site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिना दिन नपुग्दै संकटमा सुदूरपश्चिम सरकार, विश्वासको मत नपाए ठूलो दलको नेतृत्त्वमा सरकार बन्ने 

डडेलधुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गर्न आग्रह गरेका छन् । 

मुख्यमन्त्री रावललाई विश्वासको मत पाउन निर्णयक शक्ति हो नागरिक उन्मुक्ति पार्टी ।  उनले भोलिसम्म विश्वासको मत लिइसक्नुपर्नेछ । उनले विश्वासको मत लिनका लागि आज बैठक बोलाएका छन् ।

तर बहुमतको लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले अहिले सरकारलाई विश्वासको मत दिने वातावरण नरहेको भन्दै नदिने तयारी गरेको छ ।

सो पार्टीका संरक्षक रेशम चौधरी डिल्लीबजार कारागारमा छन् । विश्वासको मत दिने–नदिनेबारे निर्णय गर्न मंगलबार बिहान उन्मुक्तिका सात जना प्रदेशसभा सदस्य काठमाडौं पुगेर दिनभर डिल्लीबजार कारागारमा छलफल गरे ।

पार्टीका संरक्षक चौधरीले प्रदेशसभा सदस्यसँग ‘अब एक हातले लिने र अर्को हातले दिने हो’ भन्दै छलफल अगाडि बढाएको सो पार्टीका एक सदस्यले जानकारी दिए ।

दिनभरको छलफलपछि एमाले नेतृत्वको सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने टुंगोमा पुग्यो उन्मुक्ति । 

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय भएको बाह्रखरीलाई जानकारी दिइन् ।

“संसदीय दलको बैठकले विश्वासको मत नदिने निर्णय गरिसकेको छ,” आज निर्णय पुनर्विचार हुने सम्भावना छ ? भन्ने बाह्रखरीको प्रश्नमा उनले भनिन्, “अब यो सरकारलाई विश्वासको मत दिने कुनै कारण छैन । अब निर्णयमा पुनर्विचार हुँदैन ।”

उनका अनुसार सुदूरपश्चिममा मुख्यमन्त्रीलाई नियुक्त गर्दा र केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विश्वासको मत दिँदा एउटा सहमति भएको थियो । 

“प्रदेश सरकारलाई समर्थन गर्दा र केन्द्रमा विश्वासको मत दिँदा टीकापुर घटनाका राजबन्दीको रिहाइ र मुद्दा फिर्तालाई हामीले प्रमुख सर्त बनाएका थियौँ,” उनले भनिन्, “माघ महिनाभित्र छोड्ने सहमति पनि भएको थियो । तर, उक्त सहमति कार्यान्वयन नभएपछि हामीले विश्वासको मत नदिने निर्णय गरेका हौं । यसमा हामी अडिग रहन्छौं ।” 

एमाले संसदीय दलका नेता रावल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी २९ जना प्रदेसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा विश्वासको मतका लागि मुख्यमन्त्री रावललाई कम्तिमा २७ जना प्रदेशसभा सदस्यको साथ आवश्यक छ । 

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र एकजना स्वतन्त्र भने विपक्षमा छन् । 

कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य छन् ।

सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेसँगै मुख्यमन्त्री रावल अल्पमतमा परेर सरकार ढल्ने देखिएको छ । 

त्यसपछि संविधानको धारा १६८ (३) अनुसार मन्त्रिपरिषद् गठन हुने छ ।  जसअनुसार कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्ने सक्ने सम्भावना छ । 

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

तर, नागरिक उन्मुक्ति पार्टीले भने कांग्रेस नेतृत्वको सरकार बने उसलाई पनि समर्थन गर्न नसकिने जनाएको छ । 

“जुन सरकारले हाम्रो माग सम्बोधन गर्छ, उसैलाई हाम्रो साथ र समर्थन हुन्छ,” पार्टी अध्यक्ष श्रेष्ठले भनिन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro