
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारूढ गठबन्धन विजयी हुने दाबी गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका महामन्त्री थापाले सत्तारूढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर सरकार बनाउने बताएका हुन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतको पाँचवर्ष खेर गएको उल्लेख गर्दै आफूहरूले जितेपछि भने त्यो समयलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे ।
महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारूढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्नुपर्ने पनि स्पष्ट पारे ।

जनमतको कदर हुनेगरी काम गर्न सकिएन भने जनताले विरोध गर्ने उनकाे भनाइ छ ।
"गठबन्धन त जित्यो, जित्यो अब । संघमा पनि जित्यो, सात वटै प्रदेशमा पनि जित्यो । । सात वटा प्रदेशमा पनि हाम्रो सरकार बन्ने हो । संघमा पनि हाम्रो सरकार बन्ने हो । हामी मिलेर पाँच वटा पार्टीको जोड्दै गर्दा त देशभरको स्थानीय सरकार त हाम्रो ४५० भन्दा बढL पुग्छ । अनि ४५० वटा भन्दा बढी स्थानीय सरकार हाम्रो हुने, ७ वटा प्रदेशको सरकार हाम्रो हुने । अनि, संघको सरकार हाम्रो हुने । त्यो जनमत हामीले प्राप्त गर्ने," उनले थपे, "अनि, निराश र आक्रोशित भएको जनताको त्यत्रो तागत लिएर आएपछि हामीले काम गर्न सकेनौँ, जनतालाई महसुस गराउन सकेनौँ, संकेत मात्र पनि दिन सकेनौँ भने त्यो बेलामा हाम्रो हालत पनि के हुन्छ भने सिंहदरबारमा हुन्छौँ । सांसदको टाउको गनिरहेका हुन्छौँ । बहुमत पुगिरहेको हुन्छ । तर, बाहिर सडकमा जनता निस्केर हाम्रो विरुद्धमा संघर्ष गरिरहेको हुन्छ । हामी यो कुरामा प्रष्ट हुन आवश्यक छ । यो चुनौती सानो छैन ।"
महामन्त्री थापाले आगामी निर्वाचनपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको पनि दोहोर्याए । त्यसका लागि पार्टी भित्रका साथीहरूले आफूलाई साथ दिनुपर्ने उनकाे भनाइ थियाे ।