काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादन क्षेत्रलाई विशेष प्रोत्साहन गर्ने बताएका छन् । ‘नाडा ईभी ओटो सो’को उद्घाटन समारोहमा बोल्दै मन्त्री शर्माले अब प्रपोजल लेख्नेले अनुदान नपाउने बताएका हुन् ।
“अनुदान र प्रोत्साहन भनेको उत्पादनमा लाग्नेलाई दिने हो । राम्रो प्रपोजल लेखेर ल्याउनेलाई हैन,” मन्त्री शर्माले भने, “सरकारको नीति नै आयात प्रतिस्थापन गर्ने र उत्पादन वृद्धि गर्ने हो । विगतका दिनमा जे भयो त्यो छोडौँ, अब हामीले प्रोत्साहन र अनुदान दिने भनेको उत्पादन गर्नेलाई नै हो ।”
आयातलाई प्रतिस्थापन गर्ने राज्यको नीति भएकाले उद्योगी व्यवसायीहरूले पनि सोहीअनुसार काम गर्नु पर्ने मन्त्री शर्माको भनाइ छ ।
उत्पादनमा जोड दिने उद्योगी र व्यवसायीलाई सरकारले सहयोग गर्ने भन्दै मन्त्री शर्माले ढुक्क भएर काम गर्न पनि आग्रह गरे ।