युक्रेन (किभ) । एउटा रुसी क्षेप्यास्त्र दक्षिणी युक्रेनको एउटा आणविक उर्जा केन्द्र नजिकै खसेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
सो क्षेप्यास्त्र अन्य औद्योगिक उपकरणमा खसेको र नजिकै रहेका तीनवटा आणविक रियाक्टरलाई यसबाट कुनै क्षति नपुगेको बताइएको छ । युक्रेनी अधिकारीहरूले सोमबार यस घटनालाई 'आणविक आतंकवाद'को संज्ञा दिँदै भर्त्सना गरेका छन् ।
आफ्ना फौजले युद्धभुमिमा लज्जास्पद पराजय बेहोर्नु परेको कारण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी प्रमुख पूर्वाधारहरूमाथि आक्रमण हुनसक्ने चेतावनी दिएपछि यो क्षेप्यास्त्र हमला भएको हो ।
युक्रेनी आणविक सञ्चालन निकाय इनर्गोएटमका अनुसार साउथ युक्रेन न्युक्लियर पावर प्लान्टको नामले समेत चिनिने प्रिभ्देन्नोउक्रेन्स्क न्युक्लियर प्लान्टदेखि केवल ३ सय मिटर पर सो क्षेप्यास्त्र खसेको हो ।
युक्रेनको रक्षा मन्त्रालयले सार्वजनिक गरेको श्यामश्वेत सीसीटीभी फुटेजमा अँध्यारोमा एकपछि अर्को दुईवटा आगोको डल्ला विस्फोट भएपछि अत्यन्तै उज्यालो झिल्का फैलिएको देखिन्छ ।
रुसी रक्षा मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिएकाे छैन । साथै यस विषयमा केही बोल्न गरिएको अनुरोधलाई संयुक्त राष्ट्रसंघको आणविक पहरेदार अर्थात् अन्तर्राष्ट्रिय आणविक उर्जा निकायले पनि तत्कालै कुनै टिप्पणी गरेको छैन ।
स्राेत : एपी ।