site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दोहोरो जुधाइमा डा. तोसिमा : छाडेकी छैनन् संघर्ष

काठमाडौं । बिहीबार बिहान ललितपुरको चुनिखेल पुग्दा धुलाम्मे सडकछेका स्थानीयसँग भलाकुसारी गरिरहेकी भेटिइन्, डा. तोसिमा कार्की । उनी एक वृद्धसँग विनम्रताका साथ मत माग्दै थिइन् । 

"म हजुरहरूकै छोरी । आउँदो चुनावमा सांसदका लागि उठेकी छु । यसपालिको एउटा भोट घण्टीमा हालिदिनुस् है बुबा," उनले ६८ वर्षीय घनश्याम खत्रीलाई भनिन् । 

खत्री भने निराश देखिन्थे । आफूले मतदान गरेर जितेका कुनै पनि उमेदवारबाट उनी सन्तुष्ट देखिएनन् ।

तोसिमासमक्ष उनी भन्दै थिए, "यतिका उमेर भैसक्यो, ढाड कुप्रिएर उठाउन नसकिने भएको छ । जसलाई जति भोट हाले पनि के भयो र खै ?"

खत्रीले बोलिरहँदा डा. तोसिमाका हातले उनका ढाड सुम्सुम्याइरहेका थिए । उनी खत्रीलाई चिकित्सकीय सल्लाह दिन थालिन्, "धेरै निहुरिएर काम नगर्नु बुबा । तपाईंलाई भित्री समस्या छ जस्तो त लाग्दैन ।"

तोसिमाले प्रेमपूर्वक दिएको सुझावपछि खत्रीको अनुहारमा राहत महसुसको भाव देखिन्थ्यो ।

Tosima Karki (6)1668138355.jpg

घण्टी बजाउँदै घरदैलोमा पुगेको टोलीको बीचमा रहेकी तोसिमालाई चुनिखेलकै अर्की एक वृद्धाले परैबाट ठम्याइन् । तोसिमाको सम्बोधन फर्काउन नपाउँदै ती वृद्धा हतारमा बोलिन्, "चिन्छु नानी, तिम्रोबारेमा धेरै सुनेकी छु । हेर त यसपालि १० मुरी धान फल्ने खेतमा ६ मुरी फल्यो । न असारमा धान रोप्नेबेला मल पाइयो, न पानी लाउने बेलामा कुलो आयो ।"

यति भनेर वृद्धा रोकिइन् । एकछिन् माहोल शान्त बनेपछि उनी फेरि बोलिन्, "हाम्रो भोट त सित्तैँ भयो ।"

ती वृद्धाको अनुहारमा निराशा देखिन्थ्यो ।

डा. तोसिमाले वृद्धाको हात समाउँदै भनिन्, "बुझेकी छु आमा । यही ठाउँकी छोरी हुँ, मैले हजुरहरूको समस्या देखेकी छैन र ?"

यति तोसिमाको प्रचार टोली त्यो घरबाट निस्कियो ।

Tosima Karki (5)1668138353.jpg

सर्जनदेखि राजनितिसम्मको यात्रा 

पेसाले जनरल सर्जन डा. तोसिमा कार्कीले विद्यार्थी जीवनदेखि नै आफ्ना ठाउँका समस्यादेखि देशको बेथिति बुझ्ने मौका पाइन् । ललितपुरको नख्खुमा हुर्किएकी उनले मेडिकल विद्यार्थीको हैसियतले चिकित्सा क्षेत्रमा हुने गरेका लुट र अनियमितताका घटना देखिन् । 

डा. गोविन्द केसी किन पटकपटक सडकबाट स्वास्थ्य क्षेत्र सुधारका लागि भनेर सत्याग्रह बस्छन् भन्ने नजिकबाट नियाल्न थालिन् । ग्रामीण क्षेत्रमा उपचारको अभावमा नागरिकले अकालमा ज्यान गुमाइरहेको थाहा पाइन् । चिकित्सा शिक्षाको चर्को शुल्कको विरोधमा सडकमा उत्रिएका विद्यार्थीलाई देखिन् ।

यस्ता तमाम समस्या देख्दा उनलाई लाग्न थाल्यो– कतै नीतिगत तहमा इमान्दार मान्छे नहुँदा त नागरिकले सास्ती भोगिरहेका छैनन् ? जनरल सर्जन भएर हरेक बिरामीको शल्यक्रिया गरिरहँदा उनलाई लागिरह्यो– नेपाली राजनीतिमा 'ट्युमर'को समस्या छ । जसको जरैदेखि शल्यक्रिया आवश्यक छ । 

२०७८ सालमा नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा निर्वाचित भएसँगै राजनीतिमा छिरेर समस्याको 'शल्यक्रिया' गर्ने उनको अठोटमा हौसला थपिन्छ । अनि सुरु हुन्छ, 'स्वस्थ नेपाली, सुखी नेपाली' नाराका साथ डा. तोसिमाको राजनीतिक यात्रा । 

Tosima Karki (3)1668138352.jpg

निर्वाचन आयोगको 'अन्याय' 
आफ्नै ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिन डा. तोसिमाले पाटन अस्पतालको जनरल सर्जन पदबाट राजीनामा दिइन् ।

उनी मेडिकल काउन्सिलको निर्वाचित सदस्य । लाभको पदमा रहेर उमेदवार हुन नपाउने नियम भएकाले उनले उमेदवारी दिन आफूले राजीनामा दिनुपर्ने वा नपर्ने भनेर निर्क्यौल गरिदिन भन्दै भदौ २८ मा निर्वाचन आयोगलाई पत्र पठाइन् । तर, आयोगबाट कुनै जवाफ आउँदैन ।

आयोगबाट लामो समयसम्म कुनै जवाफ नआएपछि उनले काउन्सिलको सदस्यबाट राजीनामा नदिई राष्ट्रिय स्वतन्त्र पार्टी उमेदवारीबाट उमेदवारी दिइन् । असोज २३ गते उमेदवारी दर्ता गराएकी उनलाई निर्वाचन आयोगले कुनै कैफियत नदेखाएर असोज २५ गते उमेदवारको सूचीमा राख्यो ।

त्यसपछि उनी चुनावी अभियानमा लागिन् ।

तर कात्तिक ३ गते उनीविरुद्ध लाभको पदमा रहेर उमेदवारी दिएकाले उमेदवारीको खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी पर्छ ।  त्यसको १० दिनपछि आयोगले डा. तोसिमाको उमेदवारी खारेजीको निर्णय गर्यो ।

आयोगको निर्णयविरुद्ध उनी सर्वोच्च अदालत पुगिन् । सर्वोच्चले आयोगलाई उमेदवारी खारेजीको निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै कात्तिक १५ गते अन्तरिम आदेश दिएको थियो ।

तर, निर्वाचन आयोगले आफूविरुद्ध आएको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमा निवेदन दिएको छ । अहिले यो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

डा. तोसिमा भने घरदैलो अभियानमा व्यस्त छिन् । 

Tosima Karki (2)1668138350.jpg

'राजनीतिमा यतिसम्म खुट्टा तानिन्छ भन्ने लागेको थिएन' 

एक स्वास्थयकर्मीदेखि प्रतिनिधिसभा उमेदवारसम्मको यात्रामा धेरै हन्डर खाइसकेकी डा. तोसिमालाई अहिले ललितपुरवासीको सहानुभूति र आशीर्वाद मात्रै होइन बलियो साथ समेत मिलेको छ । उनी आफ्नो खुट्टा तान्ने प्रयास भएको बताउँछिन् । 

"राजनीति फोहोरी खेल हो भन्ने थाहा थियो । यसलाई चिरफार गर्नुपर्छ भन्ने आँट थियो । तर निर्वाचन आयोगजस्तो जिम्मेवार निकायले यतिसम्म खेल खेल्ला भन्ने कल्पना पनि थिएन । तर आयोगले यतिसम्म अन्याय गर्दा म लुरुक्क पर्दै हारेर फर्किइनँ । आफ्नो कदमबाट पछाडि हटिनँ र बरु मतदातामाझ झनै चिनिएँ । अनि बल्ल थाहा भयो वर्षौंदेखि नागरिकले त विकल्प पो पर्खिरहेका रहेछन् ।"

कार्की अहिले दोहोरो जुधाइमा परेको उनीसँगै चुनावी अभियानमा खटिएका नै बताउँछन् । एकातिर आयोग र अर्कोतिर ठूला दलका उमेदवारसँग जुध्दै अघि बढ्नुपरेको उनी निकटहरू नै बताउँछन् ।

केही तस्बिरहरू : तोसिमा कार्की फ्यानपेजबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro