सालमा पुष्पलाल समूहको एरिया कमिटी सदस्य भएर संगठानिक रुपमा आफूलाई अगाडि बढाए ।
२०३६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को कास्की जिल्ला अध्यक्ष भए । २०३७ सालमा पीएन क्याम्पसमा स्ववियू सदस्य भएका अधिकारी २०३८ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य भए ।
२०४० सालमा अनेरास्ववियु उपाध्यक्ष भएका अधिकारीले सोही वर्ष पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापतिमा जित हासिल गरे । दोस्रोपटक २०४२ सालमा फेरि स्ववियू सभापति निर्वाचित हुन पुगे । तर, २०४२ सालमा स्ववियू सभापति हुँदाहुँदै अधिकारीलाई प्रशासनले पक्राउ गर्यो । २०४६ सालसम्म उनले नेपालका विभिन्न स्थानमा जेलजीवन बिताए ।
कास्की, रौतहट, दमौलीलगायतका ठाउँका जेलमा पठाइएका अधिकारी २०४७ सालमा बनेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक केन्द्रीय सदस्य थिए । २०४९ सालमा केन्द्रीय अनुशासन निरीक्षण कमिटी सदस्य भएका अधिकारी २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा कास्की–१ बाट प्रतिनिधिसभामा विजयी भएर संसदीय यात्रा थालेका थिए ।
२०६२–६३ सालमा भएको दोस्रो जनआन्दोलनमा उनलाई पक्राउ गरियो र जेल हालियो । देशमा गणतन्त्र स्थापनापछि अधिकारीले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी सम्हाले । २०७० साल चैत १३ गतेदेखि २०७२ साल असोज २५ गतेसम्म उनी मन्त्रीका रुपमा रहे ।
अधिकारीलाई २०७३ सालमा एमालेले केन्द्रीय सल्लाहकार कमिटीको उपाध्यक्षको जिम्मेवारी दियो । उनी २०७४ सालमा भएको आमनिर्वाचनमा कास्की १ बाट विजयी भए भने सोही कार्यकालमा २०७८ साल जेठ २७ गते नेपाल सरकारको गृहमन्त्री बनेका थिए ।
२०७८ साल मंसिरमा चितवनमा भएको पार्टीको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित अधिकारी एमालेको स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारीमा छन् ।