काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता हुँदै छ । भेटको समय निश्चित भइनसकेपनि आजै भेटेर चुनावी तालमेलको सहमति पत्रमा हस्ताक्षर हुने एक नेताले बताए ।
“भेटको समय तय हुँदै छ । हिजोको वार्ता निकै सकारात्मक भएको छ । केही वर्कआउट हुन बाँकी छ । दुई अध्यक्षको भेटपछि सहमति पत्रमा हस्ताक्षर हुने सम्भावना प्रवल छ,” ती नेताले भने ।
एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पनि वार्ता सकारात्मक भएको भन्दै आजै सहमति हुनसक्ने बताए ।
त्यस्तै, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल पनि वार्ता निकै अघि पुगेको बताउँछन् । “अनौपचारिक रूपमा वार्ता निकै अघि बढेको छ । सहमति नजिक छौँ,” उनले भने ।
सत्ता गठबन्धनमा रहेको जसपा एमालेसँग गठबन्धनको तयारीमा छ । सत्ता गठबन्धनमा पनि छलफलमा नै छ ।
यसअघि हिजो साँझ पनि दुई नेताबीच भेटवार्ता भएको थियो ।