site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संकटमा सिमेन्ट उद्योग : लगानीकर्ता बाहिरिने मनस्थितिमा, व्यवसाय टिकाउन मर्जरमा जाने तयारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । ‘सोचेअनुसारको फाइदा भएन, कोही लगानीकर्ता भए सिमेन्टमा भएको सेयर बेच्न चाहन्छु ।’ नाम चलेको एक सिमेन्ट उद्योगीले एक वाणिज्य बैंकका प्रमुख कार्यकारीसँग गरेको संवाद हो, यो ।

पछिल्लो दशकमा मागको तुलनामा सिमेन्टमा अत्याधिक लगानी बढेको तर खपत नबढेपछि सिमेन्ट उद्योगमा एकखाले संकटको अवस्था देखिएको छ । सिमेन्ट उद्योगमा देखिएको असर टिप्पर व्यवसायमासमेत परेको छ । विगतका वर्षहरू हेर्दा अहिले खानी सञ्चालन हुने र टिप्परलाई चुनढुंगाको खानीदेखि उद्योगसम्म ढुंगा ओसार गर्ने समय थियो ।

अहिले अवस्था विगतको भन्दा फरक छ । सिजनमा नै कतिपय सिमेन्ट उद्योगको खानी चलेको छैन । यसको असर टिप्पर व्यवसाय परेको छ । पछिल्लो समय पत्रिकामा टिप्परको लिलामीको सूचना प्रकाशित हुनुको पछाडि सिमेन्ट उद्योगमा आएको मन्दीको असर हो । 

नेपालमा वार्षिक एक करोड मेट्रिक टन सिमेन्ट उत्पादनको माग छ । तर, सिमेन्ट उद्योगको उत्पादन क्षमता डेढ करोड मेट्रिक टनभन्दा बढी भइसकेको स्थिति छ । 

अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकसमेत रहेsf नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका सिजनमा नै सिमेन्ट उत्पादन घटेको बताउँछन् । 

“विकास खर्च भएको छैन । बैंकबाट ऋण लिएर घर बनाउने स्थिति छैन,” मुरारकाले भने, “त्यसको असर सिमेन्ट उद्योगमा परेको हो ।”

सिमेन्ट उद्योगको मागमा आएको कमीले योसँग सम्बन्धित क्षेत्रमासमेत प्रभाव परेको छ । टिप्परसँगै खानी सञ्चालन हुँदा सो क्षेत्रमा रहेका होटलदेखि गाडी मर्मत व्यवसायसमेत अहिले ओरालो लागेको छ । 

केही समय अगाडि नेपाल उद्योग परिसंघले गरेको अध्ययनले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिमेन्ट उद्योगमा गत वर्षको तुलनामा ४० प्रतिशतले मागमा कमी आएको देखाएको थियो । कारोबार गत वर्षको पहिलो त्रैमासको तुलनामा ३९ प्रतिशतले घटेको छ ।

सिमेन्ट उद्योगसँगै योसँग सम्बन्धित डन्डी उद्योगमा ६१ प्रतिशतले मागमा कमी आएको थियो । यसको व्यापार गत वर्षको तुलनामा ५३ प्रतिशतले घटेको परिसंघको अध्ययनमा भेटिएको थियो । यस्तै, इन्जिनियरिङ तथा निर्माण उद्योगमा पहिलो त्रैमासमा ४३.४ प्रतिशतले मागमा कमी आएको थियो । कारोबार ४३.७ प्रतिशतले घटेको छ । यस्तै रियल इस्टेट ५२.८ प्रतिशतले मागमा कमी आएको छ भने ४० प्रतिशतले कारोबार घटेको छ । 

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बैंकको ब्याजदर तथा घरजग्गा व्यवसाय ओरालो लागेको र विकास खर्च नहुँदा सिमेन्ट उद्योग समस्यामा परेको बताउँछन् । 

“गत वर्षको तुलनामा ५० प्रतिशतले मागमा कमी आएको छ,” थापाले भने, “अघिल्ला वर्षमा पूर्ण क्षमतामा चल्ने उद्योगले अहिले ५० प्रतिशत क्षमता समेत प्रयोग गरेका छैनन् ।”

उद्योगीहरू सिमेन्टको मागमा आएको कमी तथा बैंकको ऋणको ब्याजदरले सो क्षेत्र नै छाड्ने स्थितिमा समेत पुगेका छन् । उद्योगीहरूका सिमेन्ट उद्योगले अनुसार सबैभन्दा बढी व्यापार तथा नाफा गरेको २०७२ सालको भूकम्पपछि हो । त्यसपछि सिमेन्टमा धेरैजसो ठूला व्यावसायिक घरानाको लगानी बढाए । अहिले ६० भन्दा बढी सिमेन्ट उद्योग सञ्चालनमा छन् । जसमा व्यवसायीको एक खर्बभन्दा बढी लगानी छ । सिमेन्ट उद्योगमा बैंक तथा वित्तीय संस्थाले एक खर्ब २९ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

सिमेन्ट उद्योगमा मागमा कमी आएको र बिक्री घटेको शिवम् सिमेन्टको बिक्रीले समेत देखाएको छ । सेयर बजारमा अहिलेसम्म शिवम् सिमेन्ट मात्र सूचीकृत छ । शिवम् सिमेन्टको वित्तीय विवरणका अनुसार गत वर्ष पहिलो त्रैमासमा दुई अर्ब २० करोड रुपैयाँको सिमेन्ट बिक्री भएकोमा यो वर्ष एक अर्ब ५३ अर्ब रुपैयाँको मात्र बिक्री भएको छ । शिवम् सिमेन्टका अध्यक्ष तथा संस्थापकले सेयर बिक्री गरेको समेत तथ्य बाहिरिएको थियो । धितोपत्र बोर्डले अहिले यसको अनुसन्धान गरिरहेको छ । 

सञ्चालन गर्नका लागि कठिन हुने भएपछि केही सिमेन्ट उद्योगहरूले मर्जको समेत तयारी गरेका छन् । एउटै क्षेत्रमा भएका सिमेन्ट उद्योग मर्जर गर्नका लागि अहिले उद्योगीहरूबीच छलफल चलेको छ । सिमेन्ट उद्योग चलाउनका लागि एउटै क्षेत्रम रहने उद्योगीहरू मर्जर गर्नका लागि छलफलमा जुटेका छन् । 

“उद्योग चलाउन नसक्ने भएपछि मर्जरमा जानेबारे छलफल चलिरहको छ,” एक उद्योगीले भने, “बिक्री नबढ्ने हो भने मर्ज गर्नुको विकल्प छैन ।”

उद्योगी मुरारका पनि व्यवसाय चलाउन मर्जर एउटा विकल्प बन्न सक्ने बताउँछन् । उद्योगको मागमा आएको कमीले पुस मसान्तको किस्ता तिर्न भने कठिन हुने बुझाइ व्यवसायीको छ । उद्योगीहरूले उधारो नउठेको तथा पछिल्लो समय घरजग्गा र सेयर बजार ओरालो लाग्दा डिलरहरू समस्यामा परेको बताउँछन् । त्यसमाथि राष्ट्र बैंकले ल्याएको चालु पुँजीको कर्जाको व्यवस्थाले उद्योग चलाउन मुस्किल परेको बुझाइ उद्योगीको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro