काठमाडौं । नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेला अगाडि दक्षता अन्तर विश्लेषण ‘स्कील ग्याप एनालाइसिस’ आयोजना गरेको छ ।
परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको यस कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेशस्तर र मध्यस्तरका आवेदकहरुका लागि आधारभूत सीप, प्रवेश र मध्यमस्तरका नयाँ जनशक्ति लिने प्रक्रिया र नयाँ जनशक्ति लिँदाका चुनौतीलगायत विषयमा केन्द्रित रहेको थियो ।
यसैगरी दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक संस्थाहरुलाई सुझाव, रोजगारीका लागि नयाँ पुस्तामा हुनुपर्ने गुण एवं दक्षतालगायतका विषयमा पनि लक्षित समूहमा गहन छलफल तथा सुझाव संकलन गरिएको छ ।
स्किल ग्याप एनालाइसिस कार्यक्रममा सूचना प्रविधी, कृषि, आतिथ्य लगायत क्षेत्रका ३० भन्दा बढी कम्पनी सहभागी थिए । रोजगार तथा सीप मेलाले विभिन्न कम्पनी तथा कामको खोजीमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्ने सिएनआइको विश्वास छ ।