किभ । रुसी फौजले सोमबार युक्रेनका विभिन्न सहरमा भीषण बमबारी गरेको छ ।
सर्वसाधारणमाथि लक्षित आक्रमणको दौरान राजधानी किभमा कम्तीमा आठजनाले ज्याान गुमाएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत सप्ताहान्त रुस र रुसले कब्जा गरेको क्राइमिया प्रायद्वीप जोड्ने प्रमुख पुलमा गरिएको आक्रमणलगायत किभका अन्य 'आतंककारी कार्यहरू'को प्रत्युत्तर स्वरूप यो आक्रमण गरिएको बताएका छन् ।
शनिबार पुटिनले युक्रेनी विशेष सुरक्षा सेवाको तजबिजमा सो पुलमा विशाल विस्फोट गराइएको आरोप लगाएका थिए ।
युक्रेनी आन्तरिक मामिला मन्त्रालयका सल्लाहकार रोस्तिस्लाभ स्मिरनोभले प्राप्त प्रारम्भिक सूचना अनुसार २४ जना घाइते भएको बताएका छन् ।
भिडियो कलमार्फत रुसको सुरक्षा परिषद्का सदस्यहरूसंग बोल्ने क्रममा पुटिनले भनेका छन्, "रुसी सेनाले सटिक हातहतियारबाट युक्रेनका प्रमुख उर्जा तथा सैनिक कमान्ड परिसरहरूमा वायु, जल र थल आक्रमण सुरु गरेको छ ।"
तर यो आक्रमण संवेदनशील पूर्वाधारहरू र आवासीय क्षेत्रमा पनि लक्षित भएको छ ।
स्थानीय सर्वसाधारण सडकमा रक्ताम्य अवस्थामा देखिएका छन् । मस्को र किभको युद्ध आठ महिना पुग्न लागेकाे छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले युक्रेनविरुद्ध दर्जनौँ क्षेप्यास्त्र र इरानमा निर्मित ड्रोनहरू प्रयोग गरेको जानकारी दिएका छन् ।
एपीबाट ।