काठमाडौं । दसैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन् । काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दसैँको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् ।
नेपालीहरुको महान चाड बडा दसैँको समयमा गत वर्षमा ग्राहकहरुको ठेलम्ठेल हुने असन र न्युरोड बजार अहिले शून्यप्रायः छन् । केही चहलपहल त छ, तर सोचेअनुसार को चहलपहल भने हुन नसकेको व्यापारीहरुको गुनासो छ ।
गत वर्षहरुमा न्युरोड क्षेत्रमा हिँड्नेसमेत ठाउँ नहुने गरेर मानिसहरु किनमेलका लागि आउने गरे पनि यसवर्ष भने कम मात्रै आइरहेका उनीहरुले बताए । कोरोना महामारी पछि व्यापार व्यवासायहरु राम्रोसँग फस्टाउन सकेको छैन । साथै नेपालीहरुले पनि आफ्नो महान चाड कोरोनाकै कारण राम्रोसँग मनाउन सकेका छैनन् ।
यस वर्ष कोरोना महामारीको असर कम रहे पनि डेंगुका संक्रमणका कारण पुनः दैनिक जनजीवन अस्तव्यस्त बनेको छ । चाडबाड नजिकिँदै गरिरहेको अवस्थामा देशभर डेंगीका बिरामीहरु दिनप्रतिदित बढिरहेका छन् । जसका कारण पनि आम मानिसहरु बजारमा त्यत्ति देखिँदैनन् ।
साथै, चाडबाडमा नयाँ लुगा, नयाँ परिकार खानका लागि पनि अनलाइनबाट नै होम डेलिभरी हुनाले भौतिक रुपमा नै उपस्थित भएर सामान किनबेच गर्नेको संख्या कम हुँदै गएको सहजै आकलन गर्न सकिन्छ । कोरोनाका कारण आम मानिसको आर्थिक अवस्था पनि कमजोर भएकाले बजारमा ग्राहकहरुको चहलपहल कम भएको हुनसक्ने बताउँछन् न्युरोडस्थित कपडा पसलका व्यापारी दिनेश साही । उनले विगतका वर्षहरुको तुलनामा यस वर्ष कमैमात्र व्यापार भएको बताए ।
त्यस्तै, न्युरोडमा नै जुत्ता, चप्पल व्यापार गर्दै आएका उद्धव ढुंगेलको पनि भनाइ फरक छैन । सोचेअनुसारको व्यापार नहुँदा पसल भाडा तिर्न पनि हम्मेहम्मे परेको उनले बताए । उनले विगतका वर्षहरुमा हिँड्ने बाटो नहुने न्युरोडमा यस पटक भने खुला भइरहेको अनुभव गरेको बताउनु भयो ।
कोरोना भाइरस र बढ्दो डेंगीका कारण नागरिकहरु घरभित्रै भएकाले पनि दसैँको सामान किन्न खासै बजार निस्किएका छैनन् । ग्राहकलाई आकर्षण गर्न व्यापारीले विभिन्न सामानमा छुटको व्यवस्था गरे पनि त्यसमा ग्राहकको आकर्षण कम देखिएको छ ।