पोखरा । आइतबार बिहानै काठमाडौंबाट पोखरा विमानस्थलमा अवतरण गर्दा नेपाली कांग्रेसका प्रदेश सांसद सुरेन्द्रराज पाण्डेले पार्टीका नेता कार्यकर्ताको न्यानो स्वागत पाए । माला र खादाले ढाकिए । नयाँ प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढिरहँदा पाण्डेले उक्त स्वागत पाएका थिए ।
प्रदेशको सबैभन्दा ठूलो दल बनेको कांग्रेसले मुख्यमन्त्री पाउने चर्चा चलिरहँदा संसदीय दलको नेतामा पाण्डे पनि आकांक्षी थिए र सबैभन्दा बढी सम्भावना पनि उनकै थियो । गोरखा २ (ख) बाट चुनाव लड्दै गर्दा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपालका ४४ औँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाण्डेलाई नै आगामी मुख्यमन्त्रीका रुपमा चिनाएका थिए ।
मुख्यमन्त्रीका आकांक्षी उनी पार्टीभित्रको संसदीय दलको निर्वाचनको माहोल मिलाउन पोखरा आएका थिए । पोखरा विमानस्थलमा अवतरण हुँदै गर्दा बालुवाटारमा भने उनै प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग वान टू वान वार्ता भइरहेको थियो ।
तर, दिउँसो एकाएक वार्ता असफल भयो । राजनीतिक घटनाक्रमले अर्कै मोड लियो । प्रचण्ड प्रधानमन्त्री बने, तर नेकपा (एमाले)सहितको गठबन्धनबाट । प्रचण्ड एउटा गठबन्धन तोडेर अर्को गठबन्धनबाट प्रधानमन्त्री बन्दा मुख्यमन्त्री बन्ने तयारीमा रहेका पाण्डेको भने ‘च्याप्टर क्लोज’ हुन पुग्यो ।
आइतबार बिहान पत्रकार भेटघाट गर्दै पाण्डेले भने, “यो घटना मेरा लागि अनपेक्षित थिएन । तर, पोखराबाट काठमाडौं आउँदा प्लेन त ल्यान्ड भयो, तर राजनीति क्र्यास भयो । म सकुसल अवतरण भएँ, तर म आइपुग्दा राजनीति चाहिँ क्र्यास भयो ।”
अब, गण्डकीमा पनि सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा पुगेको छ । नयाँ समीकरणको आधारमा एमाले, माओवादी र राप्रपासहितको नयाँ गठबन्धनको सरकार बन्ने छ ।
नयाँ बन्ने सरकारलाई गुण र दोषका आधारमा समर्थन गर्ने पाण्डेले बताए । भने, “जसरी राजनीतिक रुप बदलिएको छ, अब गण्डकीमा पनि एमाले नेतृत्वकै सरकार बन्छ होला । हामी प्रतिपक्षमा बसेर गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौँ ।”
राष्ट्रिय राजनीतिमा आइतबार देखिएको घटनाक्रमलाई उनले राजनीतिक दलको नेतृत्वमा नैतिकताको खडेरी परेको संकेत गरे । बदलिँदो राजनीतिक घटनाक्रमबारे चाहिँ उनले आफूले एकदुई दिन अगावै आभास पाइसकेको बताए ।
“जहाँबाट प्रचण्ड चुनाव उठेका थिए, त्यही क्षेत्रको प्रदेशमा म चुनाव लडेको थिएँ । प्रचण्डसँग र उनको सचिवालयमा निरन्तर कुराकानी भइरहन्थ्यो,” उनले भने, “पछिल्लो समय प्रचण्ड र उनी निकटका नेताहरुले गफगाफमा त्यो संकेत दिएका थिए । समग्रमा पार्टीका नेता र नेतृत्वको अनुशासनहीनताले यो परिणाम आयो ।”
हिजोको घटनाले राजनीतिमा विचार, सिद्धान्त र आदर्श स्खलित बनेको उनले टिप्पणी गरे ।
“नेपालको राजनीतिमा केही समयदेखि विचार सिद्धान्त, आदर्श स्खलित बन्दै गएको अवस्था छ । त्यसको कडी हिजोको घटना पनि हो,” उनले भने, “हामीले संविधान बनायौँ, जुन संविधानमार्फत हामीले निर्वाचन प्रणाली अपनाएका छौँ, त्यो प्रणालीबाट एउटै मात्र पार्टीको स्पष्ट बहुमत आउने सम्भावना धेरै कम छ । त्यसलाई एउटा कोलिसन कल्चरमा अगाडि बढाउनुपर्ने थियो । त्यही अनुरुप चाहिँ यी घटनाहरु हिजोको दिनमा चुनावी तालमेल गठबन्धन भएका थिए ।”
गठबन्धनको औचित्यबारे अब टिप्पणी गर्न आवश्यक नरहेको उनले बताए । राजनीतिमा देखिएको नैतिकताको खडेरीका कारण यस्ता घटना बारम्बार दोहोरिने उनले बताए ।
“राजनीतिमा मूल्यमान्यता, नैतिकताको खडेरी पर्दै गएको छ । त्यसले गर्दा यी घटनाक्रमहरु दोहोरिने सम्भावनाहरु नेपाली राजनीतिमा रहिरहेको छ,” उनले भने, “एउटा बृहत्तर उद्धेश्यको लागि भन्दा पनि समग्र राजनीतिक दल र दलको नेतृत्व गरिरहेका केन्द्रीय व्यक्तित्वहरु ट्रयाक बाहिर गइरहेको राजनीतिलाई ट्रयाकमा ल्याउनुभन्दा पनि केवल आफ्नो व्यक्तिगत सत्ता स्वार्थका लागि मात्रै अगाडि बढेको देखिन्छ ।”
चुनावमा जनताले स्थापित दलहरुको विरुद्धमा मनोभावना व्यक्त गरेको, तर त्यसलाई नेतृत्वले भुलेर व्यक्तिकेन्द्रित स्वार्थमा लागेको उनको आरोप छ ।
“स्थापित दलको विकल्पमा जनताले कहिँ न कहिँ आफ्नो मनोभावना व्यक्त गर्न खोजेको देखिन्थ्यो । दलहरुप्रति देखिएको जुन दृष्टिकोण र जस्तो किसिमको अभिमत व्यक्त गरेका छन्, त्यसलाई हेरेर हिजोका घटनाहरु दोहोरिँदैनन्, केवल आफ्नो व्यक्तिगत महत्वाकांक्षा र स्वार्थको लागि मात्रै नेताहरुले आफ्नो ध्यान केन्द्रित गर्नुहुन्न भन्ने मलाई लागेको थियो,” उनले थपे, “तर, हिजोको घटनाले केवल व्यक्तिगत आकांक्षा र पदका लागि मात्रै हामी रहेछौँ भन्ने पुष्टि गरेको छ ।”
नयाँ सरकारबारे चाहिँ तत्काल टिप्पणी गर्न उचित नहुने उनले बताए । संविधान मान्नेदेखि नमान्नेसम्म, राजा फाल्नेदेखि फिर्ता ल्याउनेसम्म एकैठाउँमा उभिएकाले आगामी दिनमा सरकार कसरी अगाडि बढ्छ भन्ने बारेमा हेर्न बाँकी रहेको उनले बताए ।
गण्डकीमा कांग्रेस संसदीय दलको निर्वाचन आगामी बुधबार छ । उक्त निर्वाचनमा सकेसम्म सर्वसम्मत रुपमा नेता चयन गरिने अन्यथा प्रजातान्त्रिक पद्धतिबाट निर्वाचन हुने उनले बताए । दलको नेतामा पाण्डेसहित कास्की २ (ख) बाट चुनाव जितेका विन्दुकुमार थापा, नवलपुरका महेन्द्रध्वज जिसी र स्याङजाका भोजराज अर्याल आकांक्षी छन् ।