काठमाडौं । काठमाडौं महानगरपालिकाले उत्खनन् गरेको टुकुचाको सुरुङ पुरातात्त्विक महत्त्वको सम्पदा रहेको पुष्टि भएको छ । पुरातत्त्व विभागअन्तर्गतको अध्ययन समितिले गरेको अध्ययन प्रतिवेदनमा सुरुङ पुरातात्त्विक महत्वको सम्पदा रहेको पुष्टि भएको हो ।
महानगरले डोजर चलाएर टुकुचा उत्खनन् थालेपछि विभागले सुरुङ अध्ययनका लागि पुरातत्त्वविद् भाष्कर ज्ञवालीको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो । सो अध्ययन समितिले विभागलाई बुझाएको प्रतिवेदनमा सुरुङ राणाकालमै बनेको र पुरातात्त्विक महत्वको सम्पदा रहेको खुलेको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए ।
गुम्बज आकारमा इँटाहरु जोडेर सुरुङ निर्माण गरिएको र सुरुङभित्र भर्याङ आकारका छाँगासमेत निर्माण गरिएको उनले बताए । “सुरुङ राणाकालमै बनेको पाइएको छ । यसलाई अब संरक्षण गर्दै जानुपर्नेछ । पुरातात्त्विक महत्वको सम्पदा हो । समिति बनाएर काम अघि बढाउनुपर्छ,” उनले भने ।
पूरा होला बालेनको योजना ?
महानगरको टुकुचा उत्खनन् अभियानअन्तर्गत विभिन्न ठाउँमा १२ देखि १५ फिट गहिरो खाल्डो खनेको थियो । १०० वर्ष बढी पुरानो हुने बित्तिकै पुरातात्त्विक सम्पदा ठहर हुने महानगरमा पूर्वाधार सल्लाहकार सुनिल लम्सालले जानकारी दिए । उनले पुरातत्त्वको प्रतिवेदनका आधारमा महानगरले योजना बनाएको दाबी गरे ।
“खोला मिच्न नहुने कानुन र पुरातात्त्विक महत्वको सम्पदाको प्राचिन स्मारक ऐन टुकुचामा आकर्षित हुने देखिएको छ । अब हामी थप टुकुचा खोतत्ने वा नखोतल्ने भन्नेबारे छलफलबाट टुंगो लगाउँछौँ । टुकुचामाथि बनेका संरचना हटाएर खोलालाई खाली गर्ने योजना जारी छ,” सल्लाहकार लम्सालले भने, “ढल व्यवस्थापन र टुकुचालाई खुला रुपमा बग्न दिने र खोला अतिक्रमण रोक्ने हाम्रो योजना हो । यसमा पुरातत्त्व विभाग थप सहजीकरण गरिदिएको छ ।”
महानगरले टुकुचा उत्खनन् गरेर चार मिटर कायम गर्ने योजना बनाएको थियो । टुकुचालाई निकास दिन सहरी विकास मन्त्रालयले विगत १० वर्षदेखि प्रयास गरेको पनि लम्सालले बताए । उनले टुकुचाबाट काठमाडौंको ढल व्यवस्थापनमा धेरै हदसम्म सहजीकरण हुने भन्दै महानगर आफ्नो योजनाबाट पछि नहट्ने बताए ।
मन्त्रालयको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनका आधारमा महानगरले टुकुचामाथि ५८१ कित्ता जग्गामा घर तथा भवनहरु निर्माण भएको बताएको थियो । त्यसपछि साउन १२ गते महानगरले ३५ दिने सूचना जारी गर्दै टुकुचामाथि बनेका संरचना हटाउन अल्टिमेटम जारी गरेको थियो ।
उत्खनन्का क्रममा टुकुचा १३० वर्ष पहिले नै व्यवस्थित सुरुङ बनाएर जमिनमुनि बग्ने बनाएको तथ्य पनि बाहिरिएको थियो । त्यस्तै, महानगरले डोजर चलाएको ठाउँमासमेत ‘श्री ३ वीर’ लेखेको इँटा फेला परेको थियो ।
विभागका अनुसार अब महानगरले पुनः उत्खनन् सुरु गर्दा प्राचिन स्मारक ऐन २०१३ आकर्षित हुनेछ । ऐनको दफा १२ (ग)मा कुनै पुरातात्त्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, बिरुप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानिनोक्सानी गरेमा त्यस्तो पुरातात्त्विक वस्तुको बिगोबमोजिमको रकम असुलउपर गरी पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
टुकुचा निर्मल निवास पछाडि हुँदै नारायणहिटी राजदरबार, जय नेपाल हल, न्यू प्लाजा, पुुतलीसडक, कमलादी क्षेत्रस्थित काठमाडौं प्लाजा, प्रदर्शनीमार्ग हुँदै थापाथलीस्थित वाग्मतीमा मिसिन्छ ।
इसअघि, महानगरले टुकुचा आसपासका घर–टहरामा डोजर चलाएपछि घरधनीले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । असोज २ गते सो रिटमा अदालतले तत्काल टुकुचामाथि बनेका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश पनि दिएको थियो ।
टुकुचामाथि पर्ने २१ घरधनी महानगरलाई विपक्षी बनाएर अदालत पुगेका थिए । रिट निवेदकहरुले वैध रुपमा नै जग्गा जमीन खरिद गरी संरचना खडा गरेको हुँदा ती संरचनाहरु नभत्काउन माग गरिएको थियो । उक्त मुद्दामा प्रारम्भिक सुनुवाइपछि अदालतबाट टुकुचामाथि रहेका संरचना तत्काल नहटाउन न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
अघिल्लो बुधबार सुनुवाइ हुने भनिएको रिटमा पेसी स्थगित भएको थियो । गत मंगलबार पुनः सुनुवाइको लागि पेसी तोकिए पनि सार्वजनिक बिदा भएको कारणले सुनुवाइ भएन । अर्को पेसी तोकिएपछि हुने सुनुवाइपछि मात्रै टुकुचामाथि बनेका संरचना नहटाउने अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने टुङ्गो लाग्नेछ ।