काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयमित भएर काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको बेला निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएकाले सोही अनुसारको बोली, बचन र व्यवहार हुनुपर्ने बताए ।
निर्वाचन आयोगको सानो गल्तीले पनि आगोको झिल्कोझैँ सल्किन सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने उनको भनाइ थियो । ललितपुरमा आयोजित ‘निर्वाचन आयोगको अभिभारा’ विषयक अन्तरक्रियामा बोल्दै उनले आफ्नो कारणले निर्वाचनको वातावरण भत्किन नपाओस् भनेर आयोगले गहिरोसँग विचार गर्नुपर्ने स्पष्ट पारे ।
“निर्वाचनमा अफ्ठ्यारो पार्ने इलामेन्टसहरु धेरै छन् । हाम्रो आफ्नै बोली, बचन र व्यवहारबाट त्यो परिस्थिति नआओस् । यतिखेर असाध्यै संवेदनशील हुनुपर्छ किनभने सानो एउटा झिल्को भयो भने डढेलो लाग्छ,” पोखरेलले भने, “हाम्रो बोलाइमा संयमता, सबभन्दा ठूलो यतिखेर आयोगको शक्ति भनेको संयमता हो । हामीले संयमता कायम गर्दै हाम्रो आफ्नै कारणबाट अरु भत्किन नपाओस् भन्नेमा विचार गर्नुपर्छ ।”
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले आयोगको ध्यानाकर्षण गराए । उनले शीर्ष नेताहरु उमेदवार भएको जिल्ला बढी संवेदनशील हुने गरेको उल्लेख गर्दै त्यसमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन ध्यान दिनुपर्ने स्मरण गराए । श्रेष्ठले मतदाता शिक्षाको कामलाई प्रभावकारी बनाउन पनि आयोगले ख्याल राख्ने विश्वास व्यक्त गरे । उनले भने, “सेन्सेटिभ एरियाहरु पत्ता लगाएर सुरक्षाको आवश्यक व्यवस्था मिलाउनु पर्दछ । टप लिडरहरु लडेको ठाउँमा विशेष ध्यान दिनै पर्याे । किनभने उनको हारजित एउटा प्रेष्टिजको सवाल हुन्छ पार्टीमा । त्यसले गर्दा त्यहाँ साम, दाम, दण्डभेद जे पनि अपनाउन सक्ने अवस्था त्यहाँ रहन्छ । त्यसलाई हामीले राम्रोसँग नियाल्नु पर्दछ ।”
पूर्वकार्यवहाक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले मतगणनामा गडबढी हुन नदिन निर्वाचन आयोग गम्भीर बन्नुपर्ने आवश्यक्ता औंल्याएका छन् । उनले सबै निर्वाचनमा मतगणनाको विषय जटिल हुने उल्लेख गर्दै त्यसो हुन नदिन आयोगले बेलैमा योजना बनाउनुपर्ने बताए । निर्वाचनमा पठाइएको मतपत्रको अनुगमनको काममा पनि आयोग सचेत हुनुपर्ने गुरुङको भनाइ छ ।
“अत्यन्तै संवेदनशील र कठिन हुने भनेको नै मतगणना हो । २०३३ सालदेखि अहिले २०७९ सालको स्थानीय तह निर्वाचनसम्म हेर्दाखेरी प्रत्येक पटक निर्वाचन आयोगले गरेका सबै निर्वाचनहरुमा मतगणनामा नै गड्बढी हुँदै आएको छ,” उनले भने, “२०४९ सालमा सीडीओ हुँदाखेरी सोलुखुम्बुमा निर्वाचन अधिकृतको रुपमा काम गर्दा त्यहाँ पनि त्यस्तै भयो । ०५१ को सुर्खेतमा पनि त्यस्तै भयो । ०६४ मा ब्यालेट बक्स बोकेर आएको ट्रक नै बेपत्ता भयो । त्यो अहिलेसम्म पत्ता लागेको छैन । परिणाम आउन थालेपछि बहिष्कारका कुराहरु आए ”
०७० निर्वाचन र २०७९ को निर्वाचनमा पनि मतदान र मतगणनाका बेला जटिलता भएको उनको भनाइ छ । ०७४ मा मतगणनास्थलमा जाली थप गर्नुपर्ने अवस्था आएको उनले बताए । यस विषयमा निर्वाचन आयोगले अत्यन्तै संवेदनशील भएर ध्यान दिनु पर्ने उनी बताउँछन् ।
गुरुङले निर्वाचन आयोगले निर्वाचनको ब्यालेट बक्सको सुरक्षामा पनि चनाखो हुनुपर्ने बताए । विगतमा ब्यालेट बोकेर आएको ट्रक नै बेपत्ता भएको घटनाको चर्चा गर्दै उनले त्यस्तो अवस्था आउन दिन नहुनेमा जोड दिए ।