लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायत पुगेका छन् । सो समारोहमा अन्त्येष्टि सहभागिताका लागि बेलायत सरकारले नेपाल सरकारलाई आमन्त्रण गरेको थियो ।
मन्त्री खड्का शनिबार राति हिथ्रो विमानस्थलमा आइपुग्दा बेलायतको विदेशमन्त्रालयको टोलीले उनलाई स्वागत गरेको थियो । मन्त्री खड्काको स्वागतका लागि लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि पुगेको दूतावासले जनाएको छ ।
दूतावासकाअनुसार मन्त्री खड्का बकिङ्घम दरबारमा बेलायतका राजाले आयोजना गर्ने स्वागत समारोह तथा बेलायती विदेशमन्त्रीले आयोजना गर्ने स्वागत समारोहमासमेत सहभागी हुने र महारानीको राजकीय अन्त्येष्टि समारोहमा सहभागी हुनुका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री खड्का यही असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए । रासस