काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको प्रतिवेदनमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का तर्फबाट फरक मत राखिएको छ । एमालेबाट प्रतिनिधित्व गर्ने सांसदहरूले फरक मत राखेका हुन् ।
आफूहरूले आठबुँदे फरक मत राखेको एमाले उपाध्यक्ष समेत रहेका समिति सदस्य विष्णु पौडेलले जानकारी दिए ।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदहरूले पनि प्रतिवेदनमा फरक राखेका छन् ।
समितिले शनिबार बेलुका प्रतिवेदन तयार गरेको छ । प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइनेछ ।
११ सदस्यीय समितिमा सत्ता गठबन्धनका तर्फबाट ६, एमालेका चार र लोसपाका एक सांसद सदस्य छन् ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएपछि उनको पद निलम्बनमा पर्यो । महाअभियोगसम्बन्धी आरोपका विषयमा छानबिन गर्न प्रक्रियाबमोजिम प्रतिनिधिसभाबाट समिति गठन गरिएको थियो । सोही समितिले जबरा, उनले आफ्नो बयानका क्रममा नाम उल्लेख गरेकालगायत व्यक्तिसित सोधपुछपछि प्रतिवेदन तयार पारिएको हो ।