काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको छ ।
आयोगले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने भनेर प्रलोभन बाँडेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
आयोगले अध्यक्ष नेपालले दिएको उक्त अभिव्यक्तिको भिडियो पनि प्रहरी कार्याललाई उपलब्ध गराएको छ ।
“...श्री माधवकुमार नेपालबाट निर्वाचन सम्मुखमा युवाहरूलाई विदेश पठाउने भनी सार्वजनिक रूपमा प्रलोभन देखाउने कार्य गरेकोले सम्बन्धमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध छ । साथै, यस विषयसँग सम्बन्धित श्रव्यदृश्य सामग्रीको विद्युत् प्रति (सीडी) समेत यसैसाथ संलग्न गरी पठाइएको छ,” आयोगले प्रहरीलाई पठाएको पत्रमा उल्लेख छ ।
प्रतिनिधिसभातर्फ रौतहट क्षेत्र नम्बर–१ बाट उमेदवार रहेका नेपालले ‘बिना ढेउवा के भिसा मिल हे, टिकट मिल्ते हे, काठमाडौंमे तलिम मिल्ते है’ भनी सार्वजनिक वक्तव्य दिएका थिए ।