काठमाडौं । नेकपा (एमाले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उमेदवारका बारेमा छलफल सुरु गरेको छ ।
आज अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा को–को उमेदवार बनाउन सकिन्छ भनेर छलफल प्रारम्भ भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
६ घण्टाभन्दा लामो समय बसेको बैठकमा प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रमा सम्भावित उमेदवारबारे छलफल भएको हो ।
उमेदवारबारे केन्द्रीय हेडक्वाटर र अध्यक्षले परामर्श गरेर निर्णय लिने उनले बताए ।
समानुपातिक सूचीमा थपघट गर्नुपर्ने भए निर्णय गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई अघिल्लै बैठकले दिइसकेको गुरुङको भनाइ छ ।
त्यस्तै, एमालेमा १० बुँदे सहमति गरेर बसेकाहरू, पूर्वमाओवादीबारे गरिएका टिप्पणी मनगढन्ते भन्दै उनले लोकप्रिय व्यक्तिलाई उमेदवार छान्ने बताए ।
“१० बुँदेबारे के गर्ने, माओवादीबाट एमालेमा बसेकाहरूको बारेमा के गर्ने ? हालसालै आएकाहरूमा के गर्ने भन्नेमा एजेण्डा थिएन । हाम्रो पहिलो मापदण्ड भनेको जो लोकप्रिय छ, जसले विजयलाई सुनिश्चित गर्न सक्छ । त्यसैलाई हाम्रो प्राथमिकता छ ।”