site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको निर्देशन नमान्ने पक्षमा डडेलधुरा एमाले

डडेलधुरा । यही कात्तिक १८ गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा बीपी कांग्रेसका उमेदवार कर्ण मल्ललाई आफूहरूको समर्थन हुने घोषणा गरे । कञ्चनपुरको महेन्द्रनगरस्थित चुनावी सभामा सम्बोधन गर्दै ओलीले डडेलधुरामा कांग्रेसबाट विद्रोह गरेका मल्ललाई दिएको समर्थन कायमै रहेको बताए ।

“हामी हाम्रो प्रतिबद्धतामा कायम छौँ । मैले सुनेँ– त्यहाँ कसैले वक्तव्य निकाल्यो भनेर । तर, त्यस्तो अधिकार अरूलाई छैन । त्यो अधिकार केन्द्रलाई मात्रै छ,” उनले महेन्द्रनगरको सभामा भनेका थिए ।

उनले मल्ललाई समर्थन गर्न चुनावी सभामार्फत डडेलधुरा एमालेलाई आदेश नै दिए । तर, ओलीको आदेश कार्यान्वयन गर्ने पक्षमा डडेलधुरा एमाले छैन ।

एमाले डडेलधुराको प्रदेश निर्वाचन क्षेत्र–२ समन्वय समितिले प्रतिनिधिसभामा स्वतन्त्र उमेदवारी दिएका एमाले नेता विक्रमबहादुर शाहीलाई समर्थन गर्ने निर्णय नै गरिसकेको छ । प्रदेश निर्वाचन क्षेत्रको समन्वय समितिका अध्यक्ष प्रेमबहादुर बोहोरा तथा सचिव शिवराम ताम्राकारले स्वतन्त्र उमेदवारी दिएका एमाले नेता शाहीलाई समर्थन गर्ने निर्णय गरेको जानकारी विज्ञप्तिमार्फत दिएका थिए ।

यसअघि नै एमाले डडेलधुराले पनि बीपी कांग्रेसले सहमति भाँडेको भन्दै प्रतिनिधिसभामा उसका उमेदवार मल्ललाई समर्थन गर्न नसकिने निर्णय गरेको थियो । “प्रतिनिधिसभामा बीपी कांग्रेसका कर्ण मल्ल र प्रदेशसभा १ मा एमालेका पठानसिंह बोहरा र प्रदेशसभा २ मा एमालेकै उमेदवार गजेन्द्र शाहीलाई समर्थन गर्ने गरी एमाले र बीपी कांग्रेसबीच सहमति भएको थियो,” असोज २८ गते एमाले डडेलधुराका अध्यक्ष प्रकाशबहादुर साउद र सचिव गजेन्द्र शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “तर, बीपी कांग्रेसले प्रदेशसभा २ मा स्वतन्त्र उमेदवारसँग तालमेल गरेपछि सहमति तोड्न बाध्य भएका छौँ ।”

त्यसअघि, बीपी कांग्रेससँग तालमेल गर्नकै लागि एमाले अध्यक्ष ओलीले डडेलधुरामा प्रतिनिधिसभातर्फ उमेदवारी दर्ता गराएका चक्रप्रसाद स्नेहीको उमेदवारी फिर्ता गराएका थिए ।

मल्ललाई नै समर्थन गर्ने ओलीको निर्देशन कार्यान्वयन गर्न आफूहरू बाध्यकारी नभएको यहाँका एमाले नेता–कार्यकर्ताले बताउन थालेका छन् । सचिव शाही एमाले र बीपी कांग्रेसबीच भएको सहमति बीपी कांग्रेसले नै तोडेकाले समस्या आएको बताउँछन् ।

“अध्यक्षज्यूले डडेलधुराका दुवै प्रदेशमा एमाले उमेदवारलाई समर्थन गरेपछि एमालेले मल्ललाई सहयोग गर्ने बताउनुभएको हो,” उनले भने, “तर, मल्ल उमेदवार रहेको बीपी कांग्रेसले प्रदेश २ मा स्वतन्त्र उमेदवार डा. तारा जोशीलाई समर्थन गरेको छ । यस्तो अवस्थामा एमालेले मल्लज्यूलाई समर्थन गर्ने कुरै भएन ।”

अझै पनि प्रदेशसभाका दुवै क्षेत्रमा बीपी कांग्रेसले एमाले उमेदवारलाई समर्थन गरे मल्ललाई सहयोग गर्न सकिने शाहीको भनाइ छ । डडेधुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बीपी कांग्रेसका मल्ल, स्वतन्त्र सागर ढकालसहित आठ उमेदवार प्रतिस्पर्धामा छन् ।

जसपा उमेदवारको समर्थन देउवालाई
जनता समाजवादी पार्टी (जसपा) डडेल्धुराका प्रतिनिधिसभा सदस्य पदका उमेदवार श्याम सिनालले प्रधानमन्त्री देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरी सत्ता गठबन्धनका साझा उमेदवार देउवालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

उनले भन्ने, “आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा जसपा डडेलधुराबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको उमेदवार म श्याम सिनालले आफ्नो उमेदवारीलाई पूर्ण रूपमा निष्क्रिय गर्दै वाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उमेदवार शेरबहादुर देउवालाई समर्थन गर्दछु ।”

उनी र जसपा डडेलधुराका अध्यक्ष लक्ष्मी पनेरु कांग्रेसमा प्रवेश समेत गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro