काठमाडौं । पूर्व नेसनल च्याम्पियन बद्रीलाल नेपालीले सोमबार पाँचौँ संस्करणको नेसनल भेट्रान चेस च्याम्पियनसिपको उपाधि जितेका छन् ।
पाँचौँ चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेटमास्टर नवीन तण्डुकारलाई छैटौँ चरणमा हराउन सफल भएका बद्रीलालले सातौँ चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा निकालेका थिए । तीनपटकका नेसनल च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर समुहमा यो पहिलो उपाधि हो । समग्रमा ५.५ अंक जोडेका बद्रीलाल बुकोल्स टाईब्रेकरका आधारमा च्याम्पियन बन्दै ५० हजार रुपैयाँ नगद समेत प्राप्त गरे ।
नेपाल बुद्धिचाल संघको आयोजनामा सम्पन्न च्याम्पियनशीपमा समान ५.५ अंक बनाएका फिडेमास्टर विलमलाल श्रेष्ठ तथा पुण्यमान कर्माचार्य क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहन सफल भए । पूर्व नेसनल च्याम्पियन विलमलालले छैटौँ चरणमा रूपन्देहीका विजय गुरुङ र सातौँ चरणमा नवीन तण्डुकारलाई पराजित गर्दै ३० हजार रुपैयाँ नगद हात पारेका हुन् ।
त्यसैगरी अर्का नेसनल च्याम्पियन पुण्यमानले छैटौँ चरणमा मोरङका भरत धिमाल र सातौँ चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराए । तेस्रो स्थानमा रहेका उनले २० हजार नगद प्राप्त गरे । पूर्व नेसनल च्याम्पियन नवीन तण्डुकारले चौथो स्थानमा रहँदै १५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे । भक्तपुरका बलराम नापित पाचौँ स्थानमा रहँदै १० हजार रुपैयाँ नगद पुरस्कार पाउन सफल भए ।