काठमाडौं । सामाखुसी फुटसल र संखमुल फुटसल राजधानीमा जारी रेड्बुल एन्फा राष्ट्रिय फुटसल लिगको पहिलो सेमिफाइनलमा भिड्ने भएका छन् ।
चौर क्रिएसनल फुटसल सेन्टरमा बिहिबार भएको क्वाटरफाइनलमा सामाखुसीले स्वम्भु रिक्रिएसनललाई १२ – ४ गोल अन्तर र संखमुलले धन्यन्तरी फुटसललाई १० – ० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा भेट पक्का गरेका हुन् ।
यस्तै लिगको दोस्रो सेमिफाइनलमा फुटसल एरिना र किक अफ फुटसलबीच हुने भएको छ । बिहिबार भएको क्वाटरफाइनलमा फुटसल एरिनाले डिभाइन बिजी फुटसललाई ६ – ४ तथा किक अफले चौर क्रिएसनल फुटसल सेन्टरलाई ८ – २ ले पराजित गरेका हुन् ।
एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनौटको रुपमा रहेको लिगको दुवै सेमिफाइनल खेल शुक्रबार हुने छ । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख पचास हजार रुपैयाँ पाउनेछ । यस प्रतियोगिताका आधारमा एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनौट गरिने छ । एएफसी फुटसल छनौट प्रतियोगिता आगामी अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुनेछ ।