काठमाडौं । पछिल्लो तीन घण्टामा चितवनको माडी क्षेत्रमा अति भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गोविन्दबस्ती, ठोरी, बनकट्टा आसपास अति भारी वर्षा मापन गरिएको हो ।
त्यस क्षेत्रको रिउखोला र साना खहरे खोलामा एक्कासि बाढी आउन सक्ने विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदीतटीय क्षेत्र र डुबान हुने होचा स्थानमा आज साँझसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
उता, मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको छ । विभागका अनुसार मकवानपुरगढी, हेटौँडा र आसपास थप वर्षा हुने सम्भावना छ ।
उक्त नदी र त्यसका सहायक नदीतटीय क्षेत्रहरूमा आज साँझसम्म उच्च सतर्कताका अपनाउन महाशाखाले आग्रह गरेको छ ।