
काठमाडौं । ‘जोगाउनु छ कालापानी, बचाउनु छ सुस्ता, जागरुक बनाउनु छ, हामीले नयाँ पुस्ता । वारि फेरियो, हाम्रो पारि फेरियो, एकै रातमा घरगोठ अनि बारी फेरियो ।’
मुलुकको अवस्थालाई चित्रण गर्दै पाँच वर्ष अघि टोलटोलमा घन्किएको यो गीतका शब्दहरू अहिले निर्वाचन नजिकिँदै गर्दा सान्दर्भिक बन्न पुगेका छन् । अहिले जनताका लागि असल नेतृत्व छान्ने सुनौलो अवसर आएको छ । गीतले भनेजस्तै मुलुकको मुहार फेर्न नयाँ र सक्षम अनुहारलाई नेतृत्व तहमा पुर्याउने एउटा अभियान नै चलेको देखिन्छ ।
यही अभियानमा जोडतोडका साथ लागेका छन्, काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत तारकेश्वरमा पर्ने काभ्रेस्थली क्षेत्रका मतदाता ।
काठमाडौंको काखैमा रहेर पनि केही वर्षअघिको माथिल्लो काभ्रेस्थली 'बत्तीमुनिको अँध्यारो'जस्तै थियो । काभ्रेस्थली बसपार्कमाथि २ नम्बर वडावासीको कथाव्यथा छुट्टै थियो । सानो कच्ची सडकको भर स्थानीयले उत्पादन गरेका तरकारी बजारसम्म ल्याउनै हम्मेहम्मे । भौगोलिक हिसाबले दुई नम्बर वडा छुट्टै संसारजस्तो ।
पाँच वर्षअघिको निर्वाचनमा न कोही सरकारी अधिकारी भोट हाल्न सिकाउन आए, न कुनै नेता घर घरमा भोट माग्न नै । नगदेबाली उत्पादनको उर्बर भूमि काभ्रेस्थलीलाई चक्रपथसँग जोड्न निकै पहल गरियो । जब स्मार्ट सिटीअन्तरगर्त २०७२ सालपछि बालाजु अष्टनारायण हलदेखि ठाँटी पिपलबोटसम्म कालोपत्रे सडक बन्यो, काभ्रेस्थलीवासीलाई ठुलो राहत महसुस भयो ।
गाउँ छिर्ने बाटोहरू केही सहज हुँदै गए । लामिछानेगाउँमा ढलान सडक पुग्यो, स्थानीय उत्पादन बजारसम्म आइपुगे, स्कुल कलेज पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता टरेर गयो । खानेपानीका ट्यांकीहरू बने स्थानीयको दैनिकी फेरियो । पाँच वर्ष बित्यो । फेरि अर्को निर्वाचन आयो । तर उही पुरानै दल, पुरानै एजेन्डा ।
काभ्रेस्थलीका बजार क्षेत्रमा दलका उमेदवार भोट माग्न नपुगेका होइनन्, आमसभामा भेला गर्दै मतदातालाई आफ्ना प्रतिबद्धता नसुनाएका पनि होइनन् ।
तर, काभ्रेस्थलीवासी प्रश्न गर्छन्– खै नयाँ एजेन्डा ? खै परिवर्तनकारी सोच ? खै विकासका योजना ? हामीले कति वर्षसम्म पुरानै एजेन्डा पत्याइरहनुपर्ने ? कतिपटक पुरानै दलहरूलाई जिताइरहनुपर्ने ?
तारकेश्वर–२ काभ्रेस्थली २ का स्थानीय चेतनाथ फुयाँल भन्छन्, "अब हामी पानीमा पात बगाएजस्तो भोट बगाउने पक्षमा छैनौँ, नयाँ नेतृत्वमार्फत परिवर्तन चाहान्छौँ ।
काभ्रेस्थलीमा चिल्ला सडक बने, बस्ती विस्तार भयो । तर धेरैको चेतनास्तर फेरिएको छैन ।
“सर्पहरूलाई जति दुध पिलाएपनि हामीलाई नै ठुँग्ने र विष ओकल्ने हुन् । जनतामा अलिकति पनि चेत आइसकेको भए अब यी सर्पहरूलाई दुधले पोस्ने काम गर्नु हुँदैन । कमसेकम हामी यो कुरामा सचेत छौँ,” स्थानीय शिवराम लामिछानेले आक्रोश पोखे ।
काभ्रेस्थली–२ कै स्थानीय विमला भण्डारी यसपालि पाँचौपटक मतदान गर्दै छिन् । तर, उनी पुराना अनुहारदेखि निराश छिन् । उनी प्रश्न गर्छिन्– अझै कहिलेसम्म हाम्रो शीरमा यिनीहरूलाई टेक्न दिइरहने ?
उनी परिवर्तन एकैपटक नहुनेबारे जानकार छिन् । तर, सुरुवात भने हुनुपर्ने उनको भनाइ छ ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि दलहरूका घोषणापत्रमा समेटिएका प्रतिबद्धताअनुसारको काम नहुनु, उमेदवारले भोट माग्न जाँदा गरेका वाचा जितेपछि पूरा नगर्नु र नागरिकका आधारभूत आवश्यकतालाई समेत सम्बोधन नगर्ने प्रवृतिले मतदातामा पुराना दलहरूप्रति वितृष्णा बढ्दै गएको काभ्रेस्थलीवासीको भनाइबाट प्रष्ट हुन्छ ।
त्यसमाथि विना अध्ययन, विना समन्वय पुरानै एजेन्डा लिएर मतदातासामु पुग्ने गरेकाले पनि जनतामा परिवर्तनका लागि विद्रोह पलाएको काभ्रेस्थलीवासीको अभिव्यक्तिले झल्काउँछ । त्यसैले पनि आगामी विर्नाचनमा अपेक्षाकृत मत पाउन जसरी गाउँ फेरियो, सहर फेरियो, मतदाताको मनस्थिति र विचार फेरियो । त्यसरी नै दलहरूले पनि आफ्ना पुराना प्रवृति फेर्न जरुरी देखिन्छ