काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यावद गठबन्धनको बैठकमा अनुपस्थित भएका छन् । सिट बाँडफाँटका लागि बालुवाटारमा जारी गठबन्धनको बैठकमा जसपाका तर्फबाट प्रवक्ता मनिष सुमन सहभागी भएका छन् ।
अध्यक्ष यादव एमालेसँग तालमेलका लागि वार्ता गर्न केपी ओली निवास बालकोट गएको चर्चा छ । गठबन्धनबाट थोरै मात्र सिट पाइने भएपछि जसपाले अन्य दलसँग पनि सहकार्य गर्न सकिने बताएको छ ।
गठबन्धबाट जसपाले १६ सिटभन्दा बढी नपाउने गठबन्धनकै नेताहरू बताउँछन् । एमालेले जसपालाई २५ सिटको प्रस्ताव गरेको बुझिएको छ ।
जसपाले भने मधेसमा फेरि आफू नेतृत्वकै सरकार गठन गर्नेगरी छलफल अघि बढाएको छ ।
प्रवक्ता सुमनले भने आफूलाई अध्यक्ष यादव बालकोट गएकोबारे जानकारी नभएको बताए ।
"म बालुवाटार बैठकमा छु । बालुवाटारमा जारी छ । अध्यक्षज्यू उपेन्द्र यादव बालुवाटार बैठकमा आउनुभएको छैन । उहाँ बालकोट गए नगएको थाहा भएन," उनले भने ।
उनकाअनुसार गठबन्धनमा सिट बाँडफाँटको अन्तिम टुंगो आज नै लगाउने तयारी छ ।