काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले कानुनको कार्यान्वयन गरे/नगरेको निगरानी गर्ने दायित्व सांसदहरूको भएको बताएका छन् ।
शनिबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले प्रकाशन गरेको ‘प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको पाँच वर्ष’ विषयक पुस्तकको विमोचन गर्दै सभामुख सापकोटाले सांसदहरूको जिम्मेवारी गुणस्तरीय कानुन निर्माण गर्नु भएको बताए ।
उनले सांसदहरूले निर्माण गरेका कानुनको सर्वोच्च अदालतले ठिकसँग कार्यान्वयन गरे/नगरेको सम्बन्धमा निगरानी गर्ने दायित्व पनि सांसदहरूकै भएको बताए ।
उनले समृद्ध नेपाल बनाउन विकास निर्माणको कामको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । सभामुख सापकोटाले नीति निर्माण सँगसँगै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
सभामुख सापकोटाले सार्वजनिक खरिद ऐनमा छिद्र खोजेर कन्ट्रयाक्टरहरूले राम्रोसँग विकास निर्माणको काम नगरेको अवस्थामा काम गराउनका लागि विकास तथा प्रविधि समितिले भूमिका खेलेको पनि बताए ।