धनगढी । अविरल वर्षापछि आएको बाढीका कारण कैलाली र बर्दिया जोड्ने सत्ति पुल जोखिममा परेको छ । कर्णाली नदीमा आएको बाढीले हुलाकी सडकखण्डअन्तर्गतको सत्ति पुल जोखिममा परेको छ ।
उक्त पुलले बर्दियाको राजापुर नगरपालिका र कैलालीको टीकापुर नगरपालिकालाई जोडेको छ । पुलनजिक बनाइएको कर्णाली नदीको तटबन्ध पनि भत्कने अवस्थामा पुगेको जनाइएको छ ।
सत्ति पुल भत्कने अवस्थामा पुगेकोले तत्काल तटबन्धका लागि राजापुर नगरपालिकाले यसअघि नै सडक डिभिजन र हुलाकी सडक आयोजनालाई अनुरोध गरेको थियो ।
“जोखिम पुललाई कुनै निकायबाट पहल नभएपछि आफैँ जुटेका छौँ,” राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले भने, “बाढी गाउँमा पस्न नदिन, पुललाई थप क्षति हुन नदिन स्थानीय निकाय नै जुटेको छ ।”
अहिले सयौँ स्थानीय अस्थायी तटबन्ध निर्माणमा जुटेका उनले जानकारी दिए ।
उक्त पुलनजिकैको बाँध फुट्न गएमा राजापुर नगरपालिकाका वडा नम्बर–४, ७ र ८ का हजारौँ घरधुरी प्रभावित हुने देखिन्छ । अहिले सति पुलनजिक स्थानीयवासीले आफैँ अस्थायी बाँध निर्माणका लागि श्रमदान गरिरहेका राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले बताए ।