site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
'प्रचण्डले देउवालाई झापड हाने, अलिपछि तोप पड्काउन थाल्छन्'
तस्बिर : सुनिल प्रधान/बाह्रखरी

नेपाली कांग्रेसको स्थानीय चुनावअघिको केन्द्रीय समिति बैठकमा गठबन्धनविरुद्ध सबैभन्दा कडा रूपमा प्रस्तुत भएका नेता थिए– दिनेश कोइराला । कोइराला तिनै नेता हुन्, जसलाई ०७४ को चुनावमा सुरुमा भरतपुर महानगरपालिकाको मेयरको टिकट दिएर पछि खोसिएको थियो । उनी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जुनसुकै अवस्थामा धोका दिन सक्ने भन्दै पार्टी सभापति शेरबहादुर देउवलाई गठबन्धन नगर्न आग्रह गर्दै आएका थिए । त्यसरी मत राख्नेमा कांग्रेसका महामन्त्रीद्वयदेखि देउवापक्षकै कतिपय नेताहरू पनि थिए । तर, गठबन्ध विरोधी मत राख्ने सबैजसो नेताहरू देउवाको निर्णयमा सहमत हुँदै चुनावमा सहभागी भए । कोइराला भने आफ्नो अडानमा अडिग रहे । चितवन क्षेत्र नम्बर–३ बाट स्वतन्त्र उमेदवारी दिए । उनको एजेन्डा थियो– लोकतन्त्र परिवारवाद, धनवाद र डनवादका लागि होइन जनताका लागि हुनुपर्छ ।

चुनाव भने जित्न सकेनन् । तर, उनी कांग्रेसको साधारण सदस्य‍समेत छैनन् । कांग्रेस र माओवादी अलग भएका छन् । सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा पुगेको छ । के उनी कांग्रेसको सदस्यता फिर्ता ल्याउने प्रयासमा छन् ? नेतृत्वप्रति उनको दृष्टिकोण कस्तो छ ? उनी कांग्रेसको भविष्य कस्तो देख्छन् ? यिनै प्रश्नसहित कोइरालासँग बाह्रखरीका रमेश वाग्लेले कुराकानी गरेका छन् । प्रस्तुत छ संवादको सम्पादित अंश :–

पार्टीमा विद्रोह गरेर उमेदवारी दिनुभयो । तर, पराजित हुनभयो । पार्टीबाट निष्कासित हुनुभयो । कुनै पश्चताप छ ?
छैन । मलाई किन पश्चताप हुनु ? मैले राजनीति मेरो पदsf लागि गरेको होइन । राजनीति भनेको विचार हो, दृष्टिकोण हो । मैले एक किसिमको विचार राखेको छु, अडान लिएको छु, त्यसमा म स्पष्ट छु । मेरो विचार सही छ भन्ने मलाई पहिलै लागेको थियो । त्यो अहिले पुष्टि पनि भएको छ । मैले जे कुरा उठाएको थिएँ, नेपालको राजनीति त्यही मोडमा आएको छ । हामिले पाँच वर्ष अगाडिदेखि विरोध गरिरहेका थियौँ । 

Himalayan Bank
Dabur nepal
Agni Group

निर्वाचन परिणामले तपाईंंलाई स्थापित गर्‍यो कि विस्थापित ?
स्थापित वा विस्थापित भन्दा पनि मैले उठाएका विषयले अहिले मूर्त रूप लिएको छ । टिकट वितरणको समयमा समेत जोडका साथ मैले यो विषय उठाएको थिएँ । हिजो मैले उठाएका कुराहरू आज आएर यथार्थमा परिणत भएका छन् । कांग्रेस नेतृत्वले दूरदर्शी भएर हेर्न सकेन ।

अहिले वाम–लोकतान्त्रिक गठबन्धन असफल भयो । कांग्रेस नेतृत्व नै असफल भएको भनिन्छ । तपाईंको धारणा के छ ? 
यो त एकदम स्वाभाविक कुरा थियो । यो हामीले पहिले नै अनुमान गरेको कुरा हो । जसरी अहिलेको राजनीति चलेको छ । त्यो स्वाभाविक रूपमा चलेको छैन । अहिले छलकपटयुक्त राजनीति भइरहेको छ । यहाँ कसले कसलाई कति छल्ने भन्नेमा आधारित राजनीति भएको देखिन्छ । मैले कसबाट कति लाभ वा हानी प्राप्त गर्न सक्छु भन्ने होडबाजी चलेको छ । गठबन्धन बन्ने बेला माओवादीले कांग्रेसबाट फाइदा लिने सोचेको थियो । त्यस्तै कांग्रेसले पनि माओवादीबाट फाइदा लिने सोच नराखेको होइन । 

Global bank

गठबन्धनको विषयमा बैठक बस्दै गर्दा मैले सभापति शेरबहादुर देउवालाई सोधेको थिएँ किन गठबन्धन गर्न लागेको हो भनेर । सभापतिले ‘बहुमत प्राप्त गर्न र सरकार चलाउन' गठबन्धन गरेको भन्नुभयो । कांग्रेसलाई लागिरहेको थियो– माओवादीको प्रयोग गरेर म सरकार चलाउँछु । त्यस्तै, प्रचण्डले कांग्रेसको प्रयोग गरेर म प्रधानमन्त्री हुन्छु भन्ने आकांक्षा राखेका थिए । दुवैमा एक किसिमको होडबाजी थियो । 

त्यसबेलै मैले सभापतीज्यूलाई भनेको थिएँ– नेकपा हिजो एउटै पार्टी थियो । प्रचण्ड कांग्रेससँग मिल्न हाम्रो मायाले आएका होइनन् । प्रधानमन्त्री नपाउँदा पार्टी फुटाएर आउने प्रचण्डले हामीलाई बहुमत ल्याइदिन्छन् ? कांग्रेसलाई ठूलो पार्टी बनाए तपाईंलाई प्रधानमन्त्री बनाइदिन्छन् ? भन्ने सोच राख्नु विवादस्पद छ ।

अहिले आएर प्रचण्डले धोका दिए । प्रचण्डलाई केपी ओलीले बजारमा झापड हान्दिएको भएर उनी कांग्रेससँग मिल्न आएका थिए । प्रचण्डले फेरि त्यस्तै प्रवृति देखाउन सक्छन् भनेर गठबन्धन अगावै मैले स्पष्ट राखिदिएको थिएँ ।  

Dinesh_koirala (2)1672670732.JPG

तपाईंलेजस्तै डा. शेखर कोइराला, गगन थापासहितले गठबन्धनविरुद्ध पार्टीकम आवाज उठाएका थिए । तर, तपाईंबाहेक अरू आफ्नो धारणामा अडिएनन् । तपाईंं मात्रै किन बलिको बोका बन्नुभयो ? 
पटक–पटक मैले भोगेका कुराहरूले मलाई अडिन बाध्य गराइदियो । ०७४ सालको स्थानीय तहको निर्वाचनमा मलाई टिकट दिएर तीन दिन पछाडि खोसियो । तर, पार्टीले एकपटक गल्ती नै गरेपनि पार्टीको निर्णयलाई समर्थन गरेँ । त्यसपछि चितनवन–३ का कांग्रेसलाई हलोमा भोट हाल्न लगाइयो । यसपटकको स्थानीय तहको निर्वाचनमा पनि चितवनमा कांग्रेसलाई दिनुपर्छ भन्ने माग थियो । तर, माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्री रेनुलाई नै भरतपुर महानगरपालिकामा टिकट दिएर बोकेर जिताइयो ।

हिजो सुशील कोइराला कहाँबाट सुरक्षित हुन सक्छन् भन्दा चितवनबाट भनिएको थियो । कांग्रेसका लागि त्यस्तो सुरक्षित थियो, चितवन । स्थानीय चुनाव अगाडि मैले स्पष्ट रूपमा विचार राखेँ, कुनै हालतमा गठबन्धन गर्न हुँदैन भनेर । महानगर कांग्रेसलाई दिनुपर्छ नत्र पछि माओवादीले धोका दिन सक्छ भनेको थिएँ । सो बैठकको माइन्युट हेर्ने हो भने, ‘स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने’ भनेर निर्णय लेखिएको थियो । तर, त्यसलाई टेकेर देशभरि गठबन्धन लादियो । 

चितवनको केसमा सर्वसम्मत के धारणा थियो गठबन्धन नगर्ने । गठबन्धन हुने नै हो भने भरतपुर महानगर नेपाली कांग्रेसले लिने । केन्द्रीय नेताहरूले त्यतिबेला पनि गल्ती गरे । नभएको निर्णय लादिँदा पनि मौन बसे ।

अहिले संघ र प्रदेशको चुनावमा पनि कतै, कुनै माइन्युटमा गठबन्धन गर्ने भन्ने निर्णय भएको होइन । पटक–पटक यस विषयमा आवाजमा उठाउँदा पनि ध्यानाकर्षण नभएपछि, चुपचाप सहने र प्रतिवाद नगरी बस्न सकिनँ । त्यसैले आफ्नो निर्णयमा अडिएको हुँ । केन्द्रले गरेको अपराध र नेताले गरेको अपराध म सहन्न भनेर विद्रोह गरेक हुँ । 

स्थानीय निर्वाचनपछि गठबन्धन गर्नहुन्न भन्ने साथीहरू पनि चुक्नुभयो । स्वार्थमा बाझिनुभयो सबैजना । तर, सभापतिज्यूले हामीलाई हिजो कारबाही गर्नुभयो, आज प्रचण्डले सभापतिज्यू र सिंगो कांग्रेसलाई कारबाही गरिदिनुभएको छ ।

कांग्रेसका लागि चुनाव कत्तिको सफल रह्यो ? सभापति देउवा कति सफल हुनुभयो ?
चुनावको परिणामले होइन पहिले नै सभापतिलाई असफल सावित गरिसकेको थियो– जब माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गर्ने निर्णय भयो । कांग्रेसको निर्णय कांग्रेसको हातमा नहुने, कांग्रेसका नेताहरूले टिकट लिन प्रचण्डसँग धाउनुपर्ने, प्रचण्डको एक किसिमको हस्तक्षेप जब पार्टीमा हुन थाल्यो त्यसै बेलादेखि सभापति असफल हुनुभएको हो । 

मान्छेले अहिले सर्वस्व गुम्यो भन्ने कोणबाट कुरा गर्छन् । तर अहिले गुमेको होइन बरु अहिले ठिक भएको छ । यदि कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाइदिएको भए, कांग्रेस झन् सखाप हुने थियो । अब कांग्रेस बाँच्छ । नेताहरूले आत्मसमीक्षा गर्नुप‍र्‍यो । हिजो हाम्रो निर्णय अदूरदर्शी भएको रहेछ भनेर स्वीकार गर्नुप‍र्‍यो । कांग्रेस एक्लै लड्नुपर्छ भन्ने बुझ्नु प‍र्‍यो ।

Dinesh_koirala (4)1672670732.JPG

अब पार्टी नेतृत्वको भूमिका कस्तो हुनुपर्छ ?
पार्टी सभापतिले नसियत पाइसक्नुभएको छ । सबै नेताहरूले आत्मालोचना गर्नु नै पर्ने देखिन्छ । उहाँले नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्ने देखिएको छ । चुनावमा लिएका जे जस्ता निर्णयहरू थिए, तिनलाई समीक्षा गरेर नयाँ नेतृत्वमा हस्तान्तरण गरिनुपर्छ । तर, उँहाको ‘एक्जिट’ चाहिँ सम्मानजनक हुनुपर्छ ।

उहाँको सम्मानजनक बहिर्गमनको बाटो के हो ?
त्यो त पार्टीले छलफल गरेर निर्णय लिन्छ होला । तर, उहाँले नेतृत्व हस्तान्तरण गर्दिनुपर्छ । उमेरका हिसाबले, समय र उहाँले गरेका निर्णयको अवस्था हेर्दा उहाँले सम्मानजनक निकास खोज्नैपर्छ भन्ने देखिन्छ ।

नेतृत्व परिवर्तन मात्र निकास हो ?
उहाँको नेतृत्व मात्र हैन पार्टीभित्र थुप्रै परिवर्तन आवश्यक परिसकेको छ । सबैले आ–आफ्नो क्षमता हरेर निकास दिँदै कांग्रेस नयाँ तरिकाबाट अगाडि बढाउने आवश्यक छ । 

अहिले विशेष महाधिवेशनको चर्चा पनि चलेको छ नि ? 
यही अवस्थामा म विशेष महाधिवेशन सम्भव देख्दिनँ । त्यति सजिलै नेतृत्व हस्तान्तरण हुन्छ जस्तो मलाई लाग्दैन । तर, सभापतिज्यू आफैँले यस विषयलाई सहज र सरल रूपमा लिएर निकास दिनुपर्ने हुन्छ । 

त्यसैले ‘अर्ली’ महाधिवेशनका लागि तयारी गर्दा राम्रो हुन्छ । यसका लागि पार्टीको पूरै संयन्त्रले सभापतिलाई तयार बनाउनु र आआफ्नो भविष्य खोज्नुपर्छ । 

चितवन कांग्रेसमा गठबन्धनको कस्तो प्रभाव परेको छ ? 
यो केन्द्रीय नेतृत्वको निर्णय क्षमताको प्रभाव चितवनमा नराम्रोसँग देखिएको छ । कांग्रेसको होल्ड भएको चितवनमा कांग्रेस नेता एकपक्षीय ढंगले टिकट बाँडियो । टिकट वितरणमा पारदर्शी प्रक्रिया पनि अपनाइएन । 

कांग्रेसका चारजना केन्द्रीय सदस्य चितवनमा हुँदाहुँदै माओवादीलाई प्राथमिकता दिइयो । त्यही पनि प्रचण्ड त्यहाँबाट भागेर हिँडेपछि पनि एकजना सरकारी अस्पतालमा बसेर आफ्नो प्राइभेट हस्पिटल चलाइरहेका व्यक्तिलाई टिकट दिइयो । यीलगायत यावत् कारणहरूले गर्दा चितवनमा कांग्रेसको पकड फितलो हुँदै गयो । मतदाताहरूको कांग्रेसप्रति वितृष्णा हुँदा कांग्रेसले ११ प्रतिशत मतमात्र पाउने लज्जास्पद अवस्था बनेको छ । 

केन्द्रको नजरमा त्यहाँका कांग्रेसका केन्द्रीय सदस्य टिकट दिनका लागि लायक रहेनछन् ? 
केन्द्रले त्यही गल्ती गरेको हो । युवाहरूमा म थिएँ, अन्जनी श्रेष्ठ हुनुहुन्थ्यो । रामकृष्ण घिमिरे त्यही हुनुहुन्थ्यो । अलिकति सिनियर खोज्दा टेकबहादुर गुरुङ हुनहुन्थ्यो । एक से एक नेताहरू हुँदाहुँदै केन्द्रले देख्न सकेन ।

तपाईं एक्लो विद्रोही हुनु पर्दा कस्तो लागेको छ ? 
हैन म एक्लो थिइनँ । छैन । साथीहरूको सहयोग नभएको भए मैले यतिसम्म पनि गर्न सक्दैन थिएँ । कसैले प्रत्यक्ष सहयोग गर्नुभयो भने कतिजनाले अप्रत्यक्ष रूपमा सहयोग गर्नुभयो । साथीहरूलाई डर पनि थियो ।

त्यहाँ कांग्रेसले जित्ने आधार थियो त ? 
केन्द्रबाट नै गल्ती भइसकेपछि, कांग्रेसका मतदातामा वितृष्णा आइसकेको थियो । त्यसैले घन्टीको लहर आयो । त्यस्तै कांग्रेसको वितृष्णले राप्रपाको पनि लहर देखियो । कांग्रेसको मत विभाजित भएपछि त्यस्तो अवस्था आएको हो । हैन भने त्यहाँ कांग्रेस नै एक नम्बर शक्ति हो । 

Dinesh_koirala (5)1672670730.JPG

तपाईंले कांग्रेसभित्र आफ्नो राजनीतिक भविष्य कस्तो देखिरहनु भएको छ?
राजनीति आफ्नो भविष्यका लागि होइन विचारका लागि गरिन्छ । मैले अघिपनि भनिसकेको छु, मैले राजनीति पदको लागि गरेकै होइन, पदका लागि राजनीति गरेको भए मैले विद्रोह गरेर जोखिम मोल्नुपर्ने नै थिएन । प्रचण्ड र सभापतिको गठबन्धनलाई साथ दिएको भए मेरो पद रहिरहन्थ्यो होला । केन्द्रीय सदस्य यसै पनि थिएँ । मैले पद नपाएको होइन । पद पाउँदा पाउँदै पनि मुलुकलाई सही दिशामा लान राजनीति गरेको हुँ । देश र जनताको हितमा उभिनुपर्छ । 

अहिले जस्तो कसले कसलाई छल्ने भन्ने कुरा राजनीतिमा बढ्दै जाँदा जनता निराश बनेका छन् । हाम्रो राजनीति जनताप्रति उत्तरदायी हुनुप‍र्‍यो, राजनीति व्यक्तिगत फाइदाका लागि नभई आम जनताका लागि गर्नुप‍र्‍यो ।  राजनीति त सेवा हो । अशक्त कमजोर जनताको सवलीकरणका लागि हो । 

त्यसैले म विद्रोहको अभियानमा लाग्दैगर्दा पदका लागि भन्दापनि मुलुकका लागि अगाडि बढिरहेँ । आम जनताको भविष्यको लागि राजनीतिमा लागेको हो र मैले कांग्रेसमा आफ्नो भविश्यको चिन्ता गरिरहेको छैन ।

तपाईं आजको दिनमा त कांग्रेसको साधारण सदस्य पनि हुनुहुन्न । कांग्रेसकै निर्णय कुर्ने कि अरू विकल्प खोज्ने ?
मैले पटक–पटक भनिसकेँ मैले कुनै पदका लागि राजनीति गरेको छैन । अब उहाँहरूले के गर्नुहुन्छ भने उहाँहरूकै निर्णय हो । म मेरो विचारमा अडिएको कारण कारबाहीमा परेँ । तर, उहाँहरू आफैँ स्वार्थका कारण कारबाहीमा पर्नुभएको छ । फेरि सहयोग गरेर आफ्नो पद प्राप्त गर्छु भन्ने स्वार्थ छैन । हाम्रो विधान अनुसार त मलाई कारबाही नै हुँदैन । हाम्रो विधानमा गठबन्धन भन्ने शब्द नै कहाँ छ ? म त कांग्रेसका मतदाताले कांग्रेसमा भोट हाल्न पाउनुपर्छ भनेर विद्रोह गरेर उठेको हुँ । वास्तवमा भन्ने हो भने मलाई कारबाही गर्नै मिल्दैन । 

म कुनै पदमा रहुँला नरहौँला भन्ने फरक कुरा हो तर मैले भनेका कुराहरू अहिले उहाँहरूलाई खड्किनपर्ने हो । मैले लिएको विचार, दृष्टिकोण र अभियान नै मेरो विचारमा मैले बोकेको विचार नै कांग्रेस हो । मेरो भावनालाई कसैले कारबाही गर्न मिल्छ र ?

तपाईंंजस्तै विद्रोह गरेर देशभरि कांग्रेसका बागी उमेदवार बने । केही निर्वाचित भए, केही पराजित । सबै कारबाहीमा छन् । सामूहिक रूपमा आवाज उठाउनेबारे सोच्नुभएको छ ?
मैले पहिला स्थानीय निर्वाचनपछि कारबाहीमा परेकाहरूको सम्बन्धमा सभापतिज्यूलाई भनेको थिएँ– उनीहरूले गल्ती गरेका छैनन् । गल्ती केन्द्रबाट नै भएको हो । अहिले माओवादीको आडमा आफ्ना कार्यकर्तालाई कारबाही गर्नुभएको छ । तर, प्रचण्डले जब दनक दिन्छन्, झापड हान्छन्, त्यसबेला के गर्नुहुन्छ ?

मैले त्यतिबेला नै विद्रोह गर्दै निर्वाचनमा उठेकाहरूलाई कारबाही नगर्न माग गरेको थिएँ । 

हिजो माओवादीलाई भोट हालेन भनेर आफ्ना कार्यकर्तालाई कारबाही गर्न नहुने नै बताएको थिएँ । उहाँहरूको झन सम्मान गर्नुपर्छ । यदि पार्टीलाई सुधारको बाटोमा लानुछ भने । हैन प्रतिशोध साध्ने हो, आफ्ना चाकरहरूको मात्र पार्टी बनाउने हो भने त बेग्लै कुरा ।

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  २०:३३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय