
काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका ४ माथिल्लो नल्लुकी टुकुमाया तामाङ आइतबार दिउँसो घरछेउकै सानो पाइपबाट आएको तिर्तिरे पानी थाप्दै गरेको भेटिइन् ।
बिहान एकैछिन आउने पानीले खान, सरसफाइ र गाइवस्तुलाई खुवाउन पुग्दैन । दिउँसो धाराबाट अलिअलि झर्ने पानी जम्मा गर्न ट्यांकी छैन । श्रीमान दिनभर मजदुरी गर्न हिँड्छन्, सुकुमायालाई दिनभरी घर र धारो कुर्दै ठिक्क । कहिलेकसो त एक घण्टा हिँडेर डोलको मुलमा पुगेर पानी बोक्नुपर्छ ।
ललितपुर–हेटौँडा जोड्ने पुरानो बाटोसँगै जोडिएको यो तामाङ बस्तीमा खानेपानीको समस्या अहिलेको मात्रै होइन २५ वर्ष पुरानो हो ।
“चुनाव आउँदै छ नि, थाहा पाउनु भएको छ ?”
यो प्रश्नमा टुकुमाया आफ्नै लवजमा प्रतिप्रश्न गर्छिन्, “साँच्चै सुन्नु त सुनेको, कति गते चैँ हो ओइ ?”
यसअघिको प्रतिनिधिसभा र पछिल्लो स्थनीयतह गरी दुईपटक मात्रै मतदान गरेकी उनलाई श्रीमान र गाउँलेले भोट हाल्न मात्रै सिकाएनन्, भोट हाल्नुपर्ने चिन्ह पनि कण्ठ गरेर पठाए । पहलोपटक आफूले भोट हालेको नेताले जित्यो रे भन्ने सुनिन् ।
दोस्रोपटक झन् उत्साह बढ्यो । स्थानीय तहमा सिकाएकै चिन्हमा भोट हालिन्, जित्यो रे भन्ने खबर आयो । अब घरमा पाइपभरि पानी आउला कुच्चिएको गाग्री र बुढेसकाल लागेको कम्मरले दुख नपाउला भन्ने ठूलो आश थियो । पाँच वर्षपछि फेरि चुनाव आयो, तर टुकुमायाको धारोमा पानी आएन ।
४४ वर्षीया टुकुमाया भन्छिन्, “मैले भोट हालेको अनि जितेको भनेको नेता कस्तो होला ? अनुहार चिन्न मन छ । अहिले पनि भोट माग्न आए त यही धारामा पानी थापेर पिउन लगाउँथे अनि बुझ्थे कि हाम्रो दुःख...”
कोन्ज्योसमकै ५ नम्बर वडाका श्याम गोलेको घर ललितपुर हेटौँडा जोड्ने पुरानो बाटो छोडेर कच्ची सडकबाट करिब १० मिनेटको दूरीमा छ । यसपटक कुनै उमेदवार उनको घरमा भोट माग्दै आइपुगेका छैनन्, न गोले आफैँ कुनै कार्यक्रम, सभा, जुलुसमा नै जान्छन् । झन्डै १० पटक भोट हालेको सम्झिने ६८ वर्षीय श्यामलाई आउँदै गरेको चुनावबारे कुनै चासो छैन । त्यसो त गोले निर्वाचन, सरकार, योजना, विकासबारे जानकार नभएका होइनन्, समाचार सुन्छन् । देशको अवस्थाबारे राम्रैसँग थाहा छ ।
“भोट त दिनुहुन्छ होला नि ?”
जवाफमा गोले भन्छन्, “आफ्नो मत अधिकारको प्रयोग गर्ने हो । तर, कसले जित्ला, कसले हार्लासँग केही सरोकार छैन । अहिलेसम्म जितेकाले के नै गरे र ? मैले थाहा पाउँदादेखि यो बाटो पिच भएको छैन । बाली लगायो, न मल पाइन्छ, न बेच्न लाने बजार नै नजिक छ ।”
काठमाडौं–हेटौँडा जोड्ने कान्ति लोकपथमा पर्ने तीनपाने भञ्ज्याङबाट कोन्ज्योसम र वाग्मती गाउँपालिका छुटिन्छ । तीनपानेबाट तल देखिने खोर्साने, भैँसेलगायतका गाउँ यतिखेर तोरी र फापरले ढपक्कै छन् । रंगीचंगी जस्ताको छानो र चिटिक्क पहाडी शैलीका घर देखेरै ओर्लिन मन लाग्छ, वाग्मती गाउँपालिका ३ मा पर्ने भैँसे गाउँ ।
तर, सातदोबाटोबाट २० किलोमिटर नकट्दै पुगिने यो पहाडी गाउँ जति आकर्षक छ, पुग्ने बाटो त्यति नै अप्ठ्यारो । कान्ति लोकपथकै झाँक्रीडाँडा र छपेलीबाट पनि बाटो जोडिएको छ । तर, सहज होइन, कच्ची । भर्खरै ढुंगा निकाललिएको पहरोजस्तो अनि सँघुरो ।
गाउँको पुछारमा ठूलो हाइस्कुल छ, तर स्कुल पुग्न निकै कठिन । आसपासमा उच्च माविसम्म पढाइ हुने अरु विद्यालय नहुँदा तीनपानेदेखिका विद्यार्थी करिब तीन घण्टा नै लगाएर पुग्दा रहेछन् वाग्मती गाउँपालिका ३ मा रहेको महाकाली उच्च माविमा । भैँसेका स्थानीय तथा सोही स्कुलका एक शिक्षक भन्छन्, “हामीले २५ वर्षअघि पनि यही स्कुल पढ्यौँ । त्यतिबेला मोटरबाटो थिएन, हिँडेरै आउनेजाने गथ्र्यौँ । अहिले हाम्रा छोराछोरीलाई दुःख नहोस् भनेर सहरतिरै राखेर पढाएका छौँ ।”
भैँसे गाउँमा अहिले भोट माग्दै न कुनै उमेदवार पुगेका छन्, न बाटो हेर्न कुनै सरकारी निकाय नै । स्थानीय तह बनेपछि चारपांग्रे गाडीसम्म चल्ने गरीको बाटो बनेको छ । तर, वर्षायाममा कहाँ पुगेर कतिबेला फसिन्छ, टुंगो हुँदैन ।
“हुनेखानेले त छोराछोरी सहरमा राखेर पढाएका छन् तर हाम्रा छोराछोरी बिहान बेलुका तीन घण्टा धाएर यही स्कुल पढाउनुपरेको छ,” स्थानीय राजन तामाङ भावुक हुँदै गुनासो गर्छन्, “खोइ नजिकै स्कुल ? खोइ सजिलो बाटो ? पढ्न पाउने अधिकार हामी गरीबका छोराछोरीको चाहिँ होइन र ? भोट माग्दा दिएको आश्वासन यतै भुलिजान्छन्् क्यारे नेताहरु पनि...”
भैँसेका स्थानीय यज्ञ सापकोटा भन्छन्, “यहाँबाट जितेर जाने नेता फेरिएझैँ योजना फेरिन्छ, बजेट फेरिन्छ । तर, सडक फेरिएन । यो समस्या हाम्रा लागि काँडाजस्तै बिझिरहन्छ । २१ दिनसम्म श्रमदान गरेर यतिको बाटो त खन्यौँ, तर अझै सजिलो भएको छैन ।”
दक्षिणी ललितपुरको अधिकांश पहाडी गाउँहरु यस्तै कथाव्यथा बोकेका, विकासका हिसाबले निकै पछि पारिएका छन् । यिनै ग्रामीण क्षेत्रका समस्यालाई आफ्ना चुनावी एजेण्डा बनाएर पटकपटक नेताहरुले चुनाव पनि जिते । तर, टुकुमायाले भनेझैँ आफूले भोट दिएका नेताले जितेको खबर आयो, विकास आएन । न जित्नेहरु नै गाउँमा फर्किएर आए । बरु पुरानै आश्वासन बाँडेर एउटै परिवारका तीनपुस्तेले नागरिकलाई भोट बैंकको रुपमा प्रयोग गरे, अझै गरिरहेकै छन् ।
ललितपुर क्षेत्र नम्बर १ अन्तर्गत गोदावरी नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १३ तथा कोन्ज्योसोम गाउँपालिका, वाग्मती गाउँपालिका र महाँकाल गाउँपालिका पर्छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा यो क्षेत्रबाट प्रमुख दलहरुले पुरानै उमेदवारलाई प्रतिस्पर्धी बनाएका छन् ।
दलगत र स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्यका लागि मात्रै २१ जना उमेदवार चुनावी मैदानमा छन् । यीमध्ये नेकपा (एमाले) र नेपाली कांग्रेसले पुरानै उमेदवारलाई स्थान दिएका छन् भने अन्य नौजना विभिन्न दलबाट र १० जना स्वतन्त्र प्रतिस्पर्धा गर्दैछन् ।
ललितपुर क्षेत्र नं. १ संघीय राजधानीको आसपासमै भए पनि यो क्षेत्रमा पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विषय वर्षौँदेखिका समस्या भएकाले आफूले यिनै एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएको बताउँछन्, गठबन्धनका तर्फबाट कांग्रेसका उमेदवार उदयशमशेर राणा । यता एमालेतर्फका उमेदवार तथा ०७४ को निर्वाचनमा यस क्षेत्रका विजेता नवराज सिलवाल आफ्ना पुराना योजनाहरुलाई निरन्तरता दिँदै थप १० संकल्प लिएर निर्वाचनमा होमिएका छन् ।
चुनावअघिको माहोल हेर्दा निर्वाचन जितेपछि नेताहरु गाउँ नफर्किने प्रवृत्तिले नागरिकमा निराशा जगाएको देखिन्छ । पटकपटक एउटै दललाई जिताएर पठाए पनि आफ्नो जीवनस्तरमा परिवर्तन देख्न नपाएका कारण भोट नहाले पनि हुन्छ भन्ने बुझाइ पनि धेरै नागरिकमा देखियो ।
नीतिगत तहमा पुगेका नेताहरुले जितेर पनि मतदाताका आधारभूत आवश्यकतासमेत पूरा नगरेकै कारण अहिले नयाँ उमेदवारलाई समेत यो क्षेत्रमा नागरिकसँग फेस गर्नै गाह्रो भएको तर्क गर्छन् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उमेदवार डा. सचिन घिमिरे । वर्षैँदेखि परिवर्तनको पर्खाइमा बसेका नागरिकको मन जित्न भोट माग्ने बेला मात्रै होइन, आफूले गरेका बाचा पूरा गर्न पनि मतदाताका घरदैलो टेक्नुपर्ने उनी बताउँछन् ।