हक
अनन्त विशाल मानवजगत्मा विभिन्न संघर्ष भई नै रहन्छन् । कुनै एक परिवारमा सुमनको जन्म भएको हो । उसले पालनपोषण राम्रो पायो, साथै शिक्षादीक्षा पनि ।
आज उसलाई यौवनले कुनै न कुनै व्यवहार–सूत्र समात्न इसारा गरिरहेछ । प्रथमतः कर्तव्यले नै उसलाई बाध्य गरिरहेछ । किनकि, ऊ जड पशुजीवनभन्दा निकै ऊँचा मानवजीवनको एक सदस्य हो ।
यसैले यो जटिल प्रश्न छ– उसले केन्द्रित पारिवारिक कोठरीको सदस्य हुने कि विशाल प्रगतिशील सामाजिकजगत्को ?
परिवार र समाजको संघर्ष भयो, उसलाई तान्न ।
मुद्दा दायर भो सत्यको न्यायालयमा । सत्यले परिवारलाई सोधे, ‘सुमनमाथि तेरो के हक छ ?’
‘पालन–पोषण र लाडप्यारको ?’
‘समाजको केको हक छ ?’
‘भाषा, विचार, सभ्यताको ?’
आखिर सत्यबाट फैसला भयो– भाषा, विचार, सभ्यता नै जीवनका ज्यान भएकाले मुख्य हक सुमनमाथि समाजकै हुन्छ । गौण हक परिवारको ।
अनि सुमनले समाजतिर हेरेर भन्यो, ‘फैसलामा निकै तथ्यता देख्छु ।’
०००
खेल
खोरको सिक्री खोलिदिएर बिहारीलाल निस्के पटाङ्गिनीमा । लागे पछिपछि सयौँ कुकुर । कोही लन्डनका पास्र कोही जर्मनीका ! इँ इँ, यूँ यूँ ! क्या मालिकको मन बहाल पार्नेछ, ‘मसिनो स्वर ! ढाडको कर्काई–मर्काई, पुच्छरको वर्काइ–फर्काइ, फेरि इँ इँ, यूँ यूँ’ को दैन्य–कला ।
नजिकमा छ ठूलो पोखरी । मालिकको इशारा आँखामा चम्कन पाएको थिएन, हाम्फाले पानीमा झ्वाम्म ! चुर्लुम्म के डुबिसकेका मात्र थिए आवाज आयो– हन्टर ! ओठको आवाजमा सुइ–सुइ...!
आए कुकुरहरू विभिन्न अभिनयमा, ल्याफ्ल्याफती भिजेर । फेरि मालिकले तिनमा एउटालाई निर्देशन गरेर भने, ‘पक्रीपक्री !’
चल्यो मालिकको इशाराले आफू आफूमा धरपकड । घाँटी समाता–समात, एक टुक्रा रोटीका लोभमा । चल्यो पक्रिनेहरूमा कङ्ल्याङ्–कुङ्लुङ्, कतिको त प्राणकै सौगात भयो मालिकको दैवी आज्ञामा, दैवी लीलामा । फेरि एकैछिनमा भाग्यनिर्माताको खुसी बदलियो । भने, ‘आ, आ ला, छोडिदे ।’
बस्, फेरि सामेल मालिकको पाउमा । फेरि उही दैन्यको अभिनय–नृत्य ।
कर्काइ–मर्काइ, वर्काइ–फर्काइ जीउको, साथै पुच्छरको ।
मालिकले स्यावासी दिँदै भने, ‘इमान्दार छ, दाजु भन्दैन, बाबु भन्दैन ! लौ फेरि बस् ! उठ्, ! हो...! लौ फेरि पक्री...छोड्....।’
हो...! एउटाको के अलिकति बेचाल मात्र भएको थियो, पर्यो मालिकको हात सोझै गर्धनमा, छातीमा बुटको ड्रयाम्म, करायो ऊ– क्वाइँक्वाइँ ! प्रभो ! बिराएँ ।
फेरि माफीमा के छुटेको थियो, जुत्ता सुँघ्दै, आङ कक्र्याउँदै पुच्छर हल्लाउँदै देखायो उसले कति कुशलतासँग सेवाको अभिनय ।
अनि, एक अग्लो ठाउँमा बसेर मालिकले भाँचे रोटी कैयौँ टुक्रा पारेर । त्यो छरियो पटाङ्निीमा । हारालुछ भयो त्यो पाउँदा कुकुरहरूको स्वर्गराज्य भेटेझैँ ।
त्यति पाएर भोक जिस्क्याएपछि मालिकको एक इशारामा ती सब बसे नाच्दै पुच्छर हल्लाउँदै आफ्नो खोरमा ।
ती पसेपछि बिहारीलालले आफ्नो मनसँग भने, ‘त जे भन्, मेरो दिन अझै बाँकी छ !’
(ब्राह्मणको लघुकथासँग्रह ‘झिल्का’बाट)